पाल्पामा पीसीआर मेसिन आयो, समूदायमा पनि कोरोना फैलिदै



कविराज नेपाल, पाल्पा ।

स्वास्थ्य मन्त्रालयले पाल्पामा कोरोना परिक्षणका लागि पीसीआर मेसिन दिने निर्णय भएको लामो समयपछि पाल्पामा कोरोना परीक्षण गर्नको लागि पीसिआर मेसिन आएको छ। पाल्पामा कोरोना परीक्षण गर्नको लागि पिसिआर मेसिन स्थापना र ल्याव व्यवस्थापनका लागि सरकारले एक करोड निकासा गरेको थियो सोही अनुसार शुक्रवार जिल्लामा मेशीन आइपुगेको हो ।

पहिले जग्गा राख्ने ठाउको अभाव भएकोमा पछिल्लो समयमा स्थानको टुङ्गो लागेपछि . जिल्ला समन्वय समितिको भवनमा निर्माण गरिएको ल्यावमा अत्याधुनिक मेसिन राख्ने गरी तयारी भएको छ ।

पाल्पा अस्पतालको मातहतमा रहने गरी यो मेशीन रहने छ । जसका लागि जिल्ला समन्वय समितिको सभाहल काजीपौवामा पिसिआर प्रयोगशालाका संरचना निर्माण गरि संचालन गरिने भएको हो ।

मेसिन आइपछि अव केही दिन भित्रै परिक्षण सुरु गरिने पाल्पा जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नेत्र प्रसाद पाण्डेले जानकारी दिनुभयो ।

मेसिन राखेपछि पाल्पा लगायतका क्षेत्रका संकास्पद व्यक्तिको कोरोना परीक्षणका लागि सहज हुने वताइएको छ ।

पाल्पामा पछिल्लो समयमा पाल्पामा समूदाय स्तरमा पनि कोरोना र्फैलिएको र प्रदेश प्रयोगशाला लगायतका स्थानमा परिक्षण गर्नुपर्ने वाध्यता रहेकोमा मेसिन स्थापना गरि परिक्षण हुने भएपछि पाल्पालीले समयमै परीक्षण गरेर नतिजा प्राप्त गर्न सक्ने प्रदेश सांसद नारायण आचार्यले बताउनु भएको छ । .

पाल्पा अस्पतालका अध्यक्ष नेत्र पाण्डेका अनुसार प्रयोगशालामा ८ वटा कक्षसहित ६ वटा स्वास्थ्यकर्मीका लागि आवास तयार भइसकेको छ ।


११ जना थपिए, गाउँपालिका वन्द
यसैवीच पाल्पामा शुक्रबार ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बगनासकाली गाउँपालिकाका वडा नम्बर ५ र ६ का चार-चार जना र बगनासकाली ८ का एक जना रहेका छन । जसमा दुई महिला र ७ पुरुष रहेका छन । त्यस्तै पाल्पा अस्पतालका एक र लुम्बिनी मेडिकल कलेजमा स्वाब दिएका एक जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताउनु भएको छ ।

गाउँपालिका भित्र समुदायस्तरमा कोरोना फैलिएपछि वगनासकाली गाउँपालिका क्षेत्र भित्रका अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द गरिएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सून्दरप्रसाद श्रेष्ठले एक सूचना प्रकाशित गरी आगामी असौज ५ गते सम्मका लागि विभिन्न सेवाहरु वन्द गरिएको जनाउनु भएको छ ।

यस अघि कोरोना समुदाय स्तरमा फैलिएपछि जिल्लाको तिनाउँ गाउँपालिकाको कार्यालय एक हप्तासम्म र बगनाँकाली गाउँपालिकाको वडा नम्बर ७ र ८ को केही भाग अनिश्चित कालका लागि बन्द गरिएको थियो भने माथागढीको केही भाग र तानसेन नगरपालिका कार्यालय पनि वन्द छ ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार सुक्रवार थपिएका सहित कोरोना संक्रमितको कुल संख्या ६ सय ५१ पुगेको छ । संक्रमितमध्ये ५ सय ७० जना निको भएर घर फर्केको र छन् भने २ जनाको कोरोनाका कारण मृत्यु भएको कार्यालयका सूचना अधिकारी पन्थीले जानकारी दिनुभयो ।

७९ जना सक्रिय संक्रमित ः
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार पाल्पा जिल्लामा सुक्रवार सम्म ७९ जना सक्रिय संक्रमित रहेका छन ।
कार्यालयका अनुसार सक्रिय संक्रमितहरुमा माथागढीका ८ जना, रामपुरका ० जना, पूर्वखोलाका २ जना, रैनादेवी छहराका ३ जना, रम्भाका १२ जना, बगनासकालीका १० जना, तिनाउका १५ जना, रिब्दीकोटका २ जना, निस्दीका ० जना, तानसेनका २२ जना, अन्य अस्पतालका समेत गरी ५ जना छन ।

उनीहरु होम आइसोलेशन र स्थानीय आइसोलेशन सेन्टरमा उपचार गरिरहेको स्वास्थ्य कार्यालय पाल्पाका कोरोना फोकल पर्सन श्रीकृष्ण भट्टराइले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्