मध्यपूर्व: युएईपछि बाहरेनले पनि इजरेलसँग सम्बन्ध सामान्यीकरण गर्ने



काठमाडाैँ ।

करिब एक महिना अगाडि युएईले इजरेलसँग सम्बन्ध सामान्यीकरण गर्ने घोषणा गरेपछि अब बाहरेनले पनि त्यसै गर्ने जनाएको छ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उक्त घोषणालाई ‘अर्को ऐतिहासिक घटना’ भनेका छन्।

इजरेलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यसलाई ‘शान्तिको नयाँ युग’ भनेका छन्।

घोषणा लगत्तै प्यालेस्टाइनले त्यसलाई ‘जेरुसलेम तथा प्यालेस्टाइनका विरुद्ध धोका’ भन्दै बाहरेनस्थित आफ्नो राजदूतलाई छलफलका निम्ति फिर्ता डाकेको छ।

इजिप्टले घोषणाको स्वागत गरेको छ भने टर्कीले कडा निन्दा गरेको छ।

साउदी अरेबियाले कुनै प्रतिक्रिया दिइसकेको छैन।

प्यालेस्टाइनी समूह हमासले इजरेल-बाहरेन सम्झौतालाई खराब भनेको छ भने इस्लामिक जिहादले लज्जाजनक भनेको छ।

अधिकांश अरब मुलुकहरूले पहिले प्यालेस्टाइनी मुद्दा सल्टिनुपर्छ भन्दै इजरेलसँग सम्बन्ध गाँसेका छैनन्।

ट्रम्प दङ्ग

“३० दिनभित्र इजरेलसँग शान्ति कायम गर्दे दोस्रो अरब देश,” भन्दै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पछिल्लो घोषणा सार्वजनिक गरेका थिए।

ज्यानुअरीमा इजरेल-प्यालेस्टाइन द्वन्द्व समाधानका निम्ति मध्यपूर्व शान्ति योजना पेश गरेका ट्रम्पले युएई तथा बाहरेनसँगका शान्ति प्रयासको मध्यस्थता गरेका थिए।

इजरेलको सन् १९४८ मा स्थापना भएयता उसलाई मान्यता दिने बाहरेन चौथो अरब देश हो।

यसअघि इजिप्ट र जोर्डनले इजरेललाई मान्यता दिइसकेका थिए भने युएईले एक महिना अघि मात्र सम्बन्ध सामान्यीकरण गरेको थियो।

बीबीसी सम्वाददाता बारबारा प्लेट असर भन्छिन्, “यो घोषणा राष्ट्रपति ट्रम्प तथा उनको छोरीज्वाईँ ज्यारेड कुस्नरका निम्ति ठूलो कूटनीतिक उपलब्धि हो।”

हालैको मध्यपूर्व भ्रमणपश्चात् पत्रकारहरूसँग बोल्दै कुस्नरले ट्रम्प प्रशासनले उक्त क्षेत्रमा सकारात्मक ऊर्जा प्रवाह गरेको बताएका थिए।

-बीबीसी

प्रतिक्रिया दिनुहोस्