सरकारले मूल्य चक्रमा आफैं अभ्यास गरेर बजारमा आफूलाई बलियो बनाउनुपर्छ: अर्याल



न्युज अफ नेपाल, काठमाडौं ।

बजार सरकारको नियन्त्रण भएन भने आर्थिक क्षेत्रमा ठूलो अव्यवस्था सृजना हुने बताउँदै काठमाडौँ महानगरका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालले सरकारका प्रतिनिधिले जनतासँग प्रत्यक्ष सम्बन्ध राख्ने काम गर्नुपर्ने बताउनुभएको छ ।

काठमाडौं महानगरको सहयोगमा आज सञ्चार केन्द्र नेपालले राष्ट्रिय सभा गृहमा आयोजना गरेको राजधानीको बजार अनुगमन र सुरक्षा व्यवस्था बिषयक कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो-‘ कुन निकायले के काम गर्छ भन्ने कुरा जनतासँग सरोकार राख्ने बिषय होइन । कानुनी उल्झन कहाँ छन्? कसरी फुकाउनु पर्छ? यो नागरिकका बिषय होइनन् । उनीहरुको बिषय भनेको त, सुशासन र सुव्यवस्था हो ।’

‘खाद्यान्नका उत्पादक (किसान) ले उचित मूल्य नपाउँदा उनीहरु वैकल्पिक पेशामा लागे । उनीहरुले उचित मूल्य नपाउनु पछाडि बजार अनुगमन फितलो भएर हो । अर्यालको तर्क छ, बजार सबैको पहुँचमा राख्न, निर्यात घटाउँदै जान पनि बजारमा सरकारको बलियो उपस्थिति चाहिन्छ ।

अनुगमन गर्ने जिम्मेवारी गृह प्रशासन, वाणिज्य तथा आपूर्ति बिभाग, स्थानीय तह गरी बिभिन्न निकायमा भएकोले प्रभाव आउन नसकेको बताउँदै महानगरका सहसचिव राजेश्वर ज्ञवालीले भन्नुभयो -‘ स्थानीय तहको नेतृत्वमा स्रोधसाधन र जनशक्ति परिचालन गर्न सकिने कानुनी व्यवस्था अहिलेको आवश्यकता हो । ‘

बजार अनुगमनका बिषयमा उपत्यकाका ३ वटै प्रमुख जिल्ला अधिकारीको धारणा एउटै छ । कार्यक्रममा बोल्दै काठमाडौं, ललितपर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरु जनकराज दाहाल, नारायण भट्ट र हुमकला पाण्डे भन्नुहुन्छ-‘ बजार अनुगमनको प्रणाली एकीकृत हुनुपर्छ । अहिले अनुगमनको मुख्य जिम्मा स्थानीय तहमा छ । जिल्ला प्रशासन कार्यालयले स्थानीय तहको अनुगमनमा उपस्थिति जनाउने हो । स्थानीय तहले उपभोक्ता हित संरक्षण र बजार अनुगमनका लागि कानुन बनाउनु पर्छ । सरोकारवाला सबैलाई समेटेर यसबाट एकीकृत बजार अनुगमन गर्न सकिन्छ । ‘

सूचना प्रबिधिको बिकाससँगै अब बजारमा अनेक प्रकारका अव्यवस्थाको नियमिन गर्नु पर्ने भएको छ । सामाजिक सञ्जालमा उत्पादनको फोटा राखेर गरिने व्यापार यसको नौलो उदाहरण हो । कार्यक्रममा वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण बिभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले भन्नुभयो-‘ अहिले बिभाग नजिकिँदो दशैलाई लक्षित गरी चिनी र भेडाच्याङ्ग्रा अनुगमन गर्ने तयारीमा छ । संघीयताको मर्मअनुसार बिधि बनाएर अनुगमन प्रणालीलाई स्थानीय तहमा लैजाने र प्रभावकारी बनाउने योजना छ । ‘

महामारीले बजारमा नयाँ खालका समस्या सृजना गरेको छ । स्यानिटाइजर, मास्कजस्ता स्वास्थ्य सामाग्रीका कारण बजार बिकृत बन्दै गएको छ । यसमा अनुगमन जरुरी छ । यही बेला पत्रकार र स्वास्थ्यकर्मीको नक्कली परिचय पत्र बनाउने, सवारी साधनहरुमा जथाभावी प्रेस लेख्नेजस्ता आचरण नियन्त्रण हुनुपर्नेमा अधिकारीहरुको जोड थियो ।

मिलमा चामलको मुल्य र खेतमा तरकारीको मुल्यका आधारमा बजारको भाउ निर्धारण हुनुपर्छ । कार्यक्रमका वक्ताहरुको जोड थियो ।
कार्यक्रममा उपत्यका अपराध अनुसन्धान महाशाखाका प्रमुख वरिष्ट प्रहरी उपरीक्षक दिपक थापाले, महामारी नियन्त्रण र रोकथामका लागि जारी गरिएको लकडाउनका अवधिमा ३६ वटा त्यसपछिको सामान्य अवस्थामा १५ वटा र निषेधाज्ञाका अवधिमा १९ वटा ठूला अपराध भएको जानकारी गराउँदै आपसी सम्बन्ध र सूचनाले यस्ता घटनामा कमी ल्याउन सकिने बताउनुभयो ।

अनुगमनलाई प्रभावकारी बनाउन कहिलेकाहीँ सांकेतिक र कहिलेकाही कानुनीकारवाही पनि गर्नुपर्छ, त्यस क्रममा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीम ढकालको धारणा थियो ।

प्रतिक्रिया दिनुहोस्