नेकपामा बल्ल मिल्यो ओली र प्रचण्डको मन



न्युज अफ नेपाल, काठमाडौं ।
सत्तारुढ दल नेपाल नेपाल कम्युनिस्ट पार्टीको स्थायी समिति बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले अध्यक्ष केपी ओली सरकारको काममा केन्द्रीत हुने र प्रचण्ड कार्यकारी अध्यक्षको भूमिका सहित पार्टीको नेतृत्वमा रहने निर्णय गर्दै सम्पन्न भएको हो ।

बैठकले सरकारको काम कारबाहीमा पार्टीले हस्तक्षेप नगर्ने तर महत्वपूर्ण मुद्धा र विषयमा भने पार्टीसँग समन्वय गरेर मात्रै निर्णयमा पुग्ने निर्णय गरेको छ । बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यक्षको कार्यविभाजन टुंगो लगाइएको भन्दै प्रधानमन्त्री समेत रहेका ओली सरकारका काम कारबाहीमा केन्द्रीत रहने निर्णय भएको बताउनुभयो । उहाँका अनुसार सरकारका कामकारबाहीमा पार्टीले कुनै हस्तक्षेप गर्ने छैन । तर महत्त्वपूर्ण सवालमा पार्टीका मार्गनिर्देशनलाई केन्द्रमा राखेर सरकारले निर्णय गर्नुपर्ने हुन्छ ।

आजको बैठकमा स्थायी समिति सदस्यहरु रघु पन्त, लिलामणि पोख्रेल, भीम आचार्य, माधव नेपाल, अष्ठलक्ष्मी शाक्य, युवराज ज्ञवाली, देव गुरुङ, घनश्याम भुसाल, मातृका मात्रिका यादव, भीम रावल अमृत बोहरा, झलनाथ खनाल र नारायणकाजीले आफ्नो धारणा राख्नुभएको थियो । पारित प्रस्तावमा राष्ट्रियताको विषयमा एकढिक्का भएर अघि बढ्ने, पार्टीलाई गतिशील बनाउने, विधि र पद्धतिअनुसार अघि बढ्ने, पार्टीका निर्णयलाई कार्यान्वयनमा लैजाने जस्ता विषय रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्