प्रधानमन्त्रीको अभिव्यक्ति छिटो पूरा होस्ः एसिडपीडित



न्युज अफ नेपाल, हेटौंडा ।

प्रधानमन्त्री केपी शर्माओलीले बिहीबार बालुवाटारमा १२ जना एसिडपीडितसँग भेट गर्नुभयो । भेटमा उहाँले एसिड आक्रमणबाट पीडित सम्पूर्णको उपचार, शिक्षा र जीविकाको प्रवन्ध सरकारले गर्ने घोषणा गर्नुभयो ।

एसिड आक्रमणबाट पीडितहरुसँग सरकारका विभिन्न सरोकारवाला मन्त्रालयका मन्त्री र प्रतिनिधिसमेतको उपस्थितिमा गरिएको परामर्शका क्रममा उहाँले सम्बन्धित निकायलाई त्यसको व्यबस्थापनका लागि निर्देशन पनि दिनुभयो ।

उहाँको यस्तो निर्देशनले करिब ७ वर्षअघिकी हेटौंडाकी एक पीडित युवतीले आफूहरुलाई केही राहत मिल्ने अपेक्षा गरेकी छन् । हेटौंडाकी एसिडपीडित बिन्दवासिनी कंसाकारका अनुसार हालसम्म कुनै सरकारी निकायले उहाँलाई सहयोग गरेका छैनन् । हाल प्रधानमन्त्रीको घोषणाले आफूलाई केही सहयोग पुग्ने आश पलाएको भन्दै कंसाकारले खुशी व्यक्त गर्नुभयो ।

उहाँका अनुसार उपचारका लागि सात वर्ष अवधिमा करिब ८० लाख खर्च भएको छ । उहाँ भारतको केरला पुगेर त्यहाँको अस्पतालमा नियमित उपचार गराउँदै आउनुभएको छ । ‘अस्पतालले ९९ प्रतिशत ठीक गराउँछु भनेको छ,’ कंसाकारले थपिन्–सरकारले दिने भनेको खर्च छिटो उपलब्ध गराए हामी पीडितलाई धेरै राहत मिल्ने थियो ।

घटना घटेको अबस्थादेखि सम्पूर्ण उपचार खर्च, नियमित औषधि खर्च, पढ्ने उमेर रहेका र पढ्न चाहने जुनसुकै उमेरकाको पढाइ खर्च तथा व्यबसाय तथा रोजगारीका लागि सरकारले जिम्मा लिने प्रधानमन्त्रीले घोषणा गर्नुभयो ।

गृहमन्त्री रामबहादुर थापा, कानुन मन्त्री शिवमाया तुम्बाहाङ्फे, महान्यायाधीवक्ता अग्नि खरेल, शिक्षा, स्वास्थ्य, उद्योग र अर्थ मन्त्रालयका सचिवसमेतको उपस्थितिमा भएको अन्तक्र्रियामा सम्बन्धित मन्त्रालय र निकायलाई आआफ्नो कार्यक्षेत्रको जिम्मेवारी पूरा गर्न प्रधानमन्त्रीले निर्देशन दिनुभयो ।

प्रधानमन्त्रीको घोषणाअनुसार एसिड आक्रमणबाट पीडितको कानुनी उपचारका लागि अध्यादेश ल्याउने, स्वास्थ्योपचारका लागि काठमाडौंका त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, पाटन अस्पताल र कीर्तिपुरस्थित बोन अस्पतालमा डेडिकेटेड युनिट स्थापना गरिने छ ।

प्रधानमन्त्री ओलीले एसिड प्रहार गर्नेको तत्काल सम्पत्ति रोक्का गरी क्षतिपूर्ति भराउने कानुनी प्रवन्ध गरिने बताउनुभयो । अपराधीबाट क्षतिपूर्ति भराउने, जरिवाना असुल गराउने र उनीहरुलाई जेल सजाय गराउने उपयुक्त प्रवन्धको तयारी भइरहेको जानकारी प्रधानमन्त्रीले दिँदै गर्दा कंसाकार खुशी छिन् ।

‘एसिड आक्रमण गर्नेबाट भराइएको जरिवानालाई राजस्वमा दाखिला नगरी सीधै पीडितलाई भराउने र अपराधीलाई उम्किन नदिन तत्काल उसको सम्पत्ति रोक्का गर्ने कानुनी प्रवन्ध गर्नु आबश्यक छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो–एसिड आक्रमणबाट मानिसमा शारीरिक चोटपटकमात्र लाग्दैन, यसले मनोवैज्ञानिक, सामाजिक, शारीरिकलगायत वहुपक्षीय दुष्प्रभाव पार्छ । त्यसको समेत उपचार गर्ने प्रवन्ध गर्नुपर्छ ।

सरकारले एसिड आक्रमणका कुनै घटना नै हुन नदिने तथा आगामी दिनमा एसिड आक्रमणको पीडा कसैले भोग्नुनपर्ने स्थिति सिर्जना गर्न सरकार लागिपर्ने पनि उहाँले विश्वास दिलाउनुभएको छ ।

हेटौंडामा चर्चित एसिड प्रकरणका दुवै अभियुक्त जेलमा छन् । जिल्ला अदालत मकवानपुरका न्यायाधीश कमलराज बिष्टको एकल इजलासले दुवै अभियुक्तलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।

कंसाकारमाथि एसिड प्रकरणमा मुख्य अभियुक्त भारतीय नागरिक दिलीपराज केशरी र उनका सहयोगी मानिएका सञ्जय मण्डललाई भीमफेदी कारागार पठाइएको छ । एसिड प्रहार गरेर फरार भएका भारत महाराजगञ्ज अमरपूर्वन वडा–६ बस्ने राज भनिने केशरीलाई प्रहरीले रेडकर्नर नोटिसमा राखेको थियो ।

प्रहरीले केशरीलाई बाराको जितपुर सिमरा उपमहानगरपालिका–२३, भलोहीमा लुकेर बसेको अबस्थामा पक्राउ गरेको थियो । निरन्तर खटिएको प्रहरी टोली केशरीलाई पक्राउ गर्न सफल भएको हो ।

केशरीलाई सार्वजनिक गर्न प्रहरीले गरेको कार्यक्रममा हेटौंडाकी पीडित कंसाकारले एसिड छ्यापेर भाग्ने केशरीलाई फाँसीको सजाय माग गर्नभएको थियो । ‘एसिड प्रहार गरेर भाग्नेलाई फाँसी दिन नसके जन्मकैद सजाय दिनुपर्छ,’ उहाँले माग गर्नुभयो ।

२०७० वैशाख ९ गते विहान करिब ११ बजे हेटौंडा–३ मा रहेको आफ्नै भाँडा पसलमा २१ वर्षकी कंसाकारलाई पसलभित्र बसिरहेको अबस्थामा एसिड प्रहार भएको थियो । करिब २७ वर्षका राज केशरी उहाँको अनुहारमा एसिड फ्याँकेर फरार भएका थिए ।

प्रतिक्रिया दिनुहोस्