हरियाली ग्रुपको कालीजपालन फार्ममा चितुवा पस्यो, नियन्त्रणमा लिने प्रयास जारी



न्युज अफ नेपाल, म्याग्दी ।

म्याग्दीको बेनी नगरपालिका–४, सिङ्गामा सञ्चालित हरियाली ग्रुपले सुरु गरेको व्यावसायिक कालीजपालन फार्ममा चितुवा पसेको छ । ४ सय ५० वटा कालीजहरु पालिएको फार्मभित्र गए राती चितुवा पसेको हरियाली ग्रुप प्रालिले जनाएको छ ।

फार्मभित्र पसेको चितुवाले कालीज मारेर खाएको भए पनि कति संख्यामा कालीज मारेको भन्ने एकिन नभएको प्रालिका प्रवन्ध÷निर्देशक शेरबहादुर केसीले जानकारी दिनुभयो । अहिले कालीजको फार्मभित्र पसेको चितुवा नियन्त्रणको प्रयास गरिए पनि खुल्ला ठाउँ भएका कारण नियन्त्रणमा समस्या भैरहेको छ ।

चितुवा नियन्त्रणका लागि डिभिजन वन कार्यालय म्याग्दीबाट दुईजना कर्मचारी र तातोपानी प्रहरीचौकीबाट प्रहरीको टोली घटनास्थल पुगेका छन् ।

डिभिजन वन कार्यालयका निमित्त प्रमुख सन्तोष खनालले कार्यालयसँग रहेको फलामे खोरको सहायताले चितुवा नियन्त्रणको प्रयास गरिए पनि फार्मको क्षेत्र ठूलो र खुल्ला ठाउँ भएकाले समस्या भएको बताउनुभयो । फार्मभित्र पसेको चितुवाको वरिपरी धेरै भीडभाड नगर्न आग्रह गरिएको छ ।

चितुवा नियन्त्रण गर्नका लागि प्रदेश वन निर्देशनालय पोखरामा जानकारी गराएपछि त्यहाँबाट नियन्त्रणको टोली झिकाउन चितवन राष्ट्रिय निकुञ्जमा आग्रह गरिएको निमित्त प्रमुख खनालले जानकारी दिनुभयो । खबरलगत्तै राष्ट्रिय निकुञ्जको चितुवा नियन्त्रणको डार्टिङ टिम (प्राविधिक टोली) म्याग्दीतर्फ लागेको उहाँले बताउनुभयो ।

डार्टिङ टिम आएपछि मात्रै चितुवालाई बन्दुकको सहायतामा सिरिन्ज प्रहार गरी लठ्याउन सकिने र त्यसपछि नियन्त्रणमा लिई सामुदायिक वन क्षेत्रमा लगेर छाडिने निमित्त प्रमुख खनालको भनाइ छ ।

कुखुरा वा बाख्राको खोरभित्र पसेको भए चितुवालाई सजिलै नियन्त्रणमा लिन सकिने भए पनि खुल्ला ठाउँमा रहेको कालीज फार्मभित्र पसेको हुँदा समस्या भएको बताइएको छ ।

बिहान कालीजलाई दानापानी दिने क्रममा प्रालिका कर्मचारी फार्मभित्र पस्दा बयस्क चितुवाले झम्टिन खोजेपछि कालीजको फार्ममा चितुवा पसेको कर्मचारीले थाहा पाएका थिए । आहाराको खोजीमा चितुवा जाली नाघेर कालीजको फार्मभित्र पसेको हुन सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्