जीवनको वास्तविक आनन्द के हो !



प्रेम रावत

यो संसारमा बुझ्नुपर्ने र जान्नुपर्ने कुराहरू धेरै छन् । तथापि, सबैभन्दा ठूलो कुरा के हो भने जति पनि कुराहरू हामी सुन्छौँ अनि बुझ्छौँ– तिनलाई हामी व्यवहारमा पनि ल्याउन सक्छौँ कि सक्दैनौँ ! किनभने, यदि कतै नदी बगिरहेको छ, फल लागिरहेको छ, त्यसलाई उपभोग गर्ने र त्यसको आनन्द लिने मानिस छैन भने यसको अर्थ हो– कतै न कतै त्यस्ता मानिस पनि बसेका होलान् जहाँ नदी नहोला, पानी नहुँदो हो ।

जहाँ फलपूmल पनि नहुन सक्छ । किनभने, हामी आफ्नो जीवनमा यसरी नै हामीलाई आवश्यक पर्ने चीजहरूबाट टाढिन्छौँ, चाहनाबाट होइन । जसरी हामीलाई पानीको आवश्यकता पर्छ । हामीलाई हावाको आवश्यकता पर्छ । खाना हाम्रो लागि आवश्यक हुन्छ । हामीलाई सुत्नुपर्ने आवश्यकता रहन्छ । तातोपनको हामीलाई आवश्यकता रहन्छ ।

धेरै जाडो पनि होइन अनि धेरै गर्मी पनि होइन । तर, के हामी कहिल्यै सोच्छौँ– शान्ति पनि हाम्रो आवश्यकता हो । हाम्रो हृदय आनन्दले भरियोस्, यो पनि हाम्रै आवश्यकता हो । चाहना होइन, आवश्यकता हो । किनभने, यसको अभावमा पूरै जीवन अधुरो रहन्छ । यस्तो लाग्छ– बाँचिरहेका छौँ तर किन बाँचिरहेका छौँ, यही कुरा नै थाहा हुँदैन ।

हामीसँग आपूmले आपूmलाई चिन्ने ज्ञान हुनुपर्छ । जुन चीज हामीभित्र छ, त्यस चीजलाई चिन्ने ज्ञान हुनुपर्छ । यदि त्यस्तो ज्ञान छैन भने त मानिस भौँतारिनेछ । किनभने, उसलाई शान्ति चाहिएको छ । उसलाई आनन्द चाहिएको छ । तर, यी कुराहरूका बारेमा हामी सोचिरहेका हुँदैनौँ । किनभने यस कुराका बारेमा हामीलाई बताइएको हुँदैन । हामीलाई के भनिएको हुन्छ भने– नोकरी गर, यो गर, त्यो गर । त्यसपछि मात्रै तिम्रो जीवन आनन्दमय हुनेछ । तथापि, के हामीले कहिल्यै यो सोध्यौँ, ‘कुनचाहिँ यस्तो व्यक्ति छ, जसको जीवन आनन्दले भरिपूर्ण छ !’

वास्तवमा यो मायाको प्रकृति नै दुःख दिने खालको हुन्छ । सुख त एउटै चीजमा छ, त्यो चीज तपाईँभित्र विराजमान छ । त्यही चीजमा सुख र आनन्द छ । यस संसारका हरेक वस्तुबाट कुनै न कुनै रूपमा आनन्द पाइएला तर त्यस्तो आनन्द हुँदैन जुन हामीभित्र स्थित आनन्द हुन्छ । केही क्षणको खुशी अवश्य प्राप्त हुनेछ, जस्तो तपाईँ चलचित्र हेर्नका लागि जानुहुन्छ ।

तपाईँलाई चलचित्र राम्रो लाग्छ तर केही घण्टाकै लागि मात्र आनन्द प्राप्त हुन्छ । त्यसपछि के गर्छौँ– कोही के गर्नेछौँ, कोही केही गर्नेछौँ । किनभने, मानिस आनन्दलाई खोजिरहन्छ । उसलाई त्यो वास्तविक आनन्द चाहिन्छ अनि उसले त्यसलाई प्राप्त गर्न कहाँ–कहाँ खोज्दैन र ! उसले सोच्छ, ‘यदि मैले सारा संसारलाई कुनै तरिकाले आफ्नो नियन्त्रणमा राखेँ भने मलाई शान्ति प्राप्त हुनेछ । म संसारको सबैभन्दा शक्तिशाली मानिस हुनेछु ।’ यद्यपि त्यसमा पनि उसलाई आनन्द प्राप्त हुँदैन ।

एउटा कथा छ ‘सिकन्दर’ को । उनी अत्यन्तै शक्तिशाली राजा थिए । उनी जब हिन्दूस्थानमा आए उनलाई ‘देलीबेली’ (यात्राजन्य सङ्क्रमणयुक्त एक प्रकारको झाडापखाला) का बारेमा थाहा थिएन । उनी बिरामी भए । त्यसपछि उनले फर्केर जानुपर्ने भयो । उनी फर्किसकेपछि आफ्नो शरीर त्यागे । उनले मृत्युभन्दा पहिला भनेका थिए, ‘जब मेरो शरीर पूरा हुनेछ र मलाई गाड्नका लागि लिएर जानेछन् तब मेरो हातलाई बाहिर निकालिदिनू ।

किनभने म संसारलाई के देखाउन चाहन्छु भने– ‘म खालि हात आएको थिएँ अनि खालि हात नै यो संसारबाट गइरहेको छु । मसँग जे–जे छन्, जति पनि मेरो सम्बन्ध छ, नातागोता छन्, जे–जति मैले कमाएँ, मैले जे–जे गरेँ, ती चीजलाई म साथमा लिएर जान सक्दिन ।’

यदि हामीले यस संसारमा रहनु छ र जेसुकै गर्नुपरे पनि हामीले आपूmभित्र रहेको चीजलाई चिन्नु र पहिचान गर्नु एकदमै आवश्यक छ । किनभने, यो संसारमा रहँदा हामीलाई आनन्द र शान्तिको आवश्यकता पर्दछ । जब हामी दुःखी हुन्छौँ, हामीभित्र बसेका एकमात्र उनी छन् जसले हामीलाई बचाउन सक्छन् । यदि हामीले कसैको सहारा खोज्यौँ भने उनैले हामीलाई सहारा दिन सक्छन् । यो संसारमा हामी जे–जे गर्छौँ त्यो एउटा जालो नै हो ।

तर, त्यसलाई हामी देख्न सक्दैनौँ । जसरी माकुराको जालो हुन्छ तर त्यसलाई हामी देखिरहेका हुँदैनौँ । जस्तो माकुराको जालो हुन्छ त्यसलाई झिँगाले देख्न सक्दैन अनि फस्न पुग्छ । त्यसपछि ऊ जति निस्कने कोशिश गर्छ त्यति नै ऊ अभैm त्यसमा फसिरहन्छ ।

संसारको जालो पनि यस्तै जालो हो । समाजले के भनिरहेको छ, समाजका मानिसहरू कसरी रहिरहेका छन्– तिनै कुराहरूमा मानिस अल्झिरहेको छ । परिणामतः वास्तविक चीज उसबाट टाढा रहिरहन्छ । त्यो वास्तविक चीज कहाँ छ ? त्यो हामीभित्र नै छ । तर, अब मानिसले आपैmँले आपैmँलाई समेत चिन्न सकिरहेको छैन । उसले म यहाँ किन आएको हुँ भन्ने कुरालाई भुलेको छ । किनभने, योजना त योजना नै हो । योजना सधैँ तपाईँले बनाएजस्तै भइरहँदैन । कुनै बेला त्यो तपाईँले चाहेको जस्तो नहुन पनि सक्छ ।

तब मान्छेलाई अचम्म लाग्न थाल्छ, ‘मलाई किन यस्तो भइरहेको छ । मैले त्यस्तो के कुरा गरेँ होला !’ हामी के बिर्सन्छौँ भने– हामीलाई जे हुन्छ, त्यसमा हामी स्वयं नै जिम्मेवार छौँ । त्यसका लागि भगवान्लाई दोष दिनु उपयुक्त हुँदैन ।

मानिसहरू बाहिरको कुराबाट हैरान हुन्छन्, ‘मलाई यस्तो किन हुन्छ, उस्तो किन हुन्छ ।’ तथापि, भित्रको संसारमा निराशा हुँदैन । त्यहाँ आशा हुन्छ । त्यहाँ अँध्यारो हुँदैन, त्यहाँ उज्यालो हुन्छ । त्यहाँ प्रश्न हुँदैन, त्यहाँ उत्तर हुन्छ । अनि, त्यो स्थान तपाईँभित्रै छ, तपाईँको हृदयमा छ । केवल त्यस चीजलाई चिन्नु आवश्यक छ । त्यस चीजलाई चिन्नुहोस् अनि तपाईँको जीवनमा पनि आनन्द नै आनन्द हुनेछ ।

आज मानिसहरू सृष्टिकर्तासँग प्रार्थना गर्छन्, ‘हे भगवान् ! तिमीले मलाई यस्तो किन बनाएनौ ? तिमीले मलाई यो किन दिएनौ ? तिमीले उसलाई त दियौ तर मलाई दिएनौ ।’ तर, जब यो हृदयरूपी भाँडो शान्तिले भरिन्छ, तब मानिसले त्यस्तो भन्दैन । त्यति बेला उसले भन्नेछ, ‘हे ! ईश्वर ! तिमीलाई धेरै–धेरै धन्यवाद ! तिमी धन्य छौ, तिमीले मलाई बनायौ । मेरो जीवनमा शान्तिको तिर्खा लगायौ र के पनि सम्भव बनायौ भने, म त्यो शान्तिसम्म पुग्न सक्छु ।’

यो हो राम्रो कुरा । जबसम्म तपाईँ आपैmँलाई शान्तिको अनुभूति हुँदैन तबसम्म ‘शान्ति–शान्ति’ भन्नेहरूसँग तपाईँको केही सरोकार छैन । केही मानिस भन्छन्, ‘लागिराख बाबु, लागिराख ! अन्त्यमा यदि सबै कुरा ठीक भयो भने तिमीलाई शान्ति प्राप्त हुनेछ ।’ यो कस्तो कानुन हो ? ‘लागिराख, लागिराख ।’ यदि यस्तै अवस्था हुनु थियो र व्यक्तिगत अनुभवको केही महत्त्व छैन भने सृष्टिकर्ताले हामीभित्र त्यो शान्तिको प्यास किन लगाए ?

मान्छेलाई पानीको तिर्खा लाग्छ, त्यसैले त्यो तिर्खा मेटाउनका निमित्त पानी पनि बनाए । सृष्टिकर्ताले मान्छे (प्राणी) मा श्वास लिने आवश्यकतालाई बनाए र हावा पनि बनाए । उनले सबै चीजहरूको प्रबन्ध गरेका छन् तर हामीले त्यो कुरा बुझ्न सक्दैनौँ । अनुभव नभएसम्म, मानिसले भित्र अनुभूति नगरेसम्म उसले भन्न सक्दैन, ‘हो मैले पनि त्यस चीजको अनुभव गरेको छु ।

मलाई पनि थाहा छ, त्यो के हो ।’ किनकि, निजी अनुभूतिलाई कसैले पनि बेवास्ता गर्दैन । त्यसमा बहसको कुरा छैन । त्यसमा ‘हो’ र ‘होइन’ को कुरा छैन । यो मेरो अनुभवको कुरा हो । म मानिसहरूलाई यही कुरा सोध्छु– यस संसारमा तपाईँको आफ्नो अनुभव के छ ? एक दिन राम्रो भयो, अर्को दिन नराम्रो भयो । कहिले समस्या पर्छ, कहिले राम्रो समय हुन्छ, केवल यस्तै अनुभव रह्यो र मान्छे यही सुख–दुःखमा अल्झिरह्यो भने यसबाट के फाइदा हुन्छ ? किनकि, राम्रो नराम्रो त पशुपन्छीहरूलाई पनि थाहा हुन्छ ।

आफ्ना लागि राम्रो के, नराम्रो के– त्यो त उनीहरूलाई पनि थाहा छ । अनि, यो मानवशरीर किन प्राप्त भयो ? यसको गुण के हो ? ज्ञान प्राप्त गर्न सक्नु । यसबाट तपाईँभित्र रहेको शान्तिको अनुभूति गर्न सक्नुहुन्छ । जबसम्म तपाईँको शरीरमा यो श्वास आइरहेको छ, गइरहेको छ– यो तपाईँको समय हो । जे–जति कमाउनु छ, कमाउनुहोस् । यदि भोक लागेको छ भने अहिले नै आफ्नो भोक मेटाउनुहोस् । जे–जे गर्नु छ, त्यो अहिले नै गर्नु छ । जबसम्म यो श्वास आउँदै छ, जाँदै छ, यो श्वासभित्र के लुकेको छ ? यो श्वासभित्र लुकेको छ– साँचो शान्ति ।

यो श्वास केही नगरीकन आउँछ र जान्छ । केही गर्नुपर्ने आवश्यकता छैन । यो आउँदा यसले तपाईँको जिन्दगीलाई लिएर आउँछ । जुन दिन यो आउन छोड्छ, त्यस दिन के रहनेछ ? ठूलाभन्दा ठूला राजालाई पनि चितामाथि सुताइदिनेछ । किनकि, जुन चीजसँग हामी प्रेम गर्छौँ, वास्तवमा त्यो चीज यो शरीर होइन, यो छाला होइन । त्यो हो– श्वास ।

त्यो तपाईँभित्र पनि आइरहेको छ र मभित्र पनि आइरहेको छ । यो श्वासको महत्त्व के हो भनेर तपाईँले बुझ्नु छ । म ठाउँ–ठाउँमा गएर मानिसहरूलाई यही सन्देश दिन्छु– जुन तिर्खाले तपाईँ व्याकुल हुनुहुन्छ, त्यो तिर्खा पनि तपाईँभित्र छ र त्यो कुवा जसमा पानी छ, त्यो पनि तपाईँभित्रै छ । यदि तपाईँले आफ्नो ध्यानलाई भित्रतिर केन्द्रित गर्नुभयो भने तपाईँको पूरै जीवन आनन्दै आनन्दले भरिनेछ । जीवनभरि आनन्द प्राप्त भइरहनेछ ।
(मानवता र शान्ति विषयका अन्तर्राष्ट्रिय वक्ता प्रेम रावतको सम्बोधन । संकलित एवं प्रस्तुतीकरण ः डा. प्रेमराज ढुङ्गेल ।)

 

प्रतिक्रिया दिनुहोस्