यस जीवनको दुःख र सुखलाई नियाल्दा



दिनेश घिमिरे

नाटक मञ्चन गर्न आएका पात्रका रुपझैँ हौं हामी यस धर्तीमा । समय, परिस्थिति, सम्बन्धका आधारमा भूमिका खेलिरहेका हुन्छौं । कुनै कुराले दुःख अनि त्यही कुराले सुख, यही गोलचक्करमा रहेको मानिसको जीवन नै जिन्दगी हो । आज कति तनाव भएको छ भन्ने धेरै जना यहाँ पलपल भेट्न सकिन्छ । हामी परिकल्पना गरिरहेका हुन सक्छौं, जोसँग आफ्नै गाडी, शहरमा घर, सुन नै सुनले टल्किएका शरीर, बोलीमा आइस्यो र गइस्यो भन्नेहरु नै सम्पन्न परिवार र व्यक्ति होलान् भनेर ।

तर कहिलेकाहीँ बाहिर आएको घटनाको समाचार र कुराकानीको आधारमा तिनीहरुमा पनि दुःख छ । सफलता प्राप्ति, धन, विदेश, जग्गा–जमिन, सुन, राम्रो पद, शहरमा घर, गाडी, प्रेम आदि नै खुशी हो, सम्पन्न हो भन्नेहरु धेरै छन् । सुखले ल्याउने खुशी र दुःखले बनाउने दुःखीको व्यक्तिपिच्छे र समय अनुकूल परिभाषा, अनुभव र विश्लेषण फरक–फरक हुन्छ ।

आफ्नो खुशीका लागि, अरुका लागि दुःखी बनाउनेका लागि स्वार्थबाहेक केही हुँदैन । कोही–कोही त खुशी प्राप्तिको लागि सदा गलत क्रियाकलापहरु जस्तै– नशालु पदार्थ सेवन गर्ने र आत्महत्यासमेत गरेर अरुलाई दुःखी बनाइरहेका हुन्छन् ।

बुद्धले बारम्बार भनेका छन्, ‘मैले त मात्र बाटो देखाउन सक्छु । आफ्नो यात्रा त आफैंले तय गर्नुपर्छ ।’ बुद्धले दुःख र समस्या बुझ्नको लागि घर नै छाडेर ज्ञान प्राप्तिको निम्ति हिँडे अनि पत्ता लगाए– यस संसारमा दुःख छ, दुःखको कारण छ, दुःखको निवारण गर्न सकिन्छ र निवारण गर्ने कुराहरु छन् भनेर ।

दुःख समाधानपछिको खुशी र खुशीपछिको दुःख विश्लेषण गर्न आवश्यक हुन्छ । दुःखमा विरक्तिने र सुखमा मात्तिनेहरु पछि उल्टो नतिजा पाउँदा झन् कमजोर हुन्छन् । यो बुझ्नुपर्छ कि दुःख–पीडा निरन्तर मानिसको जीवनमा आइपर्ने समस्या हो भने सुखचाहिँ दुःख र पीडाबीचमा आउने औषधि मात्र हो । जीवनमा अनगिन्ती समस्या आउँछन् ।

ती समस्यासँग भाग्ने कि समाधान गर्नतिर लाग्ने ? व्यक्तिपिच्छे समस्याअनुसार फरक–फरक हुन्छ । सबै दुःखलाई समाधान गर्न सकिँदैन । जति समाधान गर्न सकिन्छ, त्यसैलाई सफलता र आनन्द लिनुपर्दछ । यो त जीवनमा चलिरहने प्रक्रिया हो । बाहिरी वातावरणमा कति कठोर देखिने मानिस अन्तरमन मिल्ने साथीसँग कहिलेकाहीँ कति कमजोररुपमा अन्तरमनका भावना साटासाट गरेको पाइन्छ ।

त्यो अन्तरमनका भावनामा कहिलेकाहीँ आँसुका मोतीहरु पनि बगेका देखिन्छन् भने कोही भित्रभित्रै कुण्ठितरुपमा जलेका पनि हुन्छन् । सुखद भविष्यको लागि दुःख औषधि नै हो । सिक्काको दुई पाटोझैँ दुर्ई भाइझैँ, नङ र मासुझँै हुन् सुख र दुःख ।

मानिस अरुकोसँग आफूमा भएको कुरालाई तुलना गरेर खुशी हुने भन्दा आफूलाई कमजोर ठान्नेहरु धेरै भेटिन्छन् । प्रगति र खुशीको लागि कमजोर मानसिकता होइन, दृढ संकल्प, मेहनत र साहस चाहिन्छ । दम्भ र अहं भावनाले अन्ततः निराशामा पु¥याउँछ ।

शान्त र इमानदार मानिसले जहिल्यै पनि जीवनमा प्रगति र खुशीका स्वाद भेट्टाउँछन् । प्रायः सम्पत्ति र धनका आधारमा सुख–दुःखसँग तुलना गर्ने गरिन्छ तर आत्मीयताको आधारमा भएका असरले मानिसको जीवनमा धेरै महत्व राख्छ ।

एक प्रेमी जोडीबीच भएको सम्बन्ध, वैवाहिक जोडीबीच भएको सम्बन्धले पनि उसको जीवनको बाटो कस्तो जाँदै छ भन्ने स्वरुप दिन्छ ।

समस्या, नैराश्यता, चिन्ता, दुःख, असफताका कारण मानिस मनोवैज्ञानिकरुपमा कमजोर हुँदै जान्छ । जीवनको यात्रामा विभिन्न समस्या आउँछन् । ती सबैलाई छिचोल्दै हिँड्नु नै आत्मविश्वास र जीवनको परीक्षामा पास हुनु हो । समस्यालाई अवसरमा जसले परिणत गर्न सक्छ, त्यसले नै सफलता प्राप्त गर्न सक्छ ।

विनास्वार्थमा लगाएको मायामा पनि सुमधुर सम्बन्ध र बोलिरहन मन लाग्ने स्वार्थ लुकेको हुन्छ । मान्छेका आवश्यकता र मन अनगिन्ती हुन्छन्, एकपछि अर्को मडारिँदै आउँछन् । तिनलाई व्यवस्थितरुपमा समाधान र व्यवस्थापन गर्ने उसकै हातमा हुन्छ ।

जहाँ, जुन अवस्थामा, जोसँग सम्बन्धमा छ, त्यसलाई सम्मान गर्नुपर्दछ अनि मात्र मन सन्तुष्ट भई खुशी हुन्छ । अमर र अजम्बरी कोेही मानिस हुँदैन । त्यसैले मृत्युपछि पनि सम्झनालायक हुने खाले काम गर्नुपर्छ । जिउँदोमा सबैले माया गर्छन्, सम्झन्छन्, नजिक हुन्छन् तर मृत्युपछि हराएका प्रचलित नामहरु धेरै देखिन्छ ।

त्यसैले जीवन जन्मनु मात्रै होइन, जन्म सार्थकतामा पु¥याउनु पनि हो । पानीको छालजस्तै हो जीवन, आरोह–अवरोहमा पानीको तालमा तैरेको डुंगाझैँ जीवन चलाउन जान्नुपर्दछ ।

दुःख र खुशीलाई नजिकबाट नियालेर हेर्दा प्रायः हस्पिटलमा मलीन र दुःखी अनुहारहरु देख्न पाइन्छ । उनीहरुको दुःखी मनलाई नियालेर हेर्दा संसार नै विरक्त देखिन्छ । दुःखी मनहरु प्रायजसो नारायण गोपाल र भक्तराज आर्चायका गीतहरु सुन्दै आफ्नो मनलाई सम्हाल्नेहरुले मोबाइलमा गीतहरु राखेर र मनमनै गुनगुनाउँदै हिँडेको पाइन्छ । दुश्मनसँग बदला लिनु छ भने मुस्कुराउनु र खुशी हुनुपर्दछ ।

समय र आफूलाई तुलना गरेर आफूलाई सर्वश्रेष्ठ बनाउने वा आफूलाई कमजोर बनाउनेहरु यत्रतत्र देख्न पाइन्छ । कति व्यक्ति आफ्ना अन्तरमनमा भएका कुरालाई आफ्नो घनिष्टलाई सुनाएर तनाव कम गर्ने वा समाधान गर्न सफल हुन्छन् । कोही अन्तरमनमा गुम्स्याएर भित्रभित्रै पिल्सिएका हुन्छन् । आफ्नो स्वार्थ पूरा गरेर अरुको मन मार्नु त केवल क्षणभरका लागि खुशी लिने मात्र नै हो ।

कलियुगमा कमजोर मानसिकताले विवेक हराएका तमाम व्यक्ति भेटिन्छन्, फलस्वरुप आफूले खनेको खाल्डोमा आफैं परेका धेरै उदाहरण छन् । हार त जीवनको मीठो पाठ हो, अरुलाई नजिकबाट बुभm्ने अवसर हो र आफ्नो धरातल पत्ता लगाउने माध्यम पनि हो । बसको चालकले हरेक मोडहरुमा मोडअनुसार दायाँ वा बायाँ मोड्ने गर्दछ, त्यस्तै गरी जिन्दगीलाई पनि सही तरिकाले मोड्नु आवश्यक हुन्छ ।

देखावटी र बनावटी साथ त धेरै दिन्छन्, बलेको आगो सबैले ताप्छन् । त्यसैले सम्हालिएर जीवन चलाउन जान्नुपर्दछ । सधैँ मनले खोजेको कहाँ पाइन्छ र ? त्यसैले पाएकोलाई नै मनमा राख्नु अति उत्तम हुन्छ । यदि सफलता र खुशी चाहनुहुन्छ भने दुःखको पनि परिकल्पना गर्न सक्नुपर्दछ अनि मात्र समस्या समाधान गरिरहने हिम्मत र साहस बढ्छ ।

हरेक मान्छेसँग आफ्नै शक्ति हुन्छ । त्यसलाई चिन्न सकेमा मात्र उसले प्रगति गर्न सक्छ । संघर्ष, दुःख र सफलताले जीवनलाई सुन्दर र मूल्यवान् बनाउँछ । जीवनलाई मात्तिन नदिने भनेको दुःखबाट पाएका पाठहरुले हो । हरेक सफलताको पछि उसको त्याग, बलिदान, समर्पण लुकेको हुन्छ । मानिसको सफलता र सुखीको राज भनेको नै उसको मानसिकता, विचार, व्यवहार र कर्म हो । केही समय दुःखले चिन्तित बनाउन सक्ला तर निरन्तर कामप्रतिको लगनशीलताले सफलता हात पर्दछ अनि बल्ल पसिनाको गन्ध पनि सुगन्धमा परिणत हुन्छ ।

तपाईंले गरेको कर्मले कति खुशी पाउने, कति दुःखी हुने भन्ने निक्र्योल गर्दछ । सुखको हकदार पनि तपाईं हो, दुःखको पनि तपाईं हो । त्यसैले आत्तिने र मात्तिने नगरी जे छ, जस्तो परिस्थिति छ, त्यसैलाई सहज मानेर जीवन अगाडि बढाउनु नै सफलता पाउँदै खुशी हुनु हो । त्यसैले आफूलाई चिन्नुहोस् अनि सुखद भविष्यतिर लम्कनुहोस् ।

प्रतिक्रिया दिनुहोस्