महिलाको पहिचान पुरुषको शान !



हरेक व्यक्तिको जीवनमा पहिचानले महत्वपूर्ण स्थान राख्दछ । उसको पहिचान के र कस्तो छ त्यसले उसको आत्मविश्वासलाई प्रभावित गर्दछ भने उसको आत्मविश्वासले उसको पहिचानलाई । यी दुई एक–अर्कामा अन्तर सम्बन्धित हुन्छन् ।

महिला आन्दोलनभित्र पहिचानको सवाल सुरुवातीकाल देखि नै महत्वपूर्ण रुपमा रहेको छ । महिलावादी लेखिका सिमोन दे बेभोयेरको भनाइमा संसारभर स्थापित पितृ सत्ताले पुरुषलाई विषय र निर्विकल्प सत्यको रुपमा स्थापित गराएको छ भने महिलालाई अर्को व्यक्तिको रुपमा । यो यथार्थता हो । यसले नै महिला आन्दोलनभित्र पहिचानको आवश्यकता किन र कति छ भन्ने तथ्यलाई उजागर गर्दछ ।

पहिचान के हो भन्नेबारे धेरै पक्षबाट लेखिएका छन् । व्यक्तिका अनुभवहरु संँगालिएका छन् ।यी सबैको एउटै निष्कर्ष छ– हरेक व्यक्तिको पहिचान, उसले आफूले आफूलाई कसरी हेर्छ, उसलाई समाजले कसरी हेर्छ, त्यसकै आधारमा स्थापित हुन्छ ।

पहिचान, व्यक्ति कुन लिंगमा जन्मेको हो भन्ने मात्र भन्दा उस् कस्तो समाजमा जन्म्यो हुर्क्यो, त्यो समाजको संस्कृति कस्तो छ, त्यहाँ कस्तो राजनीतिक व्यवस्थाले सरकार चलाएको छ भन्ने कुराले पनि निर्धारण गरिन्छ ।

समग्रमा भन्नुपर्दा कुनै पनि व्यत्तिको पहिचान सधै एउटै रहन्छ र हुन्छ भन्ने हुदैन । यो समय परिस्थिति अनुसार बदलिंदै जान्छ । व्यक्तिको पहिचान अनुसार नै समाज, घर, राज्यजस्ता स्थापित संस्थाहरुमा उक्त व्यक्तिसंँग शक्ति–सम्बन्ध स्थापित हुन्छ र गरिन्छ ।

व्यक्तिको एउटै पहिचान भन्दा बहु–पहिचान हुन्छ । पहिचान समय अनुसार परिवर्तन हुनसक्दछ । व्यक्तिलाई दिइएको पहिचान र व्यक्ति आफूले आत्मसात् गरेको पहिचान अनुसार घर, परिवार, समाज र राष्ट्रमा शक्ति–सम्बन्ध स्थापित हुन्छ ।

हाम्रो जस्तो विभिन्न खाले प्रथा–परम्परा, धर्मको व्याख्या, सामाजिक व्यबहार जस्ता विभिन्न अस्त्रहरूको प्रयोग गरी समाजमा स्थापित गरिएको पितृसत्तात्मक संरचनाभित्र महिलाको पहिचान के र कस्तो हुने भन्नेमा व्यक्ति स्वयम्ले स्थापित गर्न सक्ने स्थिति रहन्न।

अझ भनौं, स्थापित पितृसत्तात्मक संरचनाभित्र स्थापित कानुन, सामाजिक मूल्य–मान्यता, महिला पुरुष यौनिक तथा लैंगिक अल्पसख्यकप्रति रहेका धारणाले व्यक्तिभित्र आफूको हु ? आफ्नो पहिचान के हो ? भन्ने सोचाइलाई नै प्रभावित गरेको हुन्छ । ऊ नजानिंदो तवरले मनोवैज्ञानिक रुपबाट आफ्नो पहिचानलाई समाजले भने अनुसार नै हो भन्ने मान्न पुग्दछ ।

नेपालमा महिलाको पहिचान देशमा जरा गाडेर रहेको पितृसत्तात्मक संरचनालाई जोगाउन सहज हुने तवरबाट स्थापित गरिएको छ ।यसलाई नै देशको कानुन, सञ्चार र व्यक्तिका सोचहरुले स्थापित गरेको छ । हुन त लामो संघर्षबाट स्थापित नयाँ संविधान र त्यसमा आधारित नयाँ कानुनहरुले देशका सबै नागरिकहरु समान हुन् भन्ने मान्यता स्थापित गरेको छ ।

तर पनि व्यवहारमा लोकतन्त्र आएको २० वर्ष बढी भइसक्दा पनि सुनिस्चित हुन सकेको छैन । महिलाको सवालमा त्यो अझै दूरदेशको कुराजस्तो देखिन्छ । यस्तो किन र यसको अन्त्य गर्न के गर्नुपर्दछ भन्ने अहम सवाल सामाजिक न्यायमा विश्वास राख्ने व्यक्तिहरुका लागि हो ।

मेरो विचारमा यसो हुनुको मुख्य दुई कारण छन् । समाजमा महिलालाई हेर्ने दृष्टिकोणका कारण बनाइएको र बनेको महिलाको पहिचान, महिला आफैले आफूलाई दिएको पहिचान । यी दुई कुरा फरक भनिए पनि सारमा भने एउटै छ, त्यो हो समाजले दिएको महिलाको पहिचान र महिलाले त्यसलाई आत्मसात गर्दै बनाएको आफ्नो पहिचान।

देशमा संविधान र कानुन परिवर्तित भएपनि महिलामाथि हुने हिंसाले निरन्तरता पाउनु, न्याय पाउन सक्ने वातावरण तयार नहुनुजस्ता स्थिति आउने प्रमुख कारण पनि यही हो ।

यो अवस्थामा परिवर्तन नहुन्जेलसम्म संविधानको मर्मको रुपमा रहेको समानता र  सामाजिक न्यायमा आधारित समाज कहिल्यै पूरा हुन सक्दैन । यो स्थिति सबैको सहकार्य विना सम्भव छैन ।

तर पनि यो स्थितिमा परिवर्तन ल्याउनका लागि विशेष रुपमा सामाजिक न्यायमा विश्वास गर्ने पुरुष र आफूलाई महिलावादी भन्ने महिलाहरुको विशेष भूमिका रहन्छ । म आज महिलावादीको भूमिकाका बारेमा केहि चर्चा गर्न चाहान्छु।

महिलावादको मुख्य उद्देश्य भनेकै महिलाहरुले आफ्नो दैनिक जीवनमा भोग्नुप र्ने असमानता, अन्यायका कारकतत्वको रुपमा रहेको संरचनागत विभेदलाई चुनौती दिनु हो । महिलावाद भनेको समाजमा रहेका हरेक लिंगको सामाजिक, आर्थिक र राजनीतिक लगायतका क्षेत्रमा समानता हुनुपर्छ भन्ने विश्वास गर्ने वाद हो ।

यो एक राजनीति हो । महिलावाद भनेको पुरुष विरोधी नभई मानिसलाई लिंग, वर्ग, जात, समूह, भाषा, शारीरिक स्थितिजस्ता कुनै पनि कारणले विभेद गर्नु हुन्न भन्ने मान्यता राख्ने राजनीतिक सोच हो ।

तर दुर्भाग्य, समाजमा पछाडि पारिएका समूहको रुपमा रहेका महिलालाई प्राथमिकता दिंदै आवाज उठाएकै कारण महिलावादलाई पुरुष विरोधीवादका रुपमा स्थापित गर्ने प्रयास गरिएको छ । यसको पछाडि पनि आफ्नै राजनीति छ । समानता र सामाजिक न्याय नचाहने पितृ सत्ता लगायतका विभेदपूर्ण सामाजिक संरचनाका हिमायति नै महिलावादलाई बदनाम गर्न र गलत रुपले व्याख्या गर्न लागि परेका हुन्छन् ।

महिलावादलाई कुनै पनि लिङ्गका व्यक्तिले आत्म सात्गर्न सक्दछन्। यसरी आत्मसात्गर्ने व्यक्तिलाई महिलावादी भनिन्छ ।आफूलाई महिलावादी भनेर पहिचान दिने व्यक्तिले आफ्नो समूह, आफ्नो लिङ्ग र राजनीति दुवैलाई समाजले दिएको पहिचानलाई चुनौती दिन्छन् । परिवर्तनका लागि अगुवाई गर्दछन् ।

कहिलेकाहीं जब यो समूह पनि आफ्नो पहिचान के हो भन्नेमा अलमलिन्छ तब देश र संसारमा विभिन्न रुपमा चलाइएका गैर राजनीतिक सोचको शिकार हुन गई समस्या सिर्जना हुन्छ । महिलाको पहिचानलाई एक समान नागरिकको पहिचानको रुपमा स्थापित हुन दिन अहिलेको विश्व संरचनाले चाहँदैन । यसका आफ्नै विभिन्न आर्थिक राजनीतिक पक्षहरु छन् ।

त्यसैले बेला बेलामा मूलप्रवाहीकरण, सामाजिक समावेशिताजस्ता नारा लगाएर महिलावादले राजनीतिलाई चुनौती दिइरहन्छ । त्यसो हुन नदिनका लागि  महिलावादीलाई विभाजित गरिन्छ, गैर राजनैतिक हुनुपर्दछ भन्ने आवाज उठाइन्छ, पैसासंग राजनीति साट्ने चलखेल हुन्छ अनि फाइदा उठाइन्छ । यसबारे महिलावादी सचेत हुनैपर्छ ।

महिलावादी लेखिका सिमोन दे बेभोयेरले भनेजस्तो पुरुषलाई विषय र निर्विकल्प सत्यको रुपमा स्थापित गराउँदै महिलालाई अर्को व्यक्तिको रुपमा स्थापित गराउने राजनीतिक सोच र संरचना परिवर्तन गर्ने जग बसाल्नु पर्दछ ।

तसर्थ, अहिले महिलावादीका लागि महिला र यौनिक तथा लैंगिक पहिचान भएको समूहलाई राजनीतिक रुपमा स्थापित गराउन जति जरुरी छ त्यति नै जरुरीती समूहको आफूभित्र यो समाजले बनाइदिएको स्थापित पहिचानको परिवर्तनका लागि अभियान चलाउन पनि।

प्रतिक्रिया दिनुहोस्