विश्व आत्महत्या रोकथाम दिवस : १ हजार ३५० ले गरे आत्महत्या, बन्दाबन्दीमा ४० प्रतिशतले वृद्धि



न्युज अफ नेपाल, काठमाडौँ ।

विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा युनिसेफले नेपालका बालबालिका तथा युवाहरूको मानसिक स्वास्थ्यका सवालमा रोकथाम, थेरापी, उपचार तथा पुनर्स्थापनामा योगदान गर्दै यसलाई पनि मुलधारको स्वास्थ्य सेवाको एउटा महत्वपूर्ण हिस्साको रूपमा सुनिश्चित गर्ने कार्यमा सहयोग पुर्याउन सरकार तथा विकास साझेदारहरू, नागरिक समाज, समुदाय र परिवारलाई आग्रह गरेको छ ।

नेपालमा बसोबास गर्ने थुप्रै परिवारहरूका लागि कोभिड-१९ को सामनागर्नु भनेको यसको संक्रमणबाट बच्नका लागि भौतिक दूरी कायम गर्नु, मास्क लगाउनु र हात धुनु मात्रै होइन । यसको अर्थ महामारीले निम्त्याउने अनिश्चितता र जीवनयापनका चिन्ताहरूसँग जुध्नु र भविष्यका लागि आशाहरू सिर्जना गर्न संघर्ष गर्नु पनि हो।

नेपालमापहिले देखि नै आत्महत्याको दर निकै बढि भएकोमा यो महामारीले यो अवस्थालाइ अझ खराव बनाएको छ । गत चैतदेखि हालसम्म, अनिश्चितताको कारण भावनात्मक तथा मानसिक अस्वस्थता एवं आघात र विविध क्षतिहरूका कारणले गर्दा ३१९ जना बालबालिका र ८७६ जना महिलासहित १,३५० जनाले आत्महत्या गरेका छन् ।

नेपाल प्रहरीका अनुसार, गत वर्षको तुलनामा यस वर्षको ४ महिना लामो बन्दाबन्दीको समयमा आत्महत्या गर्ने किशोरीहरूको संख्या अघिल्ला महिनाहरूको तुलनामा ४० प्रतिशतले वृद्वि भएको छ भने आत्महत्या गर्ने किशोरहरूको संख्यामा पनि केहि वृद्वि भएको छ। यी संख्याहरूमा प्रहरीको अभिलेखमा रहेका आत्महत्याहरू मात्रै समावेश छन् । यसमा अभिलेखमा नरहेका घटनाहरू, आत्महत्याका प्रयासहरू वा आत्महत्या गर्ने सोच बनाएका मानिसहरूलाई समेटिएका छैनन् । हरेक आत्महत्याले उनीहरूको नजिकका मानिसहरूमा गहिरो शोक छोड्ने गर्दछ ।

युनिसेफले बालबालिका तथा परिवारको सम्बन्धमा जुलाइमा गरेको एक सर्वेक्षणका अनुसार, ४९ प्रतिशत परिवारहरूले विशेष गरी बन्दाबन्दीको बेलामा आफ्ना बालबालिकाका आवश्यकता पुरा गर्न सकिन्छ या सकिन्न भन्ने विषयमा तनाव बढेको बनाएका थिए । युवाहरूमा आत्महत्याको संख्या बढिरहँदा कल सेन्टरहरूमा आत्महत्याका विषयमा सहयोगको माग गर्ने व्यक्तिहरू थोरै थिए ।युवाहरूका लागि सहायता सेवाहरू विस्तार गर्नुका साथै मानसिक स्वास्थ्यको विषयमा रहेका सामाजिक दोषारोपण र लान्छनाको सम्बोधन गर्नु पनि महत्वपूर्ण छ ।

कोभिड-१९ को महामारीका कारण लागु गरिएको कडाइले बालबालिकाको पठनपाठन, मनोरन्जनात्मक क्रियाकलापलगायतमा अवरोध आउनुले उनीहरूको साथी, सहपाठी, शिक्षक तथा परिवारसंगको सम्पर्क पनि पातलिएको छ र यसले उनीहरूलाइ निकै असर गरेको छ । अरूहरूका लागि, यो कडाइले परिवार र समुदायमा हिंसा र शोषणको जोखिम बढाएको छ । सबैजनाको दैनिक जीवन, सम्बन्धहरू, श्रोत साधन तथा सेवाहरूसम्मको पहुँचमा पनि यसले महत्वपुर्ण परिवर्तन ल्याईदिएको छ।

“मानसिक अस्वस्थताका धेरै लक्षणहरू १४ वर्षको उमेरभन्दा अगाडि देखि नै शुरू हुन्छ र अहिले आत्महत्या नेपाली युवाहरूको मृत्युको प्रमुख कारणमध्ये पर्दछ“, नेपालका लागि युनिसेफ प्रतिनिधि एल्के विसले भन्नुभयो।

“हामी कोभिड-१९ सँग जुध्ने क्रममा, बालबालिकाको जीवन सुरक्षित बनाउन र परिवारहरूलाई यो जटिल परिस्थितिको सामना गर्नका लागि चाहिने स्वास्थ्य सेवा र सामाजिक तथा आर्थिक सहयोग उपलब्ध गराउने विषयमा विशेष ख्याल गर्नुपर्दछ। सामाजिक चेतना र मनोसामाजिक तनावको बारेमा बुझाईमा सुधार गर्दै एकीकृत मानसिक तथा मनोसामाजिक स्वास्थ्य सेवाहरू उपलब्ध गराउनको लागि हामीले सामुहिक रूपमा काम गर्नुपर्दछ। कमजोर मानसिक स्वास्थ्य भएका थुप्रै बालबालिका र उनीहरूका परिवारहरूको लागि यदि हामीले समयमै सहायता गर्न सकेनौं भने देशले नै यसको मूल्य चुकाउनुपर्ने देखिन्छ “ विसले थप्नुभयो।

गत फागुनदेखि युनिसेफले टेलिफोन र अनलाईन मार्फत परामर्श सेवा उपलब्ध गराउनका साथै समुदायमा आधारित मनोसामाजिक परामर्शदातालाई परिचालन गर्नका लागि साझेदारहरूलाइ सहायता गरेको छ। एक्लिएर बस्नु पर्ने अवस्था भोगेका, सामाजिक तनाव र आर्थिक कठिनाइहरूसंग जुधिरहेका पुरूष, महिला तथा बालबालिकालाई मनोसामाजिक परामर्श उपलब्ध गराउने कार्यमा विभिन्न संस्थाहरूसंग सहकार्य गरिएको छ। युनिसेफले बालबालिका र किशोरकिशोरीका लागि उमेर सुहाउँदो मानसिक स्वास्थ्य सेवाहरू उपलब्ध भएको सुनिश्चित गर्नका लागि कान्ति बालअस्पतालको मानसिक स्वास्थ्य कार्यक्रमसँग पनि सहकार्य गरेको छ ।

प्रतिक्रिया दिनुहोस्