धुलिखेलमा ५० शैयाको आईसोलेसन कक्ष

नगरपालिकालाई प्रदेश सरकारको एक करोड



मोतीराम तिमल्सिना, काभ्रे । 

धुलिखेल नगरपालिकाले नगरपालिका भित्र संक्रमित नागरिकहरुको संख्या बढ्दै गए पछि अस्पतालले मात्रै विरामीहरुको ब्यवस्थापन गर्न नसक्ने भएकाले नगरपालिका आफैले ५० शैयाको आईसोलेसन कक्ष तयार गरी विरामीहरुको ब्यवस्थापन गर्न शुरु गरेको छ ।

यस अघि नगरपालिकाले तयार गरेको एकसय बेडको क्वारेन्टिनलाई नगरपालिकाले ५० बेडको आईसोलेसन कक्ष तयार गरेको छ । क्वारेन्टिन र आईसोलेसन कक्षका लागि फरक फरक तयारी आवश्यक छ ।

नगरपालिकाले अलग्गै बेड, विरामीहरुको उपचारका लागि आवश्यक पर्ने अक्सिजन, स्वास्थ्यकर्मी तथा विरामीहरुको उपचारका लागि आवश्यक पर्ने अन्य पूर्वाधारहरुको तयार गरेको छ ।

नगरपालिका प्रमुख अशोक ब्याञ्जुले आईसोलेसन कक्ष निर्माण गरी विरामीहरुको उपचार शुरु गरिएको बताउनु भयो । धुलिखेल नगरपालिका वडा नम्वर ९ को काभ्रेभन्ज्याङ्गमा एकै दिन २५ जना संक्रमित विरामीहरु फेला परेसँगै नगरपालिकाले आईसोलेसन कक्ष तयार गरेको नगर प्रमुख अशोक ब्याञ्जुले बताउनु भयो ।

धुलिखेल नगरपालिकाले कोभिड १९ रोकथामको लागि जनचेतना अभियान, क्वारेन्टाइन ब्यबस्थापन, आइसोलेशन ब्यबस्थापन, उचित समयमा कन्ट्याक्ट् ट्रेसिङ्गका अतिरिक्त कोभिड अनुसन्धान समेतको कार्य गरिरहेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सन्दिप केसीले बताउनु भयो ।

नगरबासिलाइ स्वाब परिक्षण गर्न असहज नहोस भन्ने उदेश्यले १ हजार जनाको स्वाब संकलन तथा परिक्षण लक्ष्य सहित कार्य शुरु गरेकोमा हालसम्म ९ सय ७० जनाको परिक्षण गरिसकेको शाखा प्रमुख सन्दिप केसीले बताउनु भयो ।

धुलिखेल नगरपालिका वडा नम्वर ९ मा समेत २७ जना सम्पर्क परिक्षण गर्नु पर्नेमा ५१ जनाको समुदायको समेत परिक्षण गरिएकोमा संक्रमित २५ जना फेला परेका थिए ।

वडा नम्वर ९ का संक्रमितहरु २५ जनाकै नियमानुसार अस्पताल, आइशोलेसन तथा घरमा समेत ब्यबस्थापन गरिएको उहाँले बताउनु भयो ।

रिपोर्ट प्राप्त भएको ६ घण्टा भित्रै सबै विरामीहरुको ब्यवस्थापन भईसकेको उहाँले बताउनु भयो । समुदायमा संक्रमण फैलन नदिई रोकथामका सबै उपायहरू समयमै संचालन गरिने नगर प्रमुख अशोक ब्याञ्जुले बताउनु भयो ।

नगरपालिकालाई एक करोड

कोभिड नियन्त्रणमा नेपालमै नमुनाका रुपमा कार्य गरिरहेको धुलिखेल नगरपालिकालाई बागमती प्रदेश सरकारले एक करोड रुपैया उपलब्ध गराउने निर्णय गरेको छ ।

धुलिखेलमा स्थापना गरेको क्वारेन्टाईन ब्यवस्थापनमा उत्कृष्टतासँगै बागमती प्रदेश सरकारले उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो ।

धुलिखेल नगरपालिकाले स्थापना गरेको क्वारेन्टाईनमा धुलिखेल नगरपालिकाको अलावा नेपालका विभिन्न जिल्लाका नागरिकहरुलाई क्वारेन्टाईनमा राख्दै आएको छ ।

संघ, प्रदेश र अन्य निकायको अनुगमनमा धुलिखेल नगरपालिका उत्कृष्ट भएको र थप ब्यवस्थित बनाउन उक्त रकम उपलब्ध गराईएको हो ।

मुख्यमन्त्री डोरमणी पौडेल, स्वास्थ्यमन्त्री युवराज दुलाल लगायतले धुलिखेल नगरपालिकामा क्वारेन्टाईन र आईसोलेसनलाई थप ब्यवस्थित बनाउन उक्त रकम उपलब्ध गराएको बताएका छन् ।

नगर प्रमुख अशोक ब्याञ्जुले प्राप्त रकम मार्फत नगरपालिकामा रहेको क्वोरन्टाईन, आईसोलेसनलाई अझै ब्यवस्थित बनाउने र स्वास्थ्य सामाग्री उपलब्ध गराउने बताउनु भयो ।

धुलिखेलमा धुलिखेल अस्पताल, प्रादेशिक ल्याव मार्फत दैनिक कोरोना संक्रमणको परिक्षण भईरहेको छ भने विभिन्न जिल्लाबाट आएका कोभिड तथा अन्य विरामीहरुको उपचार भईरहेको छ ।

धुलिखेल नगरपालिकाले तयार गरेको क्वारेन्टाईनमा जिल्लाकै महाभारत, खानीखोला र चौरी देउराली गाउँपालिकाका नागरिकहरु समेत बस्दै आएका छन् ।

धुलिखेल नगरपालिकालाई १ करोड उपलब्ध गराए सँगै नमोबुद्ध नगरपालिकामा रहेको मेथिन्कोट अस्पतालका लागि १५ लाख रुपैया उपलब्ध गराउने बागमती प्रदेश सरकारले निर्णय गरेको छ ।

अस्पतालले आफ्नो सेवा क्षेत्र विस्तारका लागि प्रयास गरे पनि कोभिडको सन्दर्भमा अन्य पालिका र अपायक भएका हिसावले जिल्ला स्तरको कार्य गर्न सकेको छैन ।

बागमती प्रदेश सरकारले भरतपुर महानगरपालिका र भिमेश्वर नगरपालिका दोलखालाई पनि एक÷एक करोड उपलब्ध गराएको छ । अन्य १५ वटा नगरपालिका तथा अस्पपतालहरुका लागि पनि सहयोग रकम उपलब्ध गराएको छ ।

प्रतिक्रिया दिनुहोस्