नारायणगढ मुग्लिङकै मोडेलमा मालढुंगा–बेनी सडक बिस्तार हुने



दुर्गाप्रसाद शर्मा, पर्वत

चिल्लो, चौडा र आकर्षक सडकको रुपमा रहेको मुग्लिङ नारायणगढ सडककै मोडेलमा पर्वतको मालढुंगादेखि म्याग्दीको बेनीसम्मको १३ किलोमिटर सडक बिस्तार हुने भएको छ ।

उत्तर दक्षिण जोड्ने कालीगण्डकी करिडोरअन्र्तगत मालढुंगा–बेनी सडकलाई दुई लेनमा बिस्तार गरी कालोपत्रे गर्न लागिएको हो ।

उत्तर–दक्षिण कालीगण्डकी करिडोर आयोजना कार्यालय मुस्ताङले दिएको जानकारीअनुसार यो खण्डको स्तरोउन्नतीका लागि अर्थ मन्त्रालयले बहुवर्षिय ठेक्काका लागि स्वीकृति दिएको छ । ‘स्तरउन्नतीका लागि बहुवर्षिय ठेक्का आह्वान गर्न अर्थ मन्त्रालयले स्वीकृति दिएको छ।’

आयोजना प्रमुख अशोक तिवारीले भन्नुभयो–‘अब ठेक्का आह्वानका लागि प्रक्रिया शुरु गर्छौ, दशै लगत्तै ठेक्का आह्वान हुन्छ।’

आयोजना कार्यालयका अनुसार मुग्लिङ – नारायणगढ सडककै मोडेलमा यसलाई स्तरउन्नती र बिस्तारको काम हुनेछ । यो सडक डबल लेन, र एस्पाल्ट ब्लाक टप मोडेलमा बिस्तार गर्न लागिएको छ । बिस्तारका लागि मन्त्रालयले झण्डै ९९ करोड रुपियाँ बजेट स्वीकृत गरेको छ ।

सडक स्तरोन्नतीका लागि आर्थिक वर्ष २०७६÷७७ कै बजेटामा बजेट बिनियोजन भएको थियो । अहिले स्टिमेट स्वीकृत गराउने काममा लागि रहेको आयोजना प्रमुख तिवारीले बताउनुभयो । पर्वतको कुस्मा नगरपालिका र जलजला गाउँपालिकामा सडक बिस्तारको काम हुनेछ ।

स्थानीयस्तरमा जग्गाको विवाद नरहेको र विद्युत्का पोल हटाउनका लागि नेपाल विद्युत प्राधिकरण, पर्वत वितरण केन्द्रलाई पत्राचार गरिएको उहाँले बताउनुभयो ।

तिब्बतको सिमानामा पर्ने उत्तरको कोरल्ला नाकादेखि दक्षिणको सुनौलीसम्म जोड्ने कालीगण्डकी करिडोरअन्र्तगत पर्वतको मालढुंगादेखि म्याग्दीको सदरमुकाम बेनीसम्मको खण्डको रुपमा यो सडक नै कायम भएको छ ।

यसअघि म्याग्दीको बेनीदेखि मुस्ताङको जोमसोम हुँदै कोरल्लासम्म र मालढुंगादेखि बागलुङ र पर्वततर्फबाट समानान्तर रुपमा सडकको काम भइरहेको थियो ।

मालढुंगाबाट बेनी पुग्नका लागि मालढुंगा – बेनी सडक वा बागलुङतर्फबाट कालीगण्डकी किनारै किनार सडक बनाउने भन्ने विषय अन्योलमा नै थियो । मालढुंगा–बेनी सडक स्तरोउन्नतीका लागि एक अर्ब बजेट बिनियोजन तथा कालिगण्डकी करिडोरको रुपमा विकास गर्न राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पहल गर्नुभएको थियो ।

आयोजना कार्यालयका अनुसार २०४८ सालमा म्याग्दीको सदरमुकाम बेनी जोड्नका लागि यो सडक ‘कामका लागि खाद्यान्न’ कार्यक्रमअन्र्तगत शुरु भएको थियो ।

त्यसपछि मालढुंगा –बेनी –दरबा– सडक आयोजनाका रुपमा यसमा काम भएको थियो भने पछिल्लो समय डिभिजन सडक कार्यालय बागलुङले मर्मतको काम गर्दै आएको छ ।

अब भने कालीगण्डकी करिडोरअन्र्तगत स्तरोन्नती हुनेछ । यो सडक स्तरोन्नती भएपछि मुस्ताङ जाने पर्यटक र पर्वत, म्याग्दी र मुस्ताङका बासिन्दा प्रत्यक्ष लाभान्वित हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्