मुस्ताङको स्याउ बजारमा आउँदै



प्रताप बानियाँ, मुस्ताङ .

मुस्ताङमा उत्पादित स्याउ बजार आउने तयारीमा पुगेको छ । स्याउ पाक्न थालेपछि अहिले बजार पठाउने तयारीमा कृषक लागिपरेका छन् । पाँचवटा गाउँपालिका रहेको मुस्ताङको विभिन्न स्थानमा उत्पादित स्याउ पाकेपछि कृषक स्याउ टिप्ने र बजार पठाउने तयारीमा जुटेका हुन् ।

स्याउ पाकेर टिप्ने अवस्थामा पुगेको हुँदा स्याउ टिप्न र बजार लैजानेदेखि अन्य व्यवस्थापनको काममा भने यसपटक स्थानीय कामदार नै खट्नुपर्ने भएको छ । कोभिड–१९ संक्रमणको जोखिमका कारण यसवर्ष मुस्ताङमा बाहिरी जिल्लाका मजदूरलाई स्याउ टिप्न रोक लगाइएको छ ।

विगतमा स्याउ खरिद गर्ने व्यापारीले बाहिरबाटै कामदार लगेर स्याउ टिप्ने गरे पनि यसवर्ष कोभिडको जोखिमलाई मध्यनजर गरी रोक लगाइएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।

कोभिड–१९ संकट व्यवस्थापन समिति मुस्ताङको बैठकले स्थानीय स्याउ र तरकारी खरिद बिक्रीको व्यवस्थापनमा स्थानीयलाई नै खटाउनुपर्ने निर्णय गरेको छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलले बैठकमा स्याउ टिप्नका लागि जिल्ला बाहिरबाट कामदार ल्याउन नपाइने निर्णय गरिएको बताउनुभयो ।

उहाँका अनुसार स्याउको बगैंचा हेर्न र ठेक्का लिनका लागि भने एकजना मात्रै ठेकदार आउन पाउने हुँदा कोभिड–१९को सबै सुरक्षा मापदन्ड पालना गर्नुपर्ने निर्णयसमेत गरिएको छ ।

मुस्ताङमा उत्पादित स्याउ स्वेदश तथा विदेशी बजारमा चर्चित छ । गत वर्षको तुलनामा केही कम फले पनि यस वर्ष स्याउको मूल्य बढी पर्ने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई मुस्ताङले जनाएको छ । गत वर्ष मुस्ताङबाट ५ हजार ५ सय २८ मेट्रिक टन स्याउ निर्यात भएको थियो ।

गत वर्ष जिल्लाको घरपझोङ गाउँपालिकामा २ हजार ६ सय ९४, बाह्रगुङ मुक्तिक्षेत्र गाउँपालिकामा १ हजार ३ सय ७०, थासाङ गाउँपालिकामा १ हजार ३ सय ६०, लो–घेकर दामोदरकुण्ड गाउँपालिकामा १०० र लोमान्थाङ गाउँपालिकामा ३ मेट्रिक टन स्याउ उत्पादन भएको परियोजना कार्यान्वयन इकाइको तथ्यांक छ ।

मुस्ताङमा यस वर्ष पनि १२ सय हेक्टर जमिनमा स्याउ लगाइएकोमा झण्डै ५ सय हेक्टरको स्याउले उत्पादन दिने परियोजना कार्यान्वयन इकाइका नायब प्राविधिक सहायक यमुना लामाले बताउनुभयो । अहिले मुस्ताङको स्याउ खरिद गर्न विभिन्न जिल्लाबाट व्यापारी मुस्ताङ आएर क्वारेन्टाइनमा बसेको हुँदा अबको केही समयमा नै स्याउ बजारमा जाने उहाँले जानकारी दिनुभयो ।

विगतका वर्षमा तीजदेखि नै बजारमा पुग्ने मुस्ताङको स्याउ यसवर्ष भने बेनी–जोमसोम सडक अवस्द्ध हुन र कोरोनाको जोखिमका कारण मानिसको चहलपहल नहुनाले दशैं तिहारलगायत चाडपर्व ढिलो परेका कारण स्याउ बजारीकरणमा ढिलाइ भएको हो ।

यसपटक हिउँदमा अत्याधिक हिउँर वर्षात्मा भारी वर्षा भइरहेका कारण स्याउमा ढुसी लागेकाले उत्पादनमा कमी आएको मार्फाका कृषक दीपक लालचनले बताउनुभयो । बोटमै सय रुपियाँ मूल्य पर्ने ‘ए’ ग्रेडको स्याउलाई प्रति कार्टुन २२ सय रुपियाँ मूल्य तोकिएको उहाँले जानकारी दिनुभयो ।

मुस्ताङमा उत्पादित स्याउ म्याग्दीको सदरमुकाम बेनीबजार हुँदै बागलुङ, कुस्मा, पोखरा, काठमाडौं, नारायणगढ, बुटवल र भैरहवासहित विदेशका बजारमा पुग्ने गरेको छ ।. मुस्ताङमा गोल्डेन, रोयल र रेड डेलिसियस, रिचारेड तथा फुजी डेलिसियस जातका स्याउको उत्पादन हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्