वास्तविक कथामा जिन्दगी



बैतडी, (नेस)
बैतडीका दुईमहिने शिशु शिवांश अवस्थीलाई कलेजो दान गर्ने बुबा महेश अवस्थीको वास्तविक जीवनकथामा आधारित मार्मिक गीत जिन्दगी सार्वजनिक भएको छ।

गायक निशान भट्टराईको स्वरको गीतमा गायिका तथा संगीतकार कमला सापकोटाको शब्द र संगीत रहेको छ भने संगीत संयोजन महाराज थापाको रहेको छ। बैतडीस्थित रेडियो निङ्गलाशैनीका प्रबन्ध निर्देशक महेश अवस्थीका छोरा शिवांशको जन्मेको १४औं दिनदेखि कलेजोमा खराबी आई त्रिभुवन शिक्षण अस्पताल काठमाडौंको १ महिना बढी आईसीयूको उपचारपछि निको नभएपछि भारतको चेन्नाई रेफर गरिएको थियो।

चेन्नाईको रेला अस्पतालमा भर्ना गरेपछि कलेजो खराब भइसकेको र प्रत्यारोपण गर्नुपर्ने भनेपछि बुबा अवस्थीले छोरालाई कलेजो दान गरेर विभिन्न कठिनाइ पार गर्दै छोरा बचाएको समाचार निकै चर्चामा आएको थियो।

घटनाका बारेमा थाहा पाएपछि नेपाली समाजलाई प्रेरणा दिने खालको वास्तविक घटना भएकाले गीत तयार पार्न गायिका सापकोटाले पहल तथा अगुवाई गरेकी हुन्। ‘महेश, गीता दम्पतीले सन्तान प्राप्तिका लागि गरेको सघंर्ष सम्झिँदा निकै कहालीलाग्दो छ।

सोही वास्तविकतालाई म आफैं शब्द कोर्दै धुन भर्ने प्रयास गरेकी हुँ।’ –गायिका सापकोटा भन्छिन्। गीतमाथि युवराज वाइबाले म्युजिक भिडियो निर्माण गरेका छन्।

‘कलेजो काटेर दिने ती महान् पिताको वास्तविक घटनालाई भिडियोमार्फत दर्शकमाझ ल्याएका छौं। सधंैभरि पैसा मात्र पनि हेर्नुहँुदैन भन्ने हिसाबले अवस्थी परिवारलाई थोरै भए पनि खुसी दिनका लागि हामी कलाकारहरूले कोरोनाको कहरको बेला निःशुल्करूपमा यो गीत तयार पारेका हौं।’ –भिडियोका छायाँकारसमेत रहेका वाइबाले भने। भिडियोमा निर्मल न्यौपाने र रेखा घिमिरेले निकै भावुक बनाउने अभिनय गरेका छन्।

जिन्दगी युट्युबमा राखेपछि आउने रोयल्टी शिवांश अवस्थीको उपचारमा खर्च गर्ने कलाकारहरूले बताएका छन्। ‘हामीले जिन्दगी गीतलाई मेहेनत गरेर सकेसम्म राम्रो बनाउने प्रयास गरेका छौं, म आफैं पनि स्टुडियोमा गाउँदागाउँदै निकै भावुक भएँ। सबै दर्शकले मन पराइदिनुहुन्छ भन्ने आशा छ।’ –उनले भने।

प्रतिक्रिया दिनुहोस्