सदाचारी बन्नुपर्ने प्रमको सन्देश ?



केशव अधिकारी

प्रधानमन्त्री केपी शर्मा ओलीलेगत सोमबार १७ औँ निजामती कर्मचारी दिवसको अवसरमा निजामती कर्मचारीलाई लक्षित गर्दै केही सन्देश व्यक्त गर्दै हुनुहुन्थ्यो । उहाँ सम्पूर्ण निजामती कर्मचारीले आफ्ना असल आचरणमा रहेर काम गर्नुपर्ने, परिश्रमी बन्नुपर्ने, जनताका सेवक भएको भावनाका साथ काम गर्नुपर्ने आदि सन्देश दिइरहनुभएको थियो । प्रमले दिनुभएका ती सन्देशलाई कति प्रतिशत निजामती कर्मचारीले सुने, हेरे र बाँकी कति प्रतिशतले सुनेन्, हेरेनन् । सुने–हेरेकामध्ये कति प्रतिशतले प्रमका ती सुझावलाई अक्षरशः पालना गर्लान् ? बाँकी कति प्रतिशतले सुनी–देखी गरेर पनि हावामा उडाऊलान् ? भन्ने कुरो महत्वको विषय रहेको हुन्छ ।

निजामती कर्मचारी दिवसको अवसरमा प्रधानमन्त्री ओलीले कर्मचारीलाई लक्ष्य गरेर सकारात्मक सोचाइ र आचारणका बारेमा केही कुरा भए पनि बताउनुभयो । आखिर प्रधानमन्त्री ओलीका ती सुझाव आत्मैदेखि प्रकट भएका हुन् भने त यो देशलाई कसरी राम्रो र समुन्नत बनाउने भन्ने चिन्ता उहाँको हृदयभरि भरिएको रहेछ भनेर जान्नुपर्छ । तर प्रधानमन्त्रीले सर्वप्रथम आफू र आफू मातहतको सरकारमा सामेल हरेक मन्त्री, मन्त्रालयका सचिव आदिका कान–कानमा होइन उनीहरुको हृदयभर यो सन्देश पु¥याएर देशभक्त, इमानदार, कर्तव्यपरायण, स्वच्छ छवि भएको सरकारको उदाहरण बनी देखाउन सकेको भए अहिलेको सन्देश सुनमा सुगन्ध हुने थियो ।

यदाकदा निजामती कर्मचारीले यति पैसा घूस खाँदै गरेको अवस्थामा रङ्गेहात पक्राउ परेका, उनलाई अनुसन्धान गरिँदै गरेका आदि समाचार थाहा पाउँदै गर्दा हाम्रंो मानसिकतामा एउटा कुरा प्रकट हुन आवश्यक हुन्छ । त्यो कुरा हो, ती तत्–तत्का निजामती कर्मचारीलाई घूस खान कसले र कसरी सिकायो भनेर यसो विचार गर्दा जुन निजामती कर्मचारीले घूस खाएर सदाचार विपरीतको काम ग¥यो त्यस्तो काम गर्न सिकाउने अरु कोही नभएर राजनीतिक नेतृत्व स्वयंले सिकाएको हो कि त ।

राजनीतिक नेतृत्व तहसँग भन्दा निजामती कर्मचारीमार्फत जनसरोकारका धेरै क्रियाकलापहरु सम्पन्न हुने भएकाले राजनीतिक नेतृत्वले गरेको ठूलै बदमासी थाहा नपाउने जनताले पनि निजामतीले गरेको सानो बदमासी चाँडो थाहा पाउँछन् । जनताले थाहा पाइसकेपछि जनताको मन बुझाउनको लागि उसलाई रङ्गेहात पक्राउ गरेको भन्ने सानो नाटक मञ्चन गरिन्छ ।

आजसम्म निजामती कर्मचारीहरुमध्ये घूस खानेलाई रङ्गेहात समातियो भने पनि यस्तो अपराध गरेको हुनाले यस्तो कार्यवाही भयो भनेर जनताले सुन्ने र बुझ्ने भाषामा केही कुरो आएको छैन ।

निजामती कर्मचारी सदाचारी बन्नुपर्दा र इमानदार बनेर देश र जनताका काममा लाग्नुपर्दा राजनीतिक नेतृत्व र त्यसको शीतल छहारीमा बसेर कुनै कामै नगरी देशको ढुकुटी लुटेर खाने खराब आचरणलाई सदाचारमा परिवर्तन गर्नुपर्दैन ? सर्वप्रथम प्रधानमन्त्री स्वयं, त्यसपछि प्रधानमन्त्री मातहतका मन्त्री, मन्त्रालयका सचिव तथा राजनीतिक नेतृत्वको बलियो तथा फराकिलो आडभरोसा पाएको वर्ग कति सदाचारी छ भन्ने कुरो जगजाहेर छैन र नेपाली जनतालाई ?

कुनै पनि देश समृद्ध बनाउन त्यस देशका सबै तह र तप्काका मान्छेको भूमिका रहेको हुन्छ । आ–आफ्ना भूमिका निभाउने क्रममा कहीँ–कतै अलिकति तल–माथि पर्नासाथ त्यसको खराब असर देखिन थाल्छ । फलस्वरुप जनताले सकेसम्म मेहनत गरे पनि, राजनीतिक नेतृत्वले सफल नै नेतृत्व सम्हाल्न सके पनि आशातीत प्रगति हुन सक्दैन भन्ने कुरा हामीले देखेका, सुनेका र भोगेका छौँ । हाम्रो देशको सन्दर्भमा भन्ने हो भने, आमजनताले निर्वाचित गरेर पठाएको राजनीतिक नेतृत्व तहले नै लिक छोडेको मात्र होइन कि लिकलाई नै तहसनहस बनाइसकेको छ ।

वर्तमान सन्दर्भलाई नियाल्ने हो भने, विश्वव्यापी फैलिएको कोरोना भाइरसको महामारीले आक्रान्त बनाएको छ । देशमा दुई तिहाइ बहुमतको कम्युनिस्टको सरकार छ । भाइरस नियन्त्रणको सार्थक प्रयासमा लाग्नुको साटो बन्दाबन्दी गरेर नेपाली जनतालाई गुम्स्याहटमा छटपटाएर आत्महत्या गर्न विवश बनाउँदै छ । यस्तो आपतकालीन अवस्थामा समेत कम्युनिस्ट आचारणका भनाउँदा मन्त्रीहरु नै भ्रष्टाचारको गहिरो आहालमा डुबुल्की मार्न व्यस्त छन् ।

लाखौँ जनताको गरिखाने बाटो टुटेको आधा वर्ष नाघिसक्यो, खान नपाएर मर्नुको अवस्थामा रहेका बेला कम्युनिस्टकै नामी भनाउँदा नेतालाई विषालु सर्प पाल्ने धुन सवार हुँदै छ । त्यसै महान् कामका लागि सरकारी ढुकुटीबाटै करोडौँ रुपियाँ अनुदानको रुपमा दिने निर्णय गरेर भ्रष्टाचारका नयाँ–नयाँ तानाबाना बुनिँदै छन् । राजनीतिक विश्लेषकहरु भन्दै छन्– कम्युनिस्ट भनाउँदाको दुई तिहाइको सरकारले आहा भन्ने गरी एउटा सिन्को भाँच्ने कामसमेत गरेन, बरु इतिहासमै यो सबैभन्दा भ्रष्टाचारी सरकारको रुपमा नाम कमाउन सफल भयो । उनीहरुको भनाइमा कति सत्यता छ या छैन भन्ने कुरो इतिहासले बताउला तर आजको सन्दर्भमा प्रधानमन्त्रीले निजामती कर्मचारीलाई सदाचारी बन्नू भन्ने पाठ सिकाएर अर्ति दिँदै गर्दा सदाचारको मामिलामा आफू स्वयं र आफू मातहतको सरकारका मन्त्री–सचिवहरुको सदाचारितालाई कत्ति ख्याल गर्नुभएन, किन ?

अहिलेभन्दा एक वर्षअगाडितिर नेपालको राजधानीकै टुँडिखेलमा भएको इसाई धर्म सम्मेलनमा हाम्रा प्रमले भाग लिएर कुन्नि कति लाख डलर हात पार्ने काम गर्नुभएको थियो । प्रमको यो काम सदाचारी काम नै हो त ? अगुवाले पछौटेहरुलाई उपदेश दिने मात्र होइन नि, उपदेश दिएजस्तै आफू पनि बनेर देखाउन सक्नुपर्छ वा गरेर देखाउन सक्नुपर्छ ।

निजामती दिवसको अवसरमा प्रधानमन्त्रीले निजामती कर्मचारीलाई सिकाउनुभएको सदाचारको पाठ निजामती कर्मचारीका लागि मात्र होइन, हामी सबैका लागि हो । हामी सबै सदाचारी बनेर देशको उन्नतिका खातिर लाग्न सक्यौँ भने अवश्य लक्ष्यमा पुग्नेछौँ, होइन भने हाम्रो अवस्था जस्ताको तस्तै रहनेछ । समग्र उन्नतिका खातिर केवल निजामती कर्मचारी मात्र सदाचारी भएर पुग्दैन । राजनीतिक नेतृत्व सदाचारी बनेर अनियमितताका सबै प्वाल टाल्दै जाने हो भने देशको हरेक क्षेत्रको अवस्था आफैँ सुध्रेर जानेछ ।

तर अहिले भइरहेको यथार्थ कुरो के छ भने, निजामती कर्मचारीको तुलनामा पचासौँ गुणा बढी राजनीतिक नेतृत्वमा अनियमितता बढेको छ । अरुलाई उपदेश थमाउन जान्नेले आफू र आफ्नो नेतृत्वका सबैको त्यो अनियमिततालाई शून्यमा पुग्ने गरी रोकेर चुस्त बनाउन सकेको खण्डमा त्यो विचरो निजामती कर्मचारी आफैँ चुइँकिन कर लागिहाल्छ नि ! राजनीतिक नेतृत्वले जे सिकायो, निजामती कर्मचारीले त्यही कामको थोरैतिन नक्कल गरेको त हो नि ! यसो भनिरहँदा निजामती कर्मचारीले चाहिँ आचरण छोडेर काम गरे पनि हुन्छ भन्ने आशयचाहिँ पटक्कै होइन । सबै जनाले आ–अफ्नै आचरणमा बसेर काम गर्दा सबैको भलो हुन्छ र देशको समग्र उन्नति हुन्छ भने किन नगर्ने त ?

प्रतिक्रिया दिनुहोस्