प्रधानसेनापति थापाको विश्लेषण : प्रतिष्ठित सैनिकको देश सुरक्षित



नेपाल समाचारपत्र, काठमाडौं

प्रधानसेनापति पूर्णचन्द्र थापाले जुन मुलुकमा राष्ट्रिय सेनाका जवानहरु सम्मानित र प्रतिष्ठित जीवन जिउन पाउँछन् त्यस मुलुकले कसैका अगाडि दबिनुनपर्ने बताउनुभएको छ ।

‘जवानहरुले जागिर छोडेर विदेश जान चाहने, अर्को पेसाको अवसर खोजेर बस्ने अवस्था किन आइरहेछ, किनभने सेवानिवृत्त भएपछि मैले पनि ठेलागाडा चलाएर खानुपर्ने हो कि भन्ने भयानक त्रास छ।’ –प्रधानसेनापति थापाले तीतो टिप्पणी गर्नुुभयो ।

नेपाली सेनाले व्यापार ग¥यो भन्ने टिप्पणीको खण्डन गर्दै सैनिकलाई संगठनमा टिकाइराख्न र सेवाबाट अवकाश लिएपछि ठेलागाडा चलाएर खान नपरोस् भनेर कल्याणकारी कोषका लागि पारदर्शी ढंगले भएको कार्यलाई गलत अर्थ नलगाउन थापाले अनुरोध गर्नुभएको छ ।

कार्यकालको दुई वर्ष पूरा गरेको उपलक्ष्यमा बुधबार सैनिक मुख्यालय, भद्रकालीमा सम्पादकहरुको अन्तक्र्रियामा थापाले यस्तो अनुरोध गर्नुभएको हो ।

‘नेपाली सेना राष्ट्र र नेपाली जनताको सुरक्षाका लागि जुनसुकै मोर्चामा लड्छ । तर, यी मोर्चामा लड्न जाने सैनिकले आफँ मरेपछि आफ्नो परिवारको हविगत के होला भनेर सोच्छ, यो मानवीय स्वभाव हो । कल्याणकारी कोषबाट सहयोग हुन्छ भनेपछि ऊ अझ बहादुरीका साथ लड्छ’, प्रधानसेनापति थापाले भन्नुभयो– ‘यही प्रयोजनका लागि ज्यान हत्केलामा राखेर शान्ति सेनालगायतका मोर्चामा गरेको कामबाट आएको सीमित रकमबाट कोष बनाइएको छ, त्यस कोषलाई उत्पादनशील कार्यमा लगाएर सैनिकको आर्थिक पक्ष अत्यन्त कमजोर नहोस् भन्ने प्रयास गरिएको मात्र हो ।’

‘यस संगठनमा सैनिकलाई टिकाइराख्न कति गाह्रो छ, संगठन प्रमुखका नाताले मलाई जति अरुलाई के थाहा होला?’, थापाले भन्नुभयो– ‘सैनिकको जागिर छोड्दै विदेशमा मजदुरी गर्न जानेको भीड नबढोस् भनेर वृत्ति विकासका लागि कल्याणकारी कोषको व्यवस्था भएको हो।’

प्रधानसेनापति थापाले जागिर छोडेर समाजमा बस्ने भारतीय गोर्खा, बेलायती गोर्खा र सिंगापुरमा रहेर काम गर्ने नेपालीसँग दाँजेर नेपालकै माटोका लागि लडेका सैनिकको सामाजिक प्रतिष्ठा हेरिने, तर आर्थिकरुपले कमजोर भएका कारण नेपाली सैनिकले लघुताभाष गर्नुपर्ने अवस्थाको उहाँले चित्रण गर्नुभयो ।

यी सबै विषय राज्यले हेनुपर्ने हो, सरकारले व्यवस्था गर्नुपर्ने हो, तर सरकारको स्रोत–साधन पनि सीमित भएकाले नेपाली सेना स्वयं सैनिकको आर्थिक सुरक्षाका विषयमा पनि लाग्नुपरेको उहाँले प्रस्ट पार्नुभयो ।

नेपाली सेनामा उच्चपदस्थ सैनिक अधिकृतको सम्पत्ति विवरण सार्वजनिक गर्ने अभ्यास थालेर सांगठनिक पारदर्शिता र नागरिकको सँचनाको हकका लागि स्यावासी बटुलेका प्रधानसेनापति थापाले बुधबारै रथीवृन्द, अधिकृत, पदिक र अन्य दर्जाका सैनिकलाई सम्बोधन गर्नुभएको थियो । त्यस सम्बोधनमा पनि उहाँले संस्थाको शुद्धीकरणका लागि भएका कार्यको उल्लेख गर्नुभयो ।

‘जनशक्ति व्यवस्थापनका छिद्रहरुलाई नीतिगत हस्तक्षेपमार्फत नियमबद्ध बनाइएपछि भर्ना, सरुवा, नियुक्ति, काज र बढुवा, तालिम, शान्ति सेनालगायतका अवसर आदिमा आएको पारदर्शिता र बहु–जिम्मेवार सिपाहीको अवधारणाले बहुसीपमा आधारित व्यक्तित्व विकासको आयाम खुला भएको छ।’ –थापाले भन्नुभयो ।

भनसुन, लेनदेनलगायतका स्थिति जनशक्ति व्यवस्थापनका लागि सधैंका समस्या र चुनौतीहरु रहेको तर अहिले लगभग नेपाली सेना यी समस्याबाट मुक्त भइसकेको दावी पनि गर्नुभयो ।

नेपाली सेनाकै चरित्र हत्या गर्ने र गर्न सक्ने अन्य केही पेचिला विषयहरु जस्तैः राशन व्यवस्थापन, भौतिक संरचनाको निर्माण, अपारदर्शी र अमर्यादित खर्च, पदीय जिम्मेवारी बहन गर्ने कार्यमा जबाफदेहिताको अभावजस्ता विषयमा लिइएका रणनीतिले पनि अपेक्षित र सकारात्मक परिवर्तन देखाएका छन् भन्ने टिप्पणी गर्दै थापाले भन्नुभयो– ‘तर रोग पँर्णरुपमा निको भइसकेको छैन।’

प्रधानसेनापति थापाले कोभिड–१९ को रोकथाममा नेपाली सेनाले आफ्नो तर्फबाट अत्यन्त इमानदारीका साथ सक्रिय भएर काम गरेको उल्लेख गर्दै यस प्रयोजनका लागि सघाउने सबै पक्षलाई धन्यवाद पनि दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्