नारायणगढ मुग्लिङ सडककै मोडेलमा मालढुंगा-बेनी सडक बिस्तार हुने



दुर्गाप्रसाद शर्मा, पर्वत  ।

पछिल्लो समयमा मुग्लिङ – नारायणगढ सडक भनेपछि चिल्लो, चौडा र आकर्षक सडकको रुपमा सबैका अनुहारमा आउँछ । त्यही आकर्षक मुग्लिङ नारायणगढ सडककै मोडेलमा नै पर्वतको मालढुंगा देखि म्याग्दीको बेनी सम्मको १३ किलोमिटर सडक बिस्तार हुने भएको छ ।

उत्तर दक्षिण जोड्ने कालीगण्डकी करिडोर अन्र्तगत मालढुंगा–बेनी सडकलाई दुई लेनमा बिस्तार गरि कालोपत्रे गर्न लागिएको हो । उत्तर दक्षिण कालीगण्डकी करिडोर आयोजना कार्यालय मुस्ताङ्गले दिएको जानकारी अनुसार यो खण्डको स्तरोउन्नतीका लागि अर्थमन्त्रालयले बहुबर्षिय ठेक्काका लागि स्विकृति दिएको छ । ‘स्तरउन्नतीका लागि बहुबर्षिय ठेक्का आब्हान गर्न अर्थमन्त्रालयले स्विकृति दिएको छ।’ आयोजना प्रमुख अशोक तिवारीले भन्नुभयो ‘अब ठेक्का आब्हानका लागि प्रकृया शुरु गर्छौ, दशै लगत्तै ठेक्का आब्हान हुन्छ।’

आयोजना कार्यालयका अनुसार मुग्लिङ – नारायणगढ सडककै मोडेलमा यसलाई स्तरउन्नती र बिस्तारको काम हुनेछ । यो सडक डबल लेन, र एस्पाल्ट ब्लाक टप मोडेलमा बिस्तार गर्न लागिएको छ । बिस्तारका लागि मन्त्रालयले झण्डै ९९ करोड रुपैया बजेट स्विकृत गरेको छ । सडकस्तर उन्नतीका लागि आर्थिक बर्ष २०७६/०७७ कै बजेट भाषणमा बजेट बिनियोजन भएको थियो । अहिले स्टिमेट स्विकृत गराउने काममा लागि रहेको आयोजना प्रमुख तिवारीले बताउनुभयो । पर्वतको कुस्मा नगरपालिका र जलजला गाउँपालिकामा सडक बिस्तारको काम हुनेछ । स्थानियस्तरमा जग्गाको बिबाद नरहेको र बिद्युतका पोल हटाउनका लागि नेपाल बिद्युत प्राधिकरण , पर्वत बितरण केन्द्रलाई पत्राचार गरिएको उहाँले बताउनुभयो ।

तिब्बतको सिमानामा पर्ने उत्तरको कोरल्ला नाका देखि दक्षिणको सुनौली सम्म जोड्ने कालीगण्डकी करिडोर अन्र्तगत पर्वतको मालढुंगा देखि म्याग्दीको सदरमुकाम बेनी सम्मको खण्डको रुपमा यो सडक नै कायम भएको छ । यस अघि म्याग्दीको बेनी देखि मुस्ताङ्गको जोमसोम हुँदै कोरल्ला सम्म र मालढुंगा देखि बागलुङ्ग र पर्वत तर्फबाट समानान्तर रुपमा सडकको काम भैरहेको थियो । मालढुंगाबाट बेनी पुग्नका लागि मालढुंगा – बेनी सडक वा बागलुङ्ग तर्फबाट कालीगण्डकी किनारै किनार सडक बनाउने भन्ने बिषय अन्यौलमा नै थियो । मालढुंगा – बेनी सडक स्तरोउन्नतीका लागि एक अर्ब बजेट बिनियोजन तथा कालिगण्डकी करिडोरको रुपमा बिकास गर्न राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पहल गर्नुभएको थियो । उहाँको निरन्तरको पहलपछि सडक बिस्तारका काम हुन थालेको उहाँको सचिबालयले जनाएको छ।

आयोजना कार्यालयका अनुसार २०४८ सालमा म्याग्दीको सदरमुकाम बेनी जोड्नका लागि यो सडक ‘कामका लागि खाद्यान्न’ कार्यक्रम अन्र्तगत शुरु भएको थियो । त्यसपछि मालढुंगा –बेनी –दरबा– सडक आयोजनाका रुपमा यसमा काम भएको थियो भने पछिल्लो समय डिभिजन सडक कार्यालय बागलुङ्गले मर्मतको काम गर्दै आएको छ । अब भने कालीगण्डकी करिडोर अन्र्तगत स्तरउन्नती हुनेछ । यो सडक स्तरउन्नती भएपछि मुस्ताङ्ग जाने पर्यटक र पर्वत, म्याग्दी र मुस्ताङ्गका बासिन्दा प्रत्यक्ष लाभान्वित हुनेछन ।

प्रतिक्रिया दिनुहोस्