बनेपामा ‘गर्भवति र सुत्केरी’ को नि:शुल्क कोरोना विमा



मोतिराम तिमल्सिना, काभ्रे । 

बनेपा नगरपालिकाले उपमेयरसँग महिला कार्यक्रम अन्र्तगत नगरपालिकाभित्र रहेका गर्भवती र सुत्केरी महिलाहरुको निःशुल्क कोरोना वीमा गर्ने निर्णय गरेको छ । बुधबार एक कार्यक्रमका बीच वीमा कम्पनीसँग नगरपालिकाले नि:शुल्क वीमाका लागि सम्झौता गरेको छ ।

उपमेयर रेखा सापकोटा दाहालले जोखिममा रहेका महिलाहरुका लागि कोरोना वीमाले थप हौसला प्रदान गर्ने बताउनु भयो । नगर प्रमुख लक्ष्मीनरसिं बादे श्रेष्ठले नगरपालिकाले जोखिम अवस्थामा रहेका महिलाहरुको कोरोना वीमा गर्ने निर्णय गरेको बताउनु भयो ।

जनप्रतिनिधि, कर्मचारीहरुको वीमासँगै गर्भवती र सुत्केरी महिलाहरुको कोरोना वीमा गरेको नगरपालिकाले जानकारी दिएको छ । परिवार परिवारको बीमा सहकारी तथा विभिन्न संघ संस्थाहरुको समन्वयमा वीमा गर्ने कार्य शुरु गरिएको छ । वडाअध्यक्षतथा संघ संस्थाको पहलमा उक्त कार्य भईरहेको नगर प्रमुख लक्ष्मी नरसिं बादे श्रेष्ठले बताउनु भयो । नगर भित्रका १४ वटा वडामा गर्भवती २ सय ३५ भन्दा धेरै र डेढ महिनाका सुत्केरी १ सय ६५ भन्दा धेरैको कोरोना वीमा नि:शुल्क गर्ने सम्झौता गरेको हो । प्रमुख प्रशासकीय अधिकृत कविराज उप्रेतीले नगरपालिकाभित्र रहेका गर्भवती र सुत्केरी महिलाको कोरोना वीमा निःशुल्क गरी रोगसँग लड्ने मानसिकता बृद्धि गरिएको बताउनु भयो । त्यसको अलावा नगरपालिकाले वडा कार्यालयहरु मार्फत विभिन्न संघ संस्थाको पहलमा पारिवारीक वीमामा जोड दिएको बताउनु भयो ।

कोरोना महामारीसँग बचाउन नगरपालिकाले गर्भवती र डेढ महिनाका सुत्केरी महिलाको तथ्याङ्क संकलन गरी वीमा गर्ने कार्यक्रम शुरु गरेको नगर उपप्रमुख रेखा सापकोटा दाहालले बताउनु भयो । वीमा कम्पनीले ३ सय रुपैयाँ तिरेपछि एक लाख रुपैयाँको वीमा गरिदिने छ । वडावडा मार्फत वीमा कम्पनीले नगरपालिकाले उपलब्ध गराएको सूचीका आधारमा वीमा गरिदिनेछ । कोरोना संक्रमण देखिएमा कम्पनीको तर्फबाट गर्भवती र सुत्केरी महिलाले एक लाख रुपैया प्राप्त गर्ने छन् । त्यसका लागि नगरपालिकाले आवश्यक पर्ने प्रति ब्यक्ति ३ सय रुपैयाँका दरले प्रिमियम तिरिदिने छ । नगरपालिकामा झण्डै दुवै समूहका ४ सय भन्दा धेरै महिलाहरुको वीमा गर्ने गरी तयारी गरिएको उपप्रमुख रेखा सापकोटा दाहालले बताउनु भयो । बनेपा नगरपालिकाले उपप्रमुखसँग महिला कार्यक्रम अन्र्तगत यो वर्ष महिलाहरुको वीमा गराएको उहाँले बताउनु भयो ।

जनप्रतिनिधिहरु निर्वाचित भएलगत्तै जनप्रतिनिधि महिलाहरुलाई अधिकार, कर्तब्य र जिम्मेवारीसँगै ऐन, कानुन र स्थानीय सरकारका बारेमा प्रशिक्षण गराईएको उपप्रमुख रेखा सापकोटा दाहालले बताउनु भयो । त्यस लगत्तै महिलाहरुका लागि कानुनी शिक्षा, महिला हिंसा विरुद्धको अभियान, किशोरी शिक्षा, साईवर कानुन, बदलिएको अवस्थामा सुचना प्रविधिबाट हुन सक्ने अपराध र त्यसबाट बच्ने उपाय र कानुनी कारवाहीको प्रकृया, बालविवाह न्यूनिकरण गर्न अभिभावक र बालबालिकाहरुसँग अन्र्तक्रिया र जनचेतनामुलक कार्यक्रम, उपभोक्ता समितिमा महिलाहरुको नेतृत्व, कृषक समुहहरु गठन गरी महिलाहरुको सक्रिय सहभागिता गराईएको छ ।

बनेपा नगरपालिकाभित्र रहेका कृषि समुहहरु मध्ये महिलाहरु मात्रै सहभागि भएका २६ वटा समुहमा ५ सय ६५ महिला सक्रिय छन् । कृषिसँग सम्वन्धित रहेर तालिम, गोष्ठी, आधुनिकिकरण, औजार वितरण तथा अन्य गतिविधिहरु भईरहेका छन् । महिलाहरुलाई सशक्तिकरण गरी आत्मनिर्भर बनाउने अभियानमा नगरपालिकाले विभिन्न कार्यक्रम गरिरहेको नगर उपप्रमुख रेखा सापकोटा दाहालले बताउनु भयो । अभियानका कारण बालविवाह न्यूनीकरणमा सहयोग पुगेको छ भने न्यायिक समितिमार्फत पारिवारीक मिलन, महिलामाथी हुने विभेद र हिंसाको न्युनिकरणमा समेत सहयोग पुुगेको छ ।

प्रतिक्रिया दिनुहोस्