धुलिखेलस्थित काभ्रेभञ्ज्याङको एकै टोलमा २५ कोरोना संक्रमित भेटिए, सिङ्गो वडा नै सिल



मोतिराम तिमल्सिना, काभ्रे ।

धुलिखेल नगरपालिका वडा नम्बर ९ स्थित काभ्रेभञ्ज्याङको एउटै टोलमा २५ जना कोरोना संक्रमित भेटिएका छन् ।

उनीहरुमा ज्वरो र संक्रमणका लक्षण देखापरेसँगै कोरोना परीक्षण गरिएको थियो । जसमा एकै टोलका २५ जनाको रिपोर्ट पोजिटिभ आएको छ । संक्रमित हुने हरुमा ९ वर्षका बच्चा देखि ८० वर्षसम्मका वृद्ध रहेका छन् । यस अघि सोही स्थानका केही व्यक्तिमा कोरोना पुष्टि भएको थियो । ठूलो संख्यामा संक्रमित फेला परेसँगै सो वडा सिल गरिएको छ ।

यस्तै, संक्रमितलाई उपचारका लागि धुलिखेल अस्पताल र नगरपालिकाको आइसोलेसन लैजाने तयारी भइरहेको छ । नगरपालिका प्रमुख अशोक कुमार व्याञ्जु श्रेष्ठले थप संक्रमण फैलिन नदिन बाँकी सबैको परीक्षणका साथसाथै छलफल र डिस्इन्फेक्सन छर्किने काम अघि बढाइएको बताउनु भएको छ ।

हालसम्मको विवरण अनुसार धुलिखेल नगरपालिकामा संक्रमितको संख्या ९१ पुगेको छ ।

यस्तै, स्वास्थ्य कार्यालय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक नरेन्द्र कुमार झाले काभ्रेमा संक्रमितको संख्या ३६३ पुगेको जानकारी दिनुभएको छ । संक्रमितको संख्या बढेसँगै संक्रमण फैलिन नदिन स्वास्थ्य कार्यालयले स्थानीय सरकारसँग समन्वयन गरी आवश्यक कार्यक्रम अघि बढाएको झाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्