महामारीभन्दा तनावले पारेको गम्भीर असर



टंक पन्त

कोरोना परीक्षण गराएको तीन दिनपछि रिपोर्ट रेडी भएको म्यासेज मेरो मोबाइलमा आउनासाथ मेरो हात नै काम्यो । लामो सास फेर्दै मोबाइलको म्यासेज खोलेर युजर आइडी र पासवर्ड हाल्न प्रयास गरें तर युजर आइडी नं. सही हाने पनि पासवर्ड दुईपटक गल्ती हानेंछु । किन मिलिरहेको छैन, मैले त जे छ त्यही हानेंजस्तो लाग्छ, के भएको होला ? भनी टोखा नगरपालिका–६, धापासीमा कोरोना परीक्षण संयोजन गर्नुहुने सञ्जय कुँवरलाई फोन गर्नुपर्ने भो भनेर मोबाइल नम्बर खोज्दै थिएँ । मोबाइल टिपेको डायरी पनि कता मिस प्लेस भएछ । पुनः पासवर्ड हान्न खोज्दा त अंग्रेजी अक्षर ‘पीएएन्टीए’ हान्नुपर्नेमा ‘पीएएस्एस्’ पो हानेको रहेछु, अनि किन मिल्थ्यो र ? त्यतिखेरसम्म मेरो दिमागले अनेक सोचिसकेको थियो । हात कामी नै रहेका थिए ।

किनकि ११ दिनदेखि घरमा कोरोना महामारीभन्दा मानसिक तनावले निकै सताएको थियो । जब सही पासवर्ड हानेर हेरें, रिजल्ट नेगेटिभ आएको रहेछ । त्यसपछि बल्ल दिमागले काम गर्न थालेको अनुभूति भयो । खुशीको सीमा नै भएन । पहिलो खबर छोरा ईशानले पाए । छोरा खुशीले बुनु दिदी, मामु भन्दै चिच्याए । उनी सँगै थिए अनि अर्को कोठामा रहेकी छोरीलाई बोलाएर भने । श्रीमती मीना शर्मालाई बोलाए । उनी र छोरी अंकमाल गरी खुशी साटासाट गरे । मेरो आँखा पनि खुशीले रसाए । छोरीले मणिग्राम, शंकरनगर, वीरगन्जलगायतका ठाउँमा रहनुभएका आफन्त परिवारजनमा खुशीको खबर गरिन् ।

परिवार र आफन्तजनको गु्रपमा पनि कोरोनाको नतिजा रिपोर्ट कपी गरेरै हालियो । जुन बेलासम्म अर्थात् ११ दिनसम्म मणिग्रामबाट छोरी, नातिनीलाई किन पठाइयो होला भनी निकै चिन्ता भैरहेको थियो भने बिरामीसँग उनलाई किन लगेको होला भनेर गुल्मीबाट बडेपापाले पनि भनिरहनुभएको थियो ।

कुरा थियो छोरी इशिका ११ दिनअगाडि बुटवलबाट काठमाडौं आएकी थिइन् । मेरी श्रीमती मीना शर्माको ठूलो मम्मी ओमकला कण्डेललाई अन्य रोगको उपचारका लागि ल्याइएको एम्बुलेन्समा छोरी पनि आएकी थिइन् । काठमाडौं आएपछि अन्य उपचारका लागि भर्ना गरिएकी ठूलो मम्मीलाई कोरोना संक्रमण भएको देखियो । अनि हाम्रो परिवारमा पनि एउटा वज्रपातजस्तै भयो । हुन त कोरोना महामारीको असर विश्वव्यापीरुपमा छ । नेपालमा पनि यसको असर परेको छ । यसले नेपालमा हजारौं प्रभावित भएका छन् ।

त्यसको समाचार म पत्रकार भएको हुनाले विगत ६ महिनादेखि बनाउँदै आएको पनि हो । अनेक पीडा पनि देखेकै हो तर घर–परिवारमा नै परेपछि त्यसले थप पीडा दिने रहेछ । त्यो पीडा कोरोना महमारीले भन्दा अन्य कारणले परेको हो । वास्तवमा मैले सोचें, आज मलाई जस्तै पीडा हुने कति छन् ? अहोरात्र कोरोना नियन्त्रण र व्यवस्थापनका लागि खटिने सुरक्षा निकाय, कर्मचारी, जनप्रतिनिधि, चिकित्सकलगायतका परिवारमा पनि हरेक क्षण अनेक पीडाको भारी बोकेको हुनुपर्छ ।

कोरोना महमारीभन्दा तनाव बढी हुनुको कारण हाम्रो समाज र समुदायको प्रवृत्ति हो । हामीले छोरीलाई घरमै पूर्णरुपमा सुरक्षित ढंगले आइसोलेसनमा राखेका थियौं । यदि उनलाई पनि कोरोना देखियो भने पनि घरमै राखेर कोरोना नेगेटिभ आउने गरी सतर्कताका साथ केयर गरिरहेका थियौं ।

हामीले एक किसिमले जे भए पनि जित्न सक्छौं भन्ने आत्मबल बढाउन अनेक प्रयास गरेका थियौं । पाँचौं दिनसम्म त निकै तनाव भएको थियो । किनकि जे लक्षण दखिने हो त्यो पाँचौं दिनसम्म देखिन्छ भन्ने कुरा सुनेको हो । जब पाँचौं दिनसम्म पनि कुनै लक्षण नदेखिएपछि हामी धेरै हदसम्म ढुक्क थियौं तर आशंका थियो नै । बिरामीसँगै आएका कान्छा छोरा नेत्र कण्डेलको रिपोर्ट नेगेटिभ आइसकेको थियो ।

मैले कोरोना देखिएपछि ठूलो मम्मीलाई पाटन अस्पतालमा भर्ना गर्न चार घण्टासम्म भएको सास्तीका बारेमा लेखेको लेख पढेर प्रतिष्ठित मेडिकल चिकित्सक भएर पनि कोरोना महामारीबाट बच्न प्राकृतिक चिकित्सा पद्धति पनि अँगाल्न, प्रयोग गर्न आमनागरिकलाई मिडियामार्फत सिकाइरहनुभएका डा. सुन्दरमणि दीक्षितले छोरीलाई लक्षण नदेखिए पनि परीक्षण गराउन सुझाव दिनुभयो । नगरपालिकाका प्रमुख प्रकाश अधिकारी र उपप्रमुख ज्ञानमाया डंगोलसहितका सम्बद्ध वडाका जनप्रतिनिधिसमेतले पनि चासो राख्नुभएपछि मैले छोरीलाई ग्रान्डी अस्पतालनजिक राखिएको परीक्षण केन्द्रमा लगेर स्वाब दिन लगाएको थिएँ ।

त्यतिखेरसम्म गाउँमा निकै हल्ला भैसकेको थियो । कसैले भन्न पनि नसक्ने तर पत्रकारको घरमा कोरोना देखियो रे, पत्रकारका आमा–छोरीलाई नै देखियो रे जस्ता कुरा साँझ–बिहान बाहिर निस्कँदा हुने दुई–चारजनाको भेटमा हुँदो रहेछ । मैले गाउँमा हुने गरेका गाइँगुइँ थाहा पाइरहेको थिएँ तर मैले कसैलाई जवाफ दिँदै हिँड्न उचित ठानिन । जवाफ पनि कसैले सोधेको भए पो दिनु र ? त्यो गाउँमै अनावश्यक तनाव भयो ।

निषेधाज्ञाले गर्दा दिनभरि घरमा थुनिन बाध्य भएकाहरु साँझ एक चरण घरबाहिर फ्रेस हुन निस्केको भन्ने अनि यस्तै अनुमान र हल्लालाई विषय बनाएर समय व्यतीत गर्ने । जसले गर्दा समुदायलाई त्रास बनाएको अनुभूति मैले गरें । जति कुरा मैले बाहिर गाइँगुइँ सुनें, त्यो कुरा थप तनाव हुन्छ भनेर घरमा पनि भनिन । जब रिजल्ट नेगेटिभ आयो, त्यसपछि मात्र शेयर गरें । त्यसैले कोरोना महमारीले भन्दा समुदायमा अनावश्यकरुपमा गरिने हल्लाले बढी तनाव दिइरहेको छ । मेरो परिवार एउटा प्रतिनिधिमूलक घटना मात्र हो, यस्तो सबैतिर भैरहेको छ ।

कन्ट्याक्ड ट्रेसिङमा पर्दा त यति विधि गरिन्छ भने कोरोना पुष्टि भएपछि ती बिरामीका परिवारप्रति समाजले हेर्ने दृष्टिकोणले पनि बढी पीडा दिने गरेको छ । बिरामी र परिवारमा आत्मबल बढाउन सहयोग गर्नुपर्नेमा उल्टै गलत दृष्टि लगाउने जुन खालको प्रवृत्ति छ, त्यसको अन्त्य गर्न हामी सबैले आ–आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्छ । अन्य जटिल रोग नलागेको भए कोरोना मात्र लागेर मरिँदैन र अहिलेसम्म नेपालको हकमा त्यस्तो घटना छैन भन्दा पनि हुन्छ । सुरक्षित ढंगले आइसोलेसनमा बस्ने र तातो पानी, दुध, बेसार र अन्य घरमै तयार गर्न सकिने गुर्जोलगायतको नियमित सेवनले कोरोनाको उपचार घरमै पनि गर्न सकिन्छ ।

तर घरमै कोरोनाको उपचार गराएको जानकारी पाएमा हाम्रो समाजको सोचाइ र प्रवृत्ति यति रुखो हुन्छ कि त्यसको कुनै सीमा नै हुँदैन । त्यसैले परिवारविना अस्पताल गएर बस्नुपरेको छ । परिवारबाट टाढा हुँदा अर्थात् कोरोनाको उपचारबाट नफर्केसम्म परिवारले भेट्ने कुरा असम्भव हुँदा त्यो बिरामीलाई थप पीडा हुने र आत्मबल कमजोर हुने रहेछ । त्यो कुराको अनुभूति मैले ठूलो मम्मी ओमकला कण्डेलसँग नियमितरुपमा मोबाइलमा कुरा गर्दा पाउँथें ।

शुरुका दिनमा त पाटन अस्पतालका नर्सहरुले रिक्स लिएर कोरोना उपचार गराइरहेकी आमासँगै बसेर स्याहारसुसार गर्न दबाबसमेत दिए । बूढी मान्छेलाई गाह्रो भो भन्दै खबर गर्न थाले । अनि हामीले के उहाँसँग बस्ने अनि उहाँ सन्चो भएर फर्केपछि उहाँकै छोरा–बुहारी हुँदै कण्डेल परिवार, नातेदारले त्यो बेड अक्कुपाइ गरिरहने हो र ? भनी मैले आफ्नो परिचय दिएर कुरा गरें । अनि कुरा मिलाउँदै हामीले भनेको होइन, आमाले भनेर मात्रै कुरा गरेको बताए । त्यसपछि बल्ल बस्न त मिल्दैन भन्ने जवाफ आयो र बिरामीको हेरविचारमा कुनै कमी हुन दिएनन् ।

चिकित्सक नर्सका पनि समस्या होलान्, यो संकटमा आफ्नो ज्यान बाजी थापेर उपचारमा लागेका छन् । त्यसमा कुनै विवाद छैन । त्यसका लागि सलाम गर्नुपर्छ । तर कुनै पनि बहानामा कोरोनाको बिरामीसँगै बस भन्नु त भएन नि । अन्यत्र पनि त्यस्तो छ भने हुन दिनुहुँदैन ।

समाजमा हुने गाइँगुइँको हल्लाले जति पीडा दियो त्यत्तिकै रुपमा आफन्त, नातेदार, साथीहरु, मान्यजन, स्वदेशदेखि विदेशमा रहनुभएका सयौं जनाले फोन गरेर म र मेरो परिवारप्रति राख्नुभएको चासो एवं सरोकारले आत्मबल बढाएको थियो । निषेधाज्ञाका बीच पनि कतिपय साथीहरु घरमै आउनुभयो । त्यसका लागि हाम्रो परिवार आभारी छ । वास्तवमा कोरोनाको संक्रमण नदेखिए पनि कन्ट्याक्ड ट्रेसिङमा परेको परिवारमा केही दिन के देखिने हो भन्ने पीडा भयो ।

बरु आफैंलाई भएको भए जसोतसो हुन्थ्यो, सहिन्थ्यो र फेस गरिन्थ्यो । तर घरका बालबच्चामा आइपर्ने कुनै पनि नराम्रो घटनाले बढी पीडा दिँदो रहेछ । ठूलो मम्मीलाई पोजेटिभ देखियो भनेपछि साँझ–बिहान गुर्जो, अन्य आयुर्वेदिक मसलासहितको ज्वानो–पानी, बेसार–पानी, दुध–बेसार खाने काम भयो भने तातो पानी त सकेसम्म धेरै खाइयो । प्रत्येक दिन साँझ स्टिम पनि लिइयो । किनकि कारोना महामारीभन्दा कोरोना पोजेटिभ देखियो भने समाजको हेराइ र बुझाइ कस्तो हुने होला भन्ने चिन्ता सबैभन्दा बढी थियो ।

कोरोना महामारी एउटा सरुवा रोग हो । त्यसलाई हामीले सहजरुपमा लिएर आत्मबल बढाउने काम गर्नुपर्छ । कसैलाई पनि ए त्यसको परिवारमा कोरोना लागेछ भनेर त्रसित बनाउने काम गर्नुहुँदैन । डेरामा बस्नेहरुलाई घरबेटीले ढाडस दिनुपर्ने समयमा उल्टै नकारात्मक दृष्टिले हेरी कोठामा बस्न नमिल्ने तहसम्मको कुरा गर्ने गरिएको छ । यो आफैंमा अत्यन्त घातक पक्ष हो । त्यस्तो कार्य जो–कसैबाट नहोस् । यही मेरो पनि कामना !

प्रतिक्रिया दिनुहोस्