रोनाल्डोको १०१ गोलमा पोर्चुगलको जित



एजेन्सी ।

पोर्चुगिच कप्तान क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा १०१औं गोल पूरा गर्दा पोर्चुगलले जित हासिल गरेको छ ।

युइएफए नेसन्स लिगअन्तर्गत मंगलबार राति भएको समूहको दोस्रो खेलमा स्वीडेनमाथि एकपक्षीय जित निकाल्दा रोनाल्डोले दुई शानदार गोल गरेसँगै उनले राष्ट्रिय टिमबाट १०१औं गोलको आंकडा कटाएर इतिहास रचेका छन् ।

अवे मैदानमा पोर्चुगललाई जिताउन ३५ वर्षीय रोनाल्डो नायक बने । टोलीका लागि दुवै गोल उनको नाममा रह्यो । उनले पहिलो हाफको ४५औं मिनेटमा फ्रि किकबाट शानदार गोल गर्दै १ सय गोल पूरा गरे । उनले २८ मिटर दूरीबाट हानेको फ्रि-किकलाई स्वीडेनका गोलकिपरले रोक्ने कुनै मौका नै पाएनन् ।

रोनाल्डोका लागि सो गोल अन्तर्राष्ट्रिय करिअरको १ सयौं गोल बन्यो । रोनाल्डोको फ्रि-किक मार्फत समग्रमा ५७औं गोल हो भने पोर्चुगलको तर्फबाट दसौं गोल हो ।

त्यसअघि घरेलु टोली स्वीडेन खेलको ४४औं मिनेटमा १० खेलाडीमा सिमित भएको थियो । मिडफिल्डर गुस्ताभ स्भेन्सले दोहोरो पहेंलो कार्डका साथ रातो कार्ड पाएर मैदान छाडेपछि स्वीडेन दोस्रो हाफमा १० जनामा सीमित भएर खेलेका थिए ।

यता, पोर्चुगलका प्रमुख खेलाडी मिडफिल्डर बर्नान्डो सिल्भा पहिलो २२औं मिनेटम चोट बोकेर मैदान छाड्दा उनको स्थानमा गोनकालो गुडेस मैदान छिरेका थिए ।

त्यसपछि ७२औं मिनेटमा रोनाल्डोले खेलको दोस्रो तथा करिअरको १०१औं अन्तर्राष्ट्रिय गोल पनि गरे । उनले पोर्चुगलको राष्ट्रिय टिमबाट आफ्नो १ सय ६५औं खेलमा १ सय १ गोल पूरा गरेका हुन् । डी-बक्स बाहिरबाट जुआओ फेलिक्सको पासमा उनले गरेको शक्तिशाली प्रहारमा बलले गोलपोस्टको तल्लो बार च्याप्दै जाली चुमेको थियो । त्यसपछिको बाँकी समयमा दुवै टोलीबाट गोल भएन र खेल पोर्चुगलले २-० ले जित्यो । जितपछि पोर्चुगल लिग ए–समूह ३ को शीर्ष स्थानमा छ ।

यसै समूहको अर्को खेलमा फ्रान्सले पनि क्रोएसियामाथि रोमाञ्चक पुनरागमन जित निकाल्यो । सन् २०१८ को विश्वकपका फाइनालिस्ट टोली दुई वर्षपछि नेसन्स लिगमा भिड्दा पनि सोही गोलअन्तरकै नतिजा निस्केको छ । फ्रान्सले पाहुना टोली क्रोएसियालाई आफ्नै भूमिमा ४–२ ले हरायो ।

खेलमा कूल ६ गोल भएकोमा फ्रान्सले १ गोल उपहार पायो । फ्रान्सका लागि एन्टोनी ग्रीजम्यान, डायोट युपामेकानो र ओलिभर जिरुडले गोल गरे । यता, क्रोएसिायका लागि डेजन लोभ्रेन र जोसिप ब्रेकालोले गोल गरे भने क्रोएसियाका डोमिनिक लिभाकोभिचले एक आत्मघाती गोल गरेका थिए ।

खेलमा क्रोएसियाले १६औं मिनेटमा अग्रता लिएको थियो । सो गोल डेजनले गरेका थिए । तर, फ्रान्सले ४३औं मिनेटमा ग्रीजम्यानको गोलबाट खेल बराबरीमा ल्यायो । लगत्तै पहिलो हाफको इन्जुरी समयमा क्रोएसियाका लिभाकोभचले आत्मघाती गोल गरेपछि फ्रान्सले पहिलो हालसम्म २–१ ले अग्रता बनायो ।

त्यसपछि क्रोएसिया पुन: खेलमा फर्कियो । ५५औं मिनेटमा ब्रेकालाले गोल गर्दै खेल २–२ को बराबरीमा ल्याएका थिए । तर, ६५औं मिनेटमा डायोट युपामेकानोले गोल गरेर फ्रान्सलाई ३–२ ले अघि पारे । खेलको ७७औं मिनेटमा फ्रान्सले पेनाल्टी पायो, जसमा सब्सिच्युट खेलाडी ओलिभर जिरुडले गोल गर्दै फ्रान्सको जित ४–२ ले पक्का गरे ।

जितपछि फ्रान्स लिग ए–समूह ३ को दोस्रो स्थानमा छ । फ्रान्सले खेलेका दुवै म्याच जितेको छ । समूहमा दुवै खेल जितेको पोर्चुगल ६ अंकसहित शीर्ष स्थानमा रहेको छ । समान अंक रहे पनि गोलअन्तरमा फ्रान्सभन्दा पोर्चुगल अगाडि रहेको छ ।

मंगलबारै भएको अर्को खेलमा बेल्जियमले पनि फराकिलो गोलअन्तरको जित दर्ता गरेको छ । समूहको दोस्रो खेलमा बेल्जियमले आफ्नो घरेलु मैदानमा आइसल्यान्डविरुद्ध ५–१ को पुनरागमन जित निकालेको हो ।

बेल्जियमले एक गोलले पछि परेको अवस्थालाई उल्टाएर फराकिलो जित निकालेको हो । खेलको १०औं मिनेटमा पाहुना टोली आइसल्यान्डका लागि होल्मवर्ट फ्रिजोनसनले गोल गरेर घरेलु टोलीलाई पछि पारेका थिए । तर, त्यसपछि बेल्जियमले गोलवर्षा नै गर्‍यो ।

बेल्जियमका लागि खेलको १३औं मिनेटमा एक्सेल विस्टले गोल गरेर खेल बराबरीमा ल्याएका थिए । त्यस्तै, १७औं र ६९औं मिनेटमा मिके बात्सुयायीले गोल गर्दा ५०औं मिनेटमा ड्रिएज मार्टेन्सले तथा ७९औं मिनेटमा जर्मी डोकुले गोल गरेर बेल्जियमलाई ५–१ को जित दिलाए ।

उक्त जितपछि बेल्जियमले खेलेका दुवै खेलमा जितको नतिजा निकालेर ६ अंकसहित लिग ए–समूह ४ को शीर्ष स्थान ओगटेको छ । यसै समूहमा रहेको इंग्ल्यान्ड भने ४ अंकसहित दोस्रो स्थानमा छ ।

यसै समुहको अर्को खेलमा इंग्ल्यान्डले डेनमार्कसँग गोलरहित बराबरी खेल्दै अंक बाँड्यो । मासन ग्रिनउड र फिल फोडेन अनुशासनको कारबाहीमा परे लगत्तै डेनमार्कविरुद्ध उत्रिएको इंग्ल्यान्डले निराशाजनक प्रर्दशन गरेको हो ।

पहिलो खेलमा समेत बलियाे इंग्ल्यान्डले आफ्नो साख अनुसार प्रदर्शन गर्न नसक्दा आइसल्याण्डसँग संघर्षपूर्ण १–० को साँघुरो गोलअन्तरको जित निकालेको थियो ।

प्रतिक्रिया दिनुहोस्