हप्ता दिन बित्दासमेत बाढीपीडितले पाएनन् राहत



सिर्जना पन्त, बागलुङ

बागलुङको ढोरपाटन नगरपालिकामा बाढी गएको एक हप्ता बित्दासम्म पनि बाढीपीडितले राहत पाउन सकेका छैनन् । ढोरपाटनमा बाढीले ठूलो मात्रमा क्षति पु¥याएको समाचार प्राप्त भएपछि बाढीपीडितका लागि भनेर देश–विदेशबाट राहत जुटे पनि संकलित राहत सामग्री भने ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिवाङमा थन्किँदा पीडितले राहत नपाएका हुन् ।

हालसम्म बाढी प्रमावितका लागि भनेर ताराखोला गाउँपालिका, लोकदोहोरी प्रतिष्ठान बागलुङ, लायन्स क्लब अफ बागलुङलगायत दर्जनौं संघ–संस्थाले नगरपालिकाको केन्द्र बुर्तिबाङमा राहत पु¥याएका छन् ।

१८ गतेदेखि संकलन हुन थालेको राहत बाढी प्रभावित क्षेत्रसँग सडक सम्पर्क विच्छेद भएकाले पीडितसमक्ष पु¥याउन नसकिएको ढोरपाटन नगरपालिकाका नगर–उपप्रमुख करमति पुनले बताउनुभयो ।

‘बाढीले छोरा, बुहारी, छोरी र नातिसहित ४ जनालाई बगायो, अहिलेसम्म छोराको मात्र शव भेटिएको छ’, पीडित तुलबहादुर विकले भन्नुभयो– ‘काज किरियाको कुरा त परै जाओस् अहिलेसम्म शरीरको एकसरो लुगा फेर्नसम्म पाएको छैन ।’

अहिलेसम्म खोज तथा उद्धार तथा तथ्याङ्क संकलनको काम चलिरहेकाले ढोरपाटन नगरपालिकाको तर्फबाट वडा कार्यालयमार्फत केही राहत सामग्री वितरण गरिएको नगर उपप्रमुख पुनको भनाइ छ ।

बाढी प्रभावित क्षेत्र भौगोलिकरूपमा पनि विकट रहेको र मोबाइल सम्पर्कमा समेत समस्या भएकाले समन्वयमा पनि वडा कार्यालयलाई समस्या भएको वडा नम्बर ९ का वडाध्यक्ष हरिबहादुर घर्तीले बताउनुभयो ।

‘बाढीबाट प्रभावित अहिले पनि आफन्तको शव पहिचान र दाहसंस्कारमा व्यस्त हुनुहुन्छ’, वडाध्यक्ष पुनले भन्नुभयो– ‘एकद्वार प्रणालीमार्फत राहत वितरण गर्ने सहमति भएकाले नगरपालिकाको राहत सामग्री आइपुगेपछि वितरण गरिनेछ ।’

बाढीले ८० घर पूर्ण र ७१ घरमा आंशिक क्षति पु¥याउँदा ५ सय १८ जना विस्थापित बनेका छन् । बाढीका कारण हालसम्म १७ जनाको मृत्यु भइसकेको छ भने २१ जना अझै बेपत्ता छन् ।

ढोरपाटनमा बाढीले पु¥याएको जनधनको क्षतिको स्थलगत अनुगमनका लागि गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ हेलिकोप्टरमार्फत बाढीग्रस्त क्षेत्र पुगे पनि अझै राहत पाउन नसक्नु दुःखद भएको स्थानीय बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्