पिरोन्कोभाको भिडन्त सेरेनासँग हुने



न्युयोर्क, (एजेन्सी)

बुल्गेरियाका टीस्वेटाना पिरोन्कोभाले न्युयोर्कमा जारी यूएस ओपन टेनिस प्रतियोगितामा लगातार शानदार खेल देखाएकी छन् ।

तीन वर्षको विश्रामपछि पुन कोर्टमा पुगेकी पिरोन्कोभाले वोमेन्स सिंगल्सको क्वार्टरफाइनलमा स्थान सुरक्षित गरिन् । उनले पछिल्लो पटक विम्बल्डनमा सन् २०१७ मा सहभागिता जनाएकी थिइन् । तीन वर्षपछि पनि उनको लय गुमेको छैन । उनले अन्तिम १६ को खेलमा एलीज कोर्नेटलाई ६–४, ६–७, ६–३ ले हराएकी हुन् ।

पिरोन्कोभाको अन्तिम ८ मा सामना अमेरिकाकी सेरेना विलियम्ससँग हुनेछ । सेरेना जारी प्रतियोगितामा उपाधि दावेदारीमा अग्रपंक्तिमा छिन् । पिरोन्कोभाले यसअघिको चरणमा गार्बिन मुगुरुजा र डोना भेकिचलाई हराएकी थिइन् ।

सेरेनाले ग्रीसकी मारिया सकारीलाई ६–३, ६–७, ६–३ ले हराएकी थिइन् । ३८ वर्षीया सेरेनाले पहिलो सेट ३७ मिनेटमै जितेकी थिइन् । तर दोस्रो सेटमा भने मारियाले कडा चुनौती दिएकी थिइन् । जुन सेट उनले टाइब्रेकरमा हात पारिन् । तर निर्णायक सेटमा सेरेनाले मारियालाई सहजै पन्छाएर २४औं ग्रान्डस्लाम जित्ने अभियानमा अघि बढेकी छन् ।

यस्तै बेल्जियमकी एलीस मर्टेन्सले अमेरिकाकी सोफिया केनिनलाई सहजै ६–३, ६–३ ले पन्छाइन् । यस वर्ष अस्टे«लियन ओपन जितेकी केनिन दुबै सेटमा कमजोर बनेकी थिइन् । मर्टेन्सले अन्तिम ८ मा बेलारुसकी भिक्टोरिया अजारेन्कासँग खेल्नेछिन् ।

अजारेन्काले कारोलीना मुचोभालाई पहिलो सेट गुमाएर पनि उत्कृष्ट पुनरागमन गर्दै जित दर्ता गरेकी थिइन् । पूर्व नम्बर एक अजारेन्काले सो खेल ५–७, ६–१, ६–४ ले जितेकी थिइन् । योसँगै उनी चार वर्ष भन्दा बढी समयपछि पहिलो पटक ग्रान्डस्लामको क्वार्टरफाइनलमा पुगेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्