तेलगु फिल्मका अभिनेता जयप्रकाशको निधन



भारतको तेलेगु फिल्म क्षेत्रका दिग्गज कमेडियन जय प्रकाश रेड्डीको ७४ वर्षको उमेरमा निधन भएको छ। जागरण दैनिकको अलनाइन संस्करणका अनुसार उनको मंगलबार आन्ध्र प्रदेशस्थित आफ्नै निवासमा हृदयघातका कारण निधन भएको हो।

समाचारमा जनाइएअनुसार हृदयघात हुँदा उनी शयन कक्षमा थिए। दक्षिण भारतीय फिल्म उद्योगका लोकप्रिय अभिनेता रेड्डीको निधनससँगै सम्पूर्ण फिल्म उद्योग शोकमा डुबेको छ। फिल्म क्षेत्रका मानिस तथा उनका फ्यानले उनको निधनको खबर फैलिएपछि उनलाई सामाजिक सञ्जालका माध्ममबाट श्रद्धाञ्जली दिइरहेका छन्।

नाम जय प्रकाश भए पनि उनलाई फ्यान तथा फिल्मकर्मीहरू मायाले जेपी भनेर बोलाउने गर्थे। फिल्म ब्रह्मपुत्रबाट आफ्नो करिअर शुरू गरेका उनले धेरै फिल्ममा कमिक तथा चरित्र भूमिकामा काम गरेर प्रसिद्धि कमाएका थिए भने केही फिल्ममा उनले भिलेनको भूमिकासमेत निर्वाह गरेका थिए।

उनले प्रेमीचुकुन्दम रा, गब्बरसिंह, चेन्नाकेशवा रेड्डीलगायतका फिल्ममा दमदार अभिनय गरेका थिए। मुख्यरूपमा तेलुगु फिल्ममा काम गरे पनि उनले केही कन्नड तथा तामिल फिल्ममा पनि काम गरेका थिए।

प्रतिक्रिया दिनुहोस्