‘कवाडी’ बन्दै हजारौं सवारी



नेपाल समाचारपत्र, हेटौंडा
मकवानपुरको मनहरी गाउँपालिकाका प्रदीपजंग पण्डित बेरोजगार भएर बस्नुपरेको छ । उहा“ हेटौंडा–काठमाडौं लामो दूरीको यात्रुबाहक बस चलाउँदै आउनुभएको थियो ।

‘सरकारले हामीजस्ता व्यवसायीका विषयमा चासो नलिनाले यातायात मजदूर चपेटामा छन्,’ उहाँले गुनासो गर्नुभयो । हेटौंडा–नेपालगन्ज बस चलाउने हर्क लामाको पनि उस्तै चिन्ता छ । गाडी चलेका बेला दैनिक पाँच हजारसम्म कमाउनुभएका उहाँले गाडी बन्द भएपछि ईंट्टा र बालुवा बोकेर जीवन गुजारा गर्नुपरेको छ ।

लामो समय व्यवसाय ठप्प हुँदा समस्यामा परेका व्यवसायी अब कोरोना भाइरस महामारी सकिएपछिको अवस्थामा कसरी यातायात साधन सडकमा ल्याउने भन्ने अन्योलमा छन् । लामो समय बन्द भएका यातायातका साधन सजिलै सडकमा ल्याएर गुडाउने अवस्था नरहेको उनीहरुको गुनासो छ ।

कोरोना भाइरस महामारीका कारण भएको लकडाउनले यातायात बन्द भएको ६ महिना बितेको छ । यस अवधिमा छोटो दूरीका सवारी साधान केही समय सञ्चालन भए पनि लामो दूरीका भने स्टार्ट नै नगरेको ६ महिना भएको छ ।

यातायात व्यवसायीको देशमै ठूलो छाता संस्था हेटौंडास्थित नारायणी यातायात व्यवसायी संघमा साना ठूला गरी झण्डै १० हजार सवारी साधन सदस्य छन् । जुन सञ्चालनमा आउन नसकेर करिब २५ हजार यातायात मजदूर कामबिहीन हुँदा उनीहरुलाई विहान÷बेलुकको छाक टार्न समस्या छ ।

संघमा १० हजार सवारी दर्ता भएकामध्ये हाल ६ हजार थन्किएका छन् । जसमा लामो दूरीका एक हजार पा“चसय सवारी साधन छ । ऋण लिएर गाडी किनेका व्यवसायी अब के गर्ने भन्ने अन्योलमा छन् ।

कोरोना भाइरस महामारीका कारण बसपार्क र ग्यारेजमा यातायातका साधन थन्किएको ६ महिना भइसक्यो । यस अवधिमा व्यवसायीले आफ्ना यातायातका साधन स्टार्ट गरेका छैनन् । जसका कारण एकातिर बसपार्क र ग्यारेजमा थन्किएका यातायातका साधन दिन प्रतिदिन जीर्ण बन्दै गएका छन् भने अर्कोतिर ती साधनमा काम गर्ने मजदूरको बेहाल भएको छ ।

महामारीपछि केही समय लकडाउन खुकुलो भएको सन्दर्भमा छोटो दूरीका यातायातका साधन सञ्चालनमा आए पनि लामो दूरीका सवारी साधन सञ्चालनमा आउन सकेका छैनन् । जसका कारण ऋण लिएर व्यवसाय गरेका व्यवसायीमा बैंकको किस्ता कसरी तिर्ने र नवीकरण कसरी गर्ने भन्ने चिन्ताले सताएको संघ यात्रुबाहक सचिव गुणराज घिमिरेले बताउनुभयो ।

घिमिरेका अनुसार लकडाउन खुले पनि सजिलै गाडीहरु सडकमा आउन सक्ने अवस्था छैन । उहाँका अनुसार एउटा बस पुनर्संञ्चालनमा ल्याउन त्यसको मर्मतका लागि डेढदेखि दुई लाखसम्म खर्च लाग्नेछ । यतिको लामो समय थन्किँदा कतिपय गाडीका पार्टपुर्जा नै ड्यामेज भइसकेको र कतिपय गाडीमा लेऊ लागेको भन्दे घिमिरेले चिन्ता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्