अक्सफोर्डको कोरोना भ्याक्सिनको फाइनल परीक्षण रोकियो



काठमाडौं ।

बेलायतको अक्सफोर्ड युनिभर्सिटी र औषधि उत्पादक कम्पनी एस्ट्राजेनेकाको कोरोना भाइरसविरुद्धको भ्याक्सिन परीक्षणमा सहभागी व्यक्ति बिरामी परेपछि यसको अन्तिम क्लिनिकल ट्रायल स्थगन भएको छ ।

अक्सफोर्डले कोरोना भाइरसविरुद्धको भ्याक्सिनको परीक्षण रोकेको यो दोस्रो पटक हो ।

भ्याक्सिन ट्रायलमा सहभागी मानिस अनपेक्षित रूपमा बिरामी परेपछि क्लिनिकल ट्रायल रोकिएको एस्ट्राजेनेकाले जनाएको छ । उसले यसलाई नियमित रुटिन भएको बताएको छ ।

विश्वका विभिन्न देशले कोरोनाको भ्याक्सिन विकासमा काम गरिरहेका छन् । विभिन्न देशले क्लिनिकल ट्रायल अघि बढाइरहे पनि अक्सफोर्डको भ्याक्सिन परीक्षणलाई विश्वले अलि बढी नजिकबाट नियालिरहेको छ ।

यो भ्याक्सिनलाई अन्य देशको भन्दा मजबुत र विश्वसनीय ठानिएको छ ।

यसको पहिलो र दोस्रो ट्रायलपछि सबैभन्दा पहिले बजारमा आउने अपेक्षा गरिएको थियो । हालैको तेस्रो फेजको परीक्षणमा अमेरिकासहित बेलायत, ब्राजिल र दक्षिण अफ्रिकाका ३० हजार मानिस सहभागी भएका थिए ।

तेस्रो चरणको क्लिनिकल ट्रायलमा प्रायः हजारौं सहभागी हुन्छन् । यो वर्षौंसम्म पनि चल्न सक्छ ।

भ्याक्सिन उत्पादन गर्नु अर्थ र अनुसन्धान दुवै किसिमले जटिल काम हो । यसमा समय र आर्थिक लगानी उत्तिकै हुन्छ ।

त्यसैले भ्याक्सिनले संसारभर काम गर्छ कि गर्दैन भनेर परीक्षण गरिन्छ । यसरी गरिने परीक्षणलाई तेस्रो चरणको क्लिनिकल ट्रायल भनिन्छ । यस्तो परीक्षण धेरै देशमा परिन्छ ।

चौथो चरणको ‘मेडिकल ट्रायल’मा औषधिको प्रभावकारिता अध्ययनपश्चात त्यसलाई स्वीकृति दिने गरिन्छ । जसलाई विश्व स्वास्थ्य संगठनलगायतका अन्य संगठनले प्राप्त नतिजालाई अध्ययन गरेर स्वीकृति दिने गर्छन् ।

प्रतिक्रिया दिनुहोस्