वडाध्यक्षकी आमालाई तीन वडाबाट भत्ता



हेटौंडा, (नेस)।

मकवानपुरको मनहरी गाउँपालिका–१ का अध्यक्ष शिवप्रसाद खनालकी आमाले ३ वटा वडाबाट कागज मिलाएर सामाजिक सुरक्षाभत्ता लिएको खुलेको छ ।

अरुलाई सुशासनको प्रत्याभूति दिनुपर्नेबाटै यस प्रकार गलत तरिकाले लाभ लिन खोज्दा स्थानीयस्तरबाट चर्को आवाज उठेको छ । मनहरी गाउँपालिका वडा नम्बर–१ की वेदमाया खनालको नाममा आर्थिक वर्ष २०७५÷०७६ को अन्तिम चौमासिक र आर्थिक वर्ष २०७६÷०७७ को पहिलो चौमासिक अवधिको सामाजिक सुरक्षा भत्ता वडा नम्बर–१, ३ र ७ बाट भुक्तानी भएको पाइएको हो ।

गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले उक्त विषयमा छानबिन समिति बनाउने तयारी गरिएको बताउनुभयो । जनतालाई सुशासनको प्रत्याभूति दिलाउन आफूहरु सधैं सचेत रहेको भन्दै उहाँले यस विषयको गम्भीर छानबिन हुने उहांले बताउनुभएको छ ।

वडा–३ बाट उहाँहरु वडा–१ मा बसाईं सरेर जानुभएको थियो । तर, वडा–७ बाटसमेत भत्ता भुक्तानी भएको देखिनु आश्चर्यको विषय बनेको छ ।

तीन ठाउँबाट भक्ता लिइएको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा साउन २७ गते पठाइएको थियो । उक्त उजुरीबारे छानबिन अघि बढेको छ । उक्त उजुरी अख्तियारमा दर्ता नम्बर सी–४५२१ मा दर्ता भएको छ ।

मनहरीका सचेत युवाको नाममा दिइएको उजुरीमा छानबिन गर्न माग गरिएको छ । युवाले उक्त कार्यमा खटिएका जनप्रतिनिधि र कर्मचारी सबैलाई कानुनी दायरमा ल्याएर जनतालाई सुशासनको अनुभूति दिलाउन माग गरेका छन् ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाईंले गाउँपालिकाका तर्फबाट गल्ती भएको र उक्त गल्ती सच्याइएको बताउनुभयो । उहाँले यसअघि लिइएको रकम फिर्ता ल्याइसकिएको दाबी गर्नुभयो ।

गाउँपालिकाले बढी भुक्तानी भएको जानकारी गराएपछि बढी भुक्तानी भएको १६ हजार रुपियाँ पालिकाकै खातामा जम्मा गरिएको वडा कार्यालयले बताएको छ ।

तीन वटै वडाबाट एउटै व्यक्तिको खातामा दोस्रो पटक सामाजिक सुरक्षाभत्ता भुक्तानी भएको पाइएपछि बैंकले पालिकालाई खबर गरेको थियो ।

बैंकले जानकारी गराएपछि दोस्रो पटक लाभग्राहीको खातामा गएको रकम रोक्का गरेर पालिकाले लाभग्राहीलाई बढी भुक्तानी भएको रकम दाखिला गराइसकेको मनहरी गाउँपालिकाले जानकारी दिएको छ । वडाध्यक्ष खनाल नेपाली कांग्रेसबाट बिजयी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्