वृद्ध दाजुबहिनी हत्या प्रकरण : पैसा नदिएको झोकमा खुकुरी प्रहार



रामधन राई, खोटाङ ।

भदौ–२३, खोटाङस्थित जन्तेढुङ्गा गाउँपालिका–४ डम्वर्खुशिवालयका दुई वृद्द दाजुवहिनीकोे बिभत्स हत्या गरेको अभियोगमा पक्राउ परेका एक अभियुक्तलाई सार्वजनिक गरिएको छ । ७७ वर्षीय ईन्द्रबहादुर श्रेष्ठ र उहाँकी बहिनी ६७ वर्षीया गोपीमाया श्रेष्ठको हत्या अभियोगमा पक्राउ परेका सोही ठाउँका ३३ वर्षीय दुर्गाबहादुर राईलाई जिल्ला प्रहरी कार्यालय खोटाङले बुधबार सार्वजनिक गरेको हो ।

श्रेष्ठ दाजुबहिनीको हत्या भएको तीन दिनपछि स्थानीय बासिन्दाले थाहा पाएर प्रहरीलाई जानकारी दिएको आधारमा खोटाङका प्रहरी प्रमुख डिएसपी नारायणप्रसाद चिमरियाको टोलीले अभियुक्तलाई भदौ २० गते पक्राउ गरेको थियो । घटनालगत्तै भागेर सोही गाउँपालिकाको वडा नम्बर–२ बोपुङ पुगेका अवस्थामा पक्राउ परेका राईलाई भदौ २१ गते जिल्ला प्रहरी कार्यालय खोटाङ ल्याईएको थियो । सोही दिन कर्तव्य ज्यान सम्बन्धी मुद्दा दर्ता गरेर कारवाहीको प्रक्रिया अगाडि बढाईएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका राईले पैसा सापटी माग्दा नदिएको झोकमा आफूले श्रेष्ठ दाजुबहिनीलाई खुकुरी प्रहार गरेर हत्या गरेको स्वीकारेको डिएसपी चिमरियाले बताउनुभयो । अभियुक्तले मादक पदार्थ सेवन गरेर राति १२ बजे उनीहरुको घरैमा गएर हत्या गरेको अनुसन्धानमा खुलेको प्रहरीको भनाई छ ।

अभियुक्त राईले दाजु इन्द्रबहादुरलाई खुकुरी प्रहार गरेर हत्या गरेपछि प्रतिकारमा उत्रिएकी बहिनी गोपीमायालाई समेत सोही खुकुरी प्रहार गरेर हत्या गरेको पत्रकार सम्मेलनमा प्रहरीले जनाएको छ ।

यसैबीच, दश स्थानीय तह रहेको खोटाङ जिल्लामा गत असार–१ गतेदेखि हालसम्म चार जनाको हत्या भएको छ । ।

प्रतिक्रिया दिनुहोस्