सिमा नाका साँगामा खटिएका ८ सुरक्षाकर्मीमा कोरोना संक्रमण



मोतीराम तिमल्सिना, काभ्रे । 

उपत्यका प्रवेश गर्ने नाका साँगाको सिमानामा सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरुमा कोरोना संक्रमण देखिने क्रम बढेको छ । भदौ १८ गते दुई जनामा देखिएको संक्रमण भदौ २३ गते थप ८ जनामा देखिएको छ । स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख एवं बरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाका अनुसार मंगलबार जिल्लामा थपिएका १० नयाँ संक्रमित मध्ये ८ जना सुरक्षाकर्मी हुन् ।

लक्षण देखिएका दुई र लक्षण नदेखिएका ६ जनालाई परिक्षण गरी उपचारका लागि आईसोलेसनमा राखिएको शशस्त्र प्रहरी वल १५ नम्वर गण पाँचखालका प्रमुख एसपी महेश केसीले जानकारी दिनु भयो । यस अघि संक्रमण देखिएको दुई जनाको सम्पर्कमा रहेका सुरक्षाकर्मीहरुको कोरोना परिक्षण देखिएको थियो । जिल्लामा संक्रमित हुनेहरुको संख्या ३ सय ३४ पुगेको छ । जसमा सुरक्षाकर्मीको संख्या ४० रहेको छ ।

सोमबार विरेन्द्र सैनीक तालिम केन्द्रमा खटिएका पाँच जनामा कोरोना संक्रमण देखिएको थियो । जिल्लामा रहेको नेपाली सेना, नेपाल प्रहरी र शशस्त्र प्रहरीमा संक्रमण देखिएको छ । संघीय प्रहरी कार्यालय बनेपामा कार्यरत १९ प्रहरी कर्मचारी, जिल्ला प्रहरी कार्यालय काभ्रेमा कार्यरत ३ प्रहरी कर्मचारी, नेपाली सेनामा कार्यरत ८ जना सैनीक र शशस्त्र प्रहरीमा कार्यरत १० जना प्रहरीमा संक्रमण देखिएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले बताउनु भयो ।

सुरक्षाकर्मी पछि स्वास्थ्यकर्मी संक्रमणको उच्च जोखिममा छन् । मंगलबारसम्म जिल्लामा ६६ जना स्वास्थ्यकर्मी संक्रमित भएका छन् । स्पाईनल इन्जुरी अस्पतालमा कार्यरत १७ जना, शिर मेमोरियल अस्पतालमा कार्यरत ११ जना, धुलिखेल अस्पतालमा कार्यरत ३५ जना, भुम्लु गाउँपालिका १, पनौती नगरपालिका १, बनेपा नगरपालिका १ जना स्वास्थ्यकर्मी संक्रमणमा परेका हुन् । अस्पतालमा उपचार गराईरहेका १ सय ४ जना विरामी पनि संक्रमणमा परेका छन् । जनप्रतिनिधि २, कानुन ब्यवसायी १, संचारकर्मी १, कर्मचारी ६, बैदेशिक रोजगारबाट फर्किएका २५ जना र समुदायमा रहेका ८६ जना ब्यक्तिहरु संक्रणमा परेका छन् ।

संक्रमण जितेर फर्कनेहरुको संख्या १ सय ५३ रहेको छ । जिल्लाका विभिन्न आईसोलेसन, होम आईसोलेसन र जिल्ला बाहिरका विभिन्न अस्पताल र होम आईसोलेसनमा विरामीहरुले उपचार गराई रहेका छन् । जिल्लाभरका विभिन्न स्थानमा रहेको क्वारेन्टाइनमा २३ जना पुरुष र ३७ जना महिला गरि ६० जना मानिसहरू रहेका छन् । आइसुलेसनमा ९१ पुरुष, ६० महिला गरि १ सय ५१ जना रहेका छन् ।

हालसम्म १९ हजार ३ सय २७ स्वाब संकलन भएकोमा १७ हजार ८ सय ७७ जनाको नेगेटिभ र १ हजार ४ सय ५० पोजेटिभ रिपोर्ट आएको छ ।

प्रतिक्रिया दिनुहोस्