स्पेनले जित्दा जर्मनी बराबरीमा रोकियो



लन्डन, (एजेन्सी)

यूईएफए नेसन्स लिग फुटबल प्रतियोगितामा स्पेनले युक्रेनमाथि सहज जित निकाल्दा जर्मनी भने स्वीजरल्यान्डसँग बराबरीमा रोकिएको छ।
आइतबार राति भएको समूह चरणको दोस्रो खेलमा स्पेनले आफ्नै भूमिमा पाहुना टोली युक्रेनलाई ४–० को गोलअन्तर,ले हराएको हो। स्पेनको जितमा कप्तान सर्जियो रामोस दुई गोल गर्र्दै नायक बने। त्यसैगरी, युवा खेलाडी अन्सु फातीले यसै खेलबाट पहिलो अन्तर्राष्ट्रिय गोल गरेर इतिहास रचेका छन्।

घरेलु मैदानमा स्पेनले खेलको तेस्रो मिनेटमै पेनाल्टी गोलबाट अग्रता लिएको थियो। डी बक्समा अन्सु फातीलाई युक्रेनका खेलाडीले फाउल गरेपछि पाएको पेनाल्टीमा कप्तान रामोसले गोल गरेका थिए। उनले नै खेलको २९औं मिनेटमा हेडिङमार्फत सुन्दर गोल गर्दै स्पेनको अग्रता दोब्बर पारेका हुन्।

त्यसको तीन मिनेटपछि नै स्पेनका लागि फातीले तेस्रो गोल गरे। उनले डी बक्स बाहिरबाट प्रहार गरेको बल गोलमा परिणत भएको थियो। गोलपोस्टको तल्लो बार च्याप्दै हानेको कडा प्रहारले जाली चुम्दा पहिलो अन्तर्राष्ट्रिय गोल गर्न सफल भएका थिए फाती। स्पेनको सिनियर राष्ट्रिय जर्सीमा उनको यो दोस्रो खेल हो।

पहिलो हाफमा ३–० को सहज अग्रता बनाएको स्पेनले चौथो गोल भने खेलको ८४औं मिनेटमा गर्न सफल भएको हो। फेर्रान टोरेजले गोल गरेपछि स्पेनले एकपक्षीय खेल ४–० ले फराकिलो जित निकालेको हो। जितपछि दुई खेलबाट ४ अंक जोडेको स्पेन लिग ए समूह ४ को शीर्ष स्थानमा रहेको छ। पराजित युक्रेन ३ अंकसहित दोस्रो स्थानमा छ। जर्मनी दुई अंकसहित तेस्रो स्थानमा छ भने स्वीट्जरल्यान्ड १ अंकसहित चौथो स्थानमा रहेको छ।

फातीले तोडे ९५ वर्षको कीर्तिमान
स्पेनका लागि तेस्रो गोल गरेसँगै अन्सु फातीले ९५ वर्षको लामो कीर्तिमान तोड्दै राष्ट्रका लागि नयाँ कीर्तिमान राखेका छन्। उनले अन्तर्राष्ट्रिय खेलमा गोल गर्ने स्पेनका कान्छो खेलाडी बन्दै कीर्तिमान रचेका हुन्। उनले १७ वर्ष ३ सय ११ दिनको उमेरमा गोल गर्दा ९५ वर्षअघि हुआन इराजक्वीनले राखेको कीर्तिमान खारेज भएको हो।

इराजक्वीनले सन् १९२५ मा स्वीट्जरल्यान्डविरुद्ध गोल गर्दा उनको उमेर १८ वर्ष ३ सय ४४ दिनको थियो।

यसै समूहको अर्को खेलमा स्वीट्जरल्यान्ड र जर्मनी बराबरीमा रोकिएका छन्। समूह चरणको दोस्रो खेलमा स्वीट्जरल्यान्डले आफ्नो भूमिमा पछि परेको अवस्थामा गोल फर्काउँदै बलियो टोली जर्मनीलाई १–१ को बराबरीमा रोक्न सफल भएको हो। स्वीट्जरल्यान्ड खेलको १४औं मिनेटमा गोल व्यहोरेर पछि परेको थियो।

जर्मनीका इकाइ गुन्डोगानले उक्त गोल गरेका थिए। तर,, खेलको ५७औं मिनेटमा स्वीजरल्यान्डका सिल्भान विडमेरले गोल फर्काएपछि खेल १–१ को बराबरीमा टुंग्गिएको थियो। बराबरीको नतिजापछि दुवै टोलीले समान एक–एक अंक बाँडेका छन्।

रसियाको दोस्रो जित
त्यसैगरी, अर्को खेलमा रसियाले पनि लगातार दोस्रो जित निकालेको छ। रसियाले हंगेरीलाई ३–२ गोलले हराउँदै लगातार दोस्रो जित निकालेको हो। जारी प्रतियोगिताको पहिलो खेलमा सर्बियालाई हराएको रसियाले दोस्रो खेलमा हंगेरीविरुद्ध पनि उत्कृष्ट फुटबल पस्केको थियो।

रसियाले खेलको १५औं मिनेटमा मिरानचुकले गोलमार्फत अग्रता बनाएको थियो। त्यस्तै, ३३औं मिनेटमा आज्डोभले गोल गर्दै टिमको अग्रता दोब्बर पारेका हुन्। पहिलो हाफमा दुई गोलले अघि रहेको रसियाका लागि फेर्नान्डेसले ४६औं मिनेटमा तेस्रो गोल गर्न सफल भएका थिए।

तीन गोलले पछि परेको हंगेरीले ८ मिनेटभित्र दुई गोल फर्काउँदै खेलमा फर्किने संकेत देखाएको थियो। हंगेरीका लागि खेलको ६२औं मिनेटमा सालाइले तथा ७०औं मिनेटमा निकोलिकले गोल गरेका थिए। तर, त्यसपछि दुवै टिमबाट गोल नभएपछि र रसियाले लगातार दोस्रो जित निकालेको हो।

त्यस्तै, अर्को खेलमा फिनल्यान्डले रिपब्लिक आयरल्यान्डलाई १–० ले हराएर पहिलो जित दर्ता गरेको छ। पहिलो खेलमा वेल्ससँग पराजित फिनल्यान्डको जितमा एक मात्र गोल जेनसेनले गरेका थिए। पहिलो हाफ गोलरहित बराबरी भएको खेलको ६३औं मिनेटमा जेनसेनले गोल गरेका थिए।

त्यसैगरी, वेल्सले पनि आइतबारै भएको खेल जित्दै लगातार दोस्रो जित हात पारेको छ। समूह डी को खेलमा वेल्सले बुल्गेरियामाथि १–० को जित दर्ता गरेको हो। दोस्रो हाफको अतिरिक्त समयमा वेल्सका लागि निको विलियम्सले निर्णायक गोल गरेका हुन्। ९४औं मिनेटमा जोनाथन विलिम्यसको क्रसमा निकोले हेडमार्फत विजयी गोल सम्भव पारेका थिए।

प्रतिक्रिया दिनुहोस्