पीसीआर परीक्षणले मृत भाइरस पनि देखाउने, गलत परिणाम देखिएकाे विज्ञहरूकाे आशङ्का



काठमाडाैं ।

कोरोनाभाइरस सङ्क्रमण पत्ता लगाउन प्रयोग भइरहेको प्रचलित विधिले पुरानो सङ्क्रमणको मृत भाइरस वा भाइरसका अंश पनि देखाउने गरेको आशङ्का विज्ञहरूले गरेका छन्।

कोरोनाभाइरस सङ्क्रमण भएका अधिकांश मानिसहरूले एक साताजति मात्र अरूलाई भाइरस सार्न सक्छन्। तर हप्तौँपछि पनि उनीहरूको परीक्षण गरिए भाइरस देखिन सक्छ।

अनुसन्धानकर्ताहरूका अनुसार यसले गर्दा वर्तमान महामारीको स्तर अतिशय रूपमा प्रस्तुत भइरहेको हुनसक्छ।

तर केही विज्ञहरूले भने कुनै पनि सङ्क्रमित व्यक्ति नछुट्नेगरी विश्वसनीय परीक्षण विधि कसरी विकसित गर्न सकिएला भन्नेबारे अनिश्चय रहेको बताए।

यसबारे गरिएको एउटा अनुसन्धानमा संलग्न प्राध्यापक कार्ल हेनेगनले भाइरसबाट सङ्क्रमित हो वा होइन भन्ने सरल परिणाम दिनुको साटो निश्चित मात्राभन्दा थोरै परिमाणमा भाइरस रहेका व्यक्तिको पोजिटिभ नतिजा नदेखाउने परीक्षण विधि हुनुपर्ने बताए।

कुल सङ्क्रमितको सङ्ख्या लगातार बढिरहने तर अस्पताल भर्ना हुने बिरामीको सङ्ख्या स्थिर रहने अहिलेको अवस्थाले पनि कतै परीक्षणले पुराना भाइरसका कण पो पत्ता लगाइरहेका छन् कि भन्ने देखाएको प्राध्यापक हेनेगनले बताए।

अक्स्फोर्ड यूनिभर्सिटीको सेन्टर फर एभिडेन्स बेस्ड मेडिसिनले पोजिटिभ नतिजा आएका २५ वटा नमुनालाई पेट्री डिशमा राखेर अध्ययन गरेको थियो।

‘भाइरल कल्चरिङ’ भनिने उक्त विधिमार्फत् कतै परीक्षणले सक्रिय र सङ्क्रामक भाइरस पत्ता लगाएको हो वा अन्यमा सङ्क्रमण गर्न नसक्ने भइसकेको मृत भाइरस वा निष्क्रिय कण पत्ता लगाएको हो भन्ने जाँच गर्नेछ।

कसरी हुन्छ गलत परिणामको जोखिम?
अहिले प्रचलित पीसीआर स्वाब टेस्टले रसायनहरूको सहयोगबाट भाइरसको आनुवंशिक संरचनालाई बढाएर पारेर हेर्न सघाउँछ।

त्यसैले स्वाबका नमुनालाई प्रयोगशालामा विभिन्न चरणको प्रक्रिया पार गराएपश्चात् मात्र भाइरस देखिन्छ।

कोरोनाभाइरसको परीक्षण गर्दा तपाईँले सङ्क्रमण छ या छैन भन्ने परिणाम प्राप्त गर्नुहुन्छ।

सो नतिजामा नमुनामा कति मात्रामा भाइरस थियो र ती कति सक्रिय सङ्क्रमण गराउन सक्ने खालका थिए भन्ने उल्लेख हुँदैन।

ठूलो मात्रामा सक्रिय भाइरस आफ्नो शरीरबाट निष्काशन गरिरहेको व्यक्ति र सङ्क्रमणबाट निको भइसकेको छ तर मृत भाइरसका कण निष्काशन गरिरहेको व्यक्ति दुवैबाट सङ्कलित नमुनाको परीक्षण गर्दा यो विधिले भाइरसको उपस्थिति भएको सङ्केत गर्छ।

तर प्राध्यापक हेनेगनका अनुसार प्रमाणहरू हेर्दा करिब एक सातापश्चात् कोरोनाभाइरसको सङ्क्रामकता घट्न थाल्छ।

कस्तो परीक्षण उपयोगी हुन्छ?
सबै परीक्षणमा कति सक्रिय भाइरस थिए भनेर हेर्न सम्भव नहुने भए पनि यदि वैज्ञानिकहरूले निश्चित मात्राको भाइरस भए मात्र पोजिटिभ देखिने परीक्षण विधि विकास गर्न सकेको खण्डमा गलत पोजिटिभ नतिजा आउने सम्भावना कम हुने उनले बताए।

यसले पुरानो सङ्क्रमणका कारण गलत परिणाम देखिने पनि कम हुनेछ।

त्यसबाट मानिसहरूलाई क्वारन्टीनमा राख्नुपर्ने अथवा अनावश्यक रूपमा ‘कन्ट्याक्ट ट्रेस’ हुनबाट रोक्ने प्राध्यापक हेनेगन बताउँछन्। अनि त्यसले महामारीको वर्तमान मात्राबारे राम्ररी बुझ्न सहयोग गर्नेछ।

‘पब्लिक हेल्थ इङ्ग्ल्यान्ड’ पनि ‘भाइरल कल्चर’ कोरोनाभाइरस परीक्षण नतिजाको परिणामको आकलन गर्न उपयोगी हुने कुरामा सहमत भएको छ र उसले हालै त्यस विधिबाट विश्लेषण गरेको बताएको छ।

यसले गलत नतिजा देखाउने खतरालाई कम गर्न प्रयोगशालाहरूसँग काम गरिरहेको जनाएको छ।

कस्ता चुनौती छन्?
तर यूनिभर्सिटी अफ रेडिङका प्राध्यापक बेन न्यूम्यान भन्छन्, “बिरामीको नमुनाबाट भाइरस कल्चर गर्नु सामान्य काम होइन।”

उनी भन्छन्, “यस प्रकारको विश्लेषणले गलत तरिकाबाट सार्स-कोभ-२ भाइरस कल्चरको यसको सङ्क्रमण फैलाउने सम्भावनासँग जोडेर देखाउन सक्छ।”

गत मार्चमा कोरोनाभाइरका कारण निकै प्रभावित भएको इटलीको एमिलिया-रोमाग्ना क्षेत्रका एक सङ्क्रामक रोग विशेषज्ञ प्राध्यापक फ्रान्सेस्को भेन्टुरेल्ली कोरोनाभाइरस सङ्क्रमणमुक्त भएपछि पनि कति समयसम्म त्यो रहन्छ भन्ने “निश्चित” नभएको बताउँछन्।

“भाइरस कल्चरमा गरिएका केही अध्ययनअनुसार करिब १० प्रतिशत मानिसमा सङ्क्रमण ठिक भएको आठ दिनपश्चात् पनि भाइरस पाइएको थियो,” उनले भने।

उनी कोरोनाभाइरस महामारी ब्रिटेनभन्दा पहिले इटलीमा उत्कर्षमा पुगेको र आफूहरूले केही सातासम्म कोरोनाभाइरस सङ्क्रमणलाई वास्तविकभन्दा निकै बढी आकलन गरिरहेको बताउँछन्।

उनका अनुसार त्यसको कारण सङ्क्रमणमुक्त भएका व्यक्तिहरू पनि ‘पोजिटिभ’ देखिनु थियो।

लन्डनस्थित इम्पीरीअल कलेजका प्राध्यापक पिटर ओपन्सअ भन्छन्, “पीसीआर परीक्षण भाइरस शरीरमा रहेका भाइरसका आनुवंशिक अंशको पहिचानका लागि एकदमै संवेदनशील विधि हो।”

उनले भने, “यो परीक्षण कोरोनाभाइरसको सङ्क्रमणको प्रमाण होइन।”

यद्यपि चिकित्सकहरू बिरामीहरूलाई १० दिनभन्दा बढी सङ्क्रमण हुने सम्भावना न्यून भएको धारणा राख्छन्।

-बीबीसी

प्रतिक्रिया दिनुहोस्