महामारीमा दुव्र्यवहार कि श्रद्धा–सद्भाव !



चिरञ्जीवी मास्के

कम्युनिस्टले धर्म मान्दैनन् भनेर अफवाह फैलाउन लागेको धेरै शताब्दी भैसकेको छ । माक्र्सको उदय र उनैको ‘धर्म अफिम हो’ भन्ने भनाइलाई डेमोक्रेटहरुले बुलन्दीमा पु¥याएको समय शताब्दीमै हिसाब गर्नुपर्छ । तर मानवताको मापन न धर्मले गर्न सक्यो, न सिद्धान्तले ।

कोरोना कहरको यो समय र कोरोना संक्रमित तथा उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुलाई भैरहेको दुव्र्यवहारले धर्मको सिद्धान्तलाई कम्युनिस्ट वृत्तमा मात्र हैन डेमोक्रेटहरुको जमातमा पनि क्रमशः पराजित गर्दै लगिरहेको छ । के कम्युनिस्ट, के डेमोक्रेट लगभग सबैको घरका ढोका मात्र हैन टोलका गौंडा र गल्छीहरुसमेत कोरोना संक्रमित तथा उपचारमा संलग्नहरुको लागि बन्द प्रायः देखिएका छन् । हैन भने धर्मभिरुहरुले कोरोना संक्रमित र उपचारमा संलग्नहरुलाई किन अछूतझैँ व्यवहार गर्नुप¥यो र ? धर्म भनेको मानवीय सिद्धान्त हो, धर्मले मानिसलाई अनुशासित बनाउँछ । कम्युनिस्ट त धर्मविरोधी भए अर्थात् अनुशासनहीन भए, धर्म मान्ने डेमोक्रेटहरुचाहिँ किन अमानवीय र अनुशासनहीन बन्दै छन् हँ ? जवाफ सहज छ– सिद्धान्तले हैन, श्रद्धाले मानवताको मापन हुन्छ ।

रामायणको एउटा प्रसंग उल्लेखनीय छ । १४ वर्षको वनवासको समय रामचन्द्र कतै जाँदै थिए । एकजना रोगी, फोहोरी वृद्धा महिला ‘शवरी’ले त्यो कुरा चाल पाइन् र उनले रामचन्द्रलाई बयरको फल खुवाउने मनसुवा गरिन् । उनले आफूले बयर चाख्दै मीठो–मीठो जति रामचन्द्रको लागि छुट्याइन् । रोगी, घाउखटिरा भएकी, फोहोरी शवरीले बयर दिएकोले लक्ष्मणले रामचन्द्रलाई त्यो फल नखान सुझाए । तर रामचन्द्रले शवरीबाट त्यो फल ग्रहण गर्दै हाँसेर भने– श्रद्धा सबैभन्दा ठूलो कुरा हो, उनले श्रद्धाले दिएकी छन्, त्यसैले यसमा अन्यथा सोच्नु आवश्यक छैन ।

अहिले सबै सिद्धान्तमा श्रद्धा मरेको छ, मानवीयता मरेको छ । कोरोना संक्रमित या उनीहरुको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुमाथि भैरहेको व्यवहार त्यसैको प्रतिविम्ब मान्न सकिन्छ । त्रेतायुगमा रामचन्द्रले लक्ष्मणलाई सिकाएको श्रद्धाको पाठ कलियुगमा आइपुग्दा श्राद्ध गर्दा फेरेको कपडाजस्तै कतै जुठेल्नातिर मिल्किएको अवस्थामा रहेको हुनुपर्छ । त्यसैले पनि हरेक मानिस अहं, कुण्ठा र अमानवीयताले ओतप्रोत बनेका छन् ।

महामारीको यो समयमा पनि अनियमितता, भ्रष्टाचार, बेथितिलाई आत्मसात् गर्दै हिँडिरहेका छन् । एकातिर कोरोना संक्रमणकै बहानामा लुटको धन्दा चलाइरहेछन्, अर्कोतिर संक्रमित र स्वास्थ्यकर्मीहरुलाई दुव्र्यवहार र विभेद गरिरहेछन् ।

मृत्यु सत्य हो, ढिलो–चाँडोको कुरा अलग छ तर एकदिन सबैले मानव चोलाबाट विश्राम लिनै पर्छ । हाड र छालाको यो मानव चोलालाई खरानीमा विसर्जन हुनबाट धन, सम्पत्ति, सत्ता या कुनै पनि शक्तिले रोक्न सक्दैन । त्यसैले एउटा मानवले अर्को मानवलाई रोग, भोक, शोक कुनै पनि बहानामा विभेद, दुव्र्यवहार तथा अछूतझैँ व्यवहार गर्ने कुरा कुनै पनि मानेमा स्वीकार्य हुनै सक्दैन । त्यस्तो कुरा दण्डनीय हुन्छ र हुनुपर्छ ।

कोरोना कहरमा आफन्तजनले मृतकको अन्त्यष्टि आफ्नो सांस्कृतिक परम्पराअनुसार गर्न नसकेको पीडा त छँदै छ, त्यो भन्दा आर्तनाद पीडा कोरोना संक्रमितलाई आफ्नै परिवारजन, आफन्त र समाजले गरेको विभेद र दुव्र्यवहारबाट हुने गरेको अनुभव पीडितहरुले सुनाउने गरेका छन् ।

कोरोना संक्रमित भएपछि परिवारजनबाटै भएको अपहेलना सहन नसकेर एकजना युवकले आत्महत्या गरे । अर्को एकजना संक्रमितलाई एकान्तवासको नाममा घाटको आसपास राखियो । कोरोना संक्रमित बसेको घरको बाटो हुँदै हिँडडुल नगर्न समाजका बुद्धिजीवी भनाउँदाहरुले नै उर्दी जारी गरे । अपहेलनाको डरले संक्रमित अस्पतालबाटै भागे । संक्रमितको परिवारलाई छिमेकीहरुले नाना थरी अरोप, गालिगलौज र दुव्र्यवहार गरे । स्वास्थ्यकर्मीहरुलाई टोलवासीले डेराबाट निकाल्न खोजे । यी सबै हाम्रै समाजमा देखिएका गतिविधिका फेहरिस्तहरु हुन् ।

कुनै पनि संक्रमितलाई घरमै बस्ने रहर हुँदैन । सरकारले उचित व्यवस्थापन गरिदिएको अवस्थामा हरेक संक्रमित अस्पतालमा तोकिएको आइसोलेसनमा बस्न राजी छन् । तर यो महामारीमा सरकारले मात्र सबै व्यवस्थापन गर्न सक्ने अवस्था छैन । त्यसैले होम आइसोलेसनको कुरा आएको हो । होम आइसोलेसनमा बसेका संक्रमितलाई त्यहाँको समाजले विभेद र दुव्र्यवहार ग¥यो भने उनीहरुको मानसिकता कस्तो होला ? विभेद र दुव्र्यवहार गर्ने समाजका भद्र महिला तथा सज्जनवृन्दले एकपटक संक्रमितको मुहारमा आफ्नै परिवारका कोही सदस्यको तस्वीर अनुमान गरौं त । के त्यति बेला पनि हाम्रो मनोभाव कुण्ठित र कठोर नै हुन्छ ? या श्रद्धाभावले उद्वेलित पो बन्छ कि !

सरुवा रोग विशेषज्ञहरुले भनिरहेका छन्, कोरोना एकपटक सबैलाई लाग्न सक्छ । यो सत्यलाई जान्दाजान्दै पनि समाजका अब्बल भनिएकाहरुले संक्रमितलाई गर्ने व्यवहारले हाम्रो समाजको चेतनास्तरको मापन भएको छ । प्राकृतिक विपत्ति र दैवी विपत्तिले मानिसको सामाजिक, आर्थिक, राजनीतिक कुनै पनि हैसियत हेर्दैन । २०७२ सालको भूकम्पले सबै स्तरका मानिसलाई सडकमा ल्याएको यथार्थलाई हामीले भुल्न सकेका छौं र ? अहिले कोरोना कहरले सबैलाई घरभित्रै थुनिदिएको तथ्य पनि छ त हाम्रो सामु । त्यसैले हामीले कोरोना संक्रमणको यो पीडादायी समयमा विभेद, दुव्र्यवहार, अपहेलना हैन श्रद्धापूर्वक मानवीय व्यवहार गर्नु आवश्यक छ ।

आफू संक्रमित बनेपछि परिवार, छिमेकी र समाजलाई पनि संक्रमित बनाउँछु भन्ने कुत्सित मनसाय कसैले पनि राखेको हुँदैन । हामीभित्रको दरिद्र मानसिकताको उपज हो हामीले संक्रमितलाई गर्ने दुव्र्यवहार भनेको । वनको बाघले नखाए पनि मनको बाघले खाइरहेछ हामीलाई । संक्रमितले हेर्नासाथ रोग सर्ने, संक्रमित बसेको टोलमै बस्न नहुने, संक्रमितसँग बोल्नै नहुने जस्ता भ्रम हामीभित्रको दरिद्र मानसिकताको प्रतिविम्ब हो । संक्रमितलाई दुव्र्यवहार गरेर हैन आफू सचेत र सजग रहँदै संक्रमितलाई श्रद्धापूर्वक सहयोग गर्न सक्यौं र सिक्यौं भने मात्र हामी यो महामारीबाट छिट्टै मुक्त हुन सक्छौं ।

मेरो आफ्नै एउटा पीडा छ कोरोनासँग जोडिएको । पछिल्लो समय कोरोना संक्रमणबाट स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मी प्रभावित हुँदै गएपछि दोलखाका मलगायत चारजना पत्रकारले स्वाब परीक्षण गरायौं । शुरुका दिनमा मैले त्यस्तो कुनै अनुभूति गरिन, खाली रिर्पोटको प्रतीक्षा गरिरहेँ । धुलिखेल अस्पतालमा स्वाब नमुनाको चाप बढी भएकोले हाम्रो रिपोर्ट आउन ढिला भैरहेको थियो । जब रिपोर्ट आउने समय नजिकियो मेरो मनमा एक प्रकारको अनौठो तर पीडादायी ज्वारभाटा अनुभूत हुन थाल्यो ।

रिपोर्ट नेगेटिभ आयो भने त ठीकै छ, पोजिटिभ आयो भने समाजले मलाई कस्तो नजरले हेर्ला, मेरो परिवार, मेरा सहकर्मी र साथीसङ्गीको अवस्था र उहाँहरुलाई समाजले हेर्ने दृष्टिकोण कस्तो होला ? म भित्रभित्रै त्रसित र तरङ्गीत हुँदै गैरहेको थिएँ । मलाई दृढ विश्वास थियो, कथंकदाचित म संक्रमित भैहाले पनि चाँडै ठीक हुनेछु । तर मलाई भित्रभित्रै आफूभन्दा ठूलो ढुङ्गाले थिचेको आभास भैरहेको थियो, पीडाबोध भैरहेको थियो । स्वाब परीक्षण गरेर कतै मैले गल्ती त गरिन ? मनमनै यस्तै प्रश्न–प्रतिप्रश्न गर्दै थिएँ । मसँग स्वाब दिएका अरु तीनजना पत्रकारहरुको अवस्था पनि मेरो भन्दा भिन्न थिएन । उनीहरुको छटपटी पनि म फोन वार्तामा स्पष्ट अनुभूत गरिरहेको थिएँ । जे होस्, हामी चारैजना पत्रकारको रिपोर्ट नेगेटिभ आएकोले हामीले धेरै तनाव बेर्होनुपरेन ।

पत्रकार समाजको चौथो अङ्ग, सचेत वर्ग । समाजमा देखिएको बौद्धिक दरिद्रताकै कारण हाम्रो अवस्था त यस्तो छ भने सामान्य परिवारका कोरोना संक्रमितले कति ठूलो पीडा र वज्रपात सहनुपरेको होला ? अनुमान गर्दा पनि कन्चट चिटचिटाउँछ, मानवीयता त्यसै–त्यसै आवेग र उत्तेजनाले स्खलित बन्दै जान्छ । अनि ती समाजका सज्जनहरुप्रति अथाह अनास्था र अक्रोश मडारिन्छ । तर फेरि श्रद्धाभावले शिर निहुँरिन्छ र म सिथिल र शान्त बन्छु ।

हामी रामचन्द्रलाई आदर्श मान्छौं । रामचन्द्र अयोध्यामा हैन ठोरीमा जन्मिएका हुन् भन्ने कामना गर्छौं र त्यसमा गौरव पनि गर्छौं । तर कोरोनाको कहरमा रामचन्द्रको आदर्श, श्रद्धाले समस्याको समाधान हुन्छ भन्ने कुरालाई किन आत्मसात् गर्दैनौं ? रामचन्द्रले शवरीप्रति देखाएको सद्भाव हामीले कोरोना संक्रमित र उनीहरुको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुप्रति देखाउन नसक्नुको कारण के छ ? कोरोना संक्रमणबाट बच्न शारीरिकरुपमा दूरी कायम गर्नुपर्छ तर मानसिक र भावनात्मकरुपमा निकटता आवश्यक छ । त्यसैले हामी सबैले मानवीयतालाई जाग्रित गरौं र सबैसँग श्रद्धापूर्वक मानवीय व्यवहार गरौं ।

प्रतिक्रिया दिनुहोस्