निषेधाज्ञा कहिलेसम्म ?



राजधानीमा हुँदैआएको निषेधाज्ञाको अवधि भोलि बुधबार सकिँदैछ । त्यसपछि के गर्ने ? निषेधाज्ञा कायमै गर्ने प्रशासकहरुको प्रस्तावलाई लिएर धेरैले विरोध जनाउन थालेका छन् । लगातारको लकडाउन र निषेधाज्ञाले आम जीवन कष्टकर बन्दै गएको छ । सरकारले एकातिर कोरोना रोकथाममा प्रभावकारी काम गर्न नसकेको र अर्कोतिर निषेधाज्ञाले जनजीवन कष्टकर बन्दै गएको टिप्पणी बढ्दैगएको छ । यसमा सरकारले नदेखेजस्तो व्यवहार गरिरहेको अनुभव अहिले सबैले गरिरहेका छन् । दैनिक काम गरेर खाने बर्गलाई सरकारले न त यस अघिको लगातारको चार महिनाको लकडाउनमा सहयोग ग¥यो न त अहिले निषेधाज्ञाको बेलामा गरिरहेको छ । सहयोगको कुरा गर्दा धनी देशहरुलाई देखाउँदै फलानाले त गर्नसकेन हामी विकासोन्मुख मुलुकको हैसियत नै के छ र भनेर लाचारी देखाइरहेको छ, जब कि प्रशासनिक क्षेत्रमा कटाउन सकिने खर्चलाई कटाएर राहततिर लगाउने सम्भावनालाई बेवास्ता गरिरहेको छ ।
निषेधाज्ञा सकिएपछि के गर्ने सरकारसंँग ठोस योजना छैन । उपत्यकाका तीनै जिल्ला– काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले संयुक्त रूपमा निषेधाज्ञा जारी गरेका छन् । तर यो आदेश कहिलेसम्म जारी राख्ने भन्नेबारे उनीहरूकैै मत बाझिएको छ । कोरोना भाइरसको जोखिम कम गर्न सरकारले चैत ११ देखि साउन ६ गतेसम्म लकडाउन गरेको, पछि केही समय लकडाउन खोलेर भदौ ३ गतेदेखि पुनः निषेधाज्ञा गरिएको अवस्था छ । भदौ १७ गतेदेखि केही खुकुलो भएको भनिएको निषेधाज्ञाको म्याद २४ गते सकिँदैछ । तीन साताको यो निषेधाज्ञामा सरकारले सीमित टेस्टिङ त गरेको छ, तर विपन्नहरु भोकभोकै परेको अवस्थालाई सम्बोधन गर्नसकेको छैन । लगातारको लकडाउन र निषेधाज्ञाले जनजीवन कष्टकर बन्दै गएको छ । कैयौंले जागिर गुमाएका छन् भने जागिर गरिरहेकाले समेत पूरा तलब पाउने अवस्था छैन । महिनामा लाखौ भाडा तिरेर सञ्चालन भएका पसल व्यवसाय लगातारको बन्दका कारण अब फेरि उठ्नै नसक्ने गरी बन्द भएका छन् । सरकारले ठोस रणनीति बनाउन नसक्दा विश्वमै शायद सबैभन्दा लामो लकडाउन र निषेधाज्ञा नेपालीले भोग्नु परेको तितो यथार्थ रहेको छ ।
सरकारले लकडाउनको अवधिमा गर्नुपर्ने न्यूनतम कामसमेत नगर्दाको मूल्य आउँदा दिनमा आम जनताले चुकाउनै पर्छ तर त्यसभन्दा ठूलो विषय अब हरेक दिन विहान बेलुका के खाने भन्ने प्रश्न आम रुपमा उठेको छ । सरकारले त्यसको जोहो गर्न नसक्ने भएपछि आफ्नो कमजोरी लुकाउन सधैं निषेधाज्ञा मात्र घोषणा गर्नुको औचित्य अब समाप्त भएको छ । त्यसैले अब निषेधाज्ञा थप्ने मात्र होइन, यसको असर कम गर्न राहतका लागि आफै र नेपाली वा विदेशी दाताहरुलाई गुहार्नु आवश्य देखिएको छ । जनतालाई भोकले मार्ने कि कोरोनाले ? मास्क लगाउँदा, सामाजिक दूरी कायम गर्दा झण्डै ९० प्रतिशत सुरक्षा हुन्छ भन्ने विश्व बैंकको सुझाव हेर्दा, सुरक्षित रहेर व्यापार–व्यवसाय गर्नतिर लाग्नु बुद्धिमानी देखिन्छ । लकडाउन र निषेधाज्ञालाई मात्र कोरोना रोक्ने हतियार बनाउनु दीर्घकालीन समाधान होइन ।

प्रतिक्रिया दिनुहोस्