इटाली र नर्वे विजयी



एजेन्सी ।

युइएफए नेसन्स लिग फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा इटाली र नर्वे विजयी भएका छन् ।

प्रतियोगितामा इटालीले पहिलो जित दर्ता गर्दा नेर्वेेले भने लगातार दोस्रो जित निकालेको हो । समूह चरणको दोस्रो खेलमा इटालीले बलियो टोली नेदरल्यान्ड्सलाई उसैको घरेलु मैदानमा १-० गोलले स्तब्ध बनाएर पहिलो जित आत्मसात गर्‍यो ।

नेदरल्यान्ड्सविरुद्ध इटालीले खेलभरि नै बलियो पकड बनाएको थियो । खेलमा लगातार आक्रमण बुनेको इटालीका लागि पहिलो हाफको इन्जुरी समयमा निकोलो बारेल्लाले गरेका थिए । सोही १ मात्रै गोल पाहुना टोलीलाई जिताउन पर्याप्त बन्यो । सिरो इम्मोबाइलले डीबक्समा दिएको पासमा बारेल्लाले आकर्षक हेडिङ गोल गरेका थिए ।

त्यसपछि दोस्रो हाफमा दुवै टोलीबाट गोल नभएपछि इटाली विजयी बन्यो । जितसँगै इटाली लिग ए–ग्रुप १ को शीर्ष स्थानमा उक्लेको छ । इटालीले दुई खेलबाट ४ अंक जोडेको छ । पराजित नेदरल्यान्ड्स ३ अंकसहित दोस्रो स्थानमा छ । सोमबार राति नै भएको खेलमा बोस्निया एन्ड हर्जागोभिनालाई उसैको घरेलु मैदानमा हराएको पोल्यान्डले पनि ३ अंक जोडेको छ ।

त्यस्तै, नेर्वेेले लगातार दोस्रो जित निकाल्ने क्रममा नर्दन आयरल्याण्डलाई ५-१ को फराकिलो गोलअन्तरले हरायो । नर्वेको जितमा इरलिङ हालान्ड र एलेडान्देर सोरलोथले दुई -दुई गोल गरेका थिए । खेलको दोस्रो मिनेटमा इलेउनोउसीले गोल गर्दै नर्वेलाई सुरुवाती अग्रता दिलाएका थिए ।

तर, छैटौं मिनेटमा म्यानेयरले आयरल्याण्डका लागि गोल गर्दै खेललाई बराबरीमा ल्याउन सफल भए । यता सातौ मिनेटमा इरलिङ हालान्डले गोल गरेपछि नर्वेले खेलमा पुन: अग्रता बनायो । त्यसपछि १९औं मिनेटमा सोरलोथले नर्वेकाे तेस्रो गोल सम्भव पारे । खेलको ४७औं मिनेटमा सोरलोथले चौथो तथा ५८औं मिनेटमा हालान्डले ब्यक्तिगत दोस्रो तथा टिमका लागि पाँचौं गोल गरेपछि नर्वेकाे जित सुनिश्चित बन्यो ।

सोमबार नै भएका अन्य खेलहरुमा स्कटल्याण्डले चेक रिपब्लिकलाई २–१ ले तथा रोमानियाले अष्ट्रियालाई ३–२ ले हरायो । त्यस्तै, इजरायल र स्लोभाकियाले १–१ गोलको बराबरी खेल्दै समान अंक बाँडे ।

प्रतिक्रिया दिनुहोस्