पहिरोपीडितलाई आर्थिक सहयोग



भूपराज बस्याल, स्याङ्जा

असार ३० मा अविरल वर्षसँगै आएको पहिरोमा परी ज्यान गुमाउने र विस्थापित भएका स्याङ्जा जिल्ला कालीगण्डकी गाउँपालिका ४ खहरेका परिवारका लागि सामाजिक क्षेत्रमा सक्रिय तीन संस्थाले सयुक्तरूपमा २ लाख रुपियाँ सहयोग गरेका छन् ।

विभिन्न सिलसिलामा स्याङ्जाबाट विदेशमा पुगेकालाई संगठित गर्दै करिब २०÷२२ देशमा संगठन विस्तार गरेको ‘स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समिति’ स्याङ्जा जिल्लाबाट दक्षिण कोरिया पुगेकाहरूको संस्था ‘स्याङ्जा परिवार दक्षिण कोरिया’ र साविकको कृष्ण गण्डकी गाविसबाट दक्षिण कोरिया पुगेकाहरूको संस्था ‘कृष्ण गण्डकी समाज दक्षिण कोरिया’ को सयुक्त पहलमा उक्त रकम वितरण गरिएको स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष जीवन न्यौपानेले जानकारी दिनुभयो ।

बाढीबाट ज्यान गुमाएका र विस्थापित भएका दुई घर परिवारलाई ४०–४० हजार वितरण गरिएको थियो भने अन्य ६ घर–परिवारलाई २०–२० हजार रुपियाँको दरले रकम हस्तान्तरण गरिएको थियो । हस्तान्तरण कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवं कालीगण्डकी गाउँपालिका उपाध्यक्ष सावित्री कोइरालाले विस्थापित परिवारहरुका लागि छिट्टै डीपीआर तयार पारेर एकीकृत नमुना बस्ती बनाउने तयारी भइरहेको जानकारी दिनुभयो ।

ठूलै विपत्ति भएकाले संघीय सरकारदेखि प्रदेश सरकार हुँदै स्थानीय सरकारको विशेष ध्यान पुगेको हुँदा छिट्टै एकीकृत बस्तीको योजना अगाडि बढ्ने उहाँको तर्क छ ।

स्याङ्जा परिवार दक्षिणकोरियाका निवर्तमान अध्यक्ष राजु भण्डारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिका सहकोषाध्यक्ष डोलराज डुम्रे, सदस्य धर्म पराजुली, सोही गाउँपालिका–४ अध्यक्ष चक्रपाणी पाण्डे र नेपाल तरुण दल गाउँपालिका अध्यक्ष सुन्दर पाण्डेलगायतले आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो ।

असार २९ गते आएको भारी वर्षले बस्तीमा पार्न सक्ने असरका बारेमा असार ३० गते बिहान करिब सात बजे उक्त स्थानमा पुगेर अवलोकन गर्दैगर्दा माथिबाट एक्कासि खसेको पहिरोमा पुुरिएर चार जनाको मृत्यु भएको थियो भने २ जना बाँच्न सफल हुनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्