बैतडीमा निषेधाज्ञा खुकुलो



नेपाल समाचारपत्र, बैतडी

बैतडीमा निषेधाज्ञा खुकुलो भएसँगै बजार खुलेका छन् । जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थान केन्द्र र जिल्ला सुरक्षा समितिको बैठकले बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म व्यापार व्यवसाय गर्न पाउने गरी निर्णय गरेपछि सोमबारदेखि बजार खुलेका हुन् ।

स्वास्थ्य सुरक्षा सतर्कताका मापदण्ड अपनाएर व्ययसायीहरूले व्यवसाय सञ्चालन गर्न पाउने आदेश जारी भएपछि बजार खुलेका हुन् । बजारमा पूर्णरूपमा स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन भने प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीद्वारा जारी आदेशमा उल्लेख गरिएको छ ।

भदौ ८ गतेदेखि बैतडीमा जारी निषेधाज्ञा केही खुकुलो पारेर भदौ ३१ गतेसम्म लम्ब्याउने निर्णय भएसँगै निषेधाज्ञा खुकुलो पारीे जोर–विजोर प्रणालीअनुसार सवारीसाधनसमेत सञ्चालनमा ल्याइएको उहाँको कथन छ ।

राति ९ बजेदेखि बिहान ५ बजेसम्म भने घरबाहिर हिँडडुलमा पूर्णरूपमा रोक लगाएको छ । सरकारी कार्यालयहरूले न्यूनतम कर्मचारीको उपस्थितिमा सार्वजनिक सेवा प्रवाह गर्नुपर्ने, बैंकिङ तथा वित्तीय संस्थाले बढी भीडभाड नहुने गरेर बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सेवा दिने जारी आदेशमा उल्लेख गरिएको छ ।

निषेधाज्ञा खुकुलो भएको भनेर अनावश्यक भीडभाड नगर्न र कोरोना भाइरसको संक्रमण फैलिन नदिन सबैले सतर्कता अपनाउनुपर्नेमा उहाँको जोड दिनुभएको छ ।’

आदेश पालना नगर्नेलाई संक्रामक रोग ऐन–२०२० अनुसार नियन्त्रणमा लिएर कारबाही गर्ने बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

६७ हजारको कोरोना परीक्षण
बैतडीसहित सुदूरपश्चिम प्रदेशमा हालसम्म ६७ हजार बढीको पीसीआर विधिमार्फत कोरोना परीक्षण गरिएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालाबाट २०७६ साल फागुन १ गतेदेखि शुरू भएको परीक्षण कार्यमा हालसम्म ६७ हजार १ सय ४२ जनाको परिक्षण गरिएको हो ।

पछिल्लो समय परीक्षणको दायरा बढाउँदै लगिएको सुदूरपश्चिम प्रदेशका स्वास्थ्य निर्देशक डाक्टर गुणराज अवस्थीले बताउनुभयो । समुदायस्तरबाटै कोरोनाको परीक्षण शुरू गरेकाले परीक्षणको दायरा बढेको उहाँको दाबी छ ।

प्रदेशका नौवटै जिल्लाबाट संकलित स्वाबको नमुना उक्त संख्यामा परीक्षण गरिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । सबैभन्दा बढी धनगढी प्रयोगशालामार्फत ३५ हजार २ जनाको परिक्षण गरिएको छ ।

यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र प्रदेश बाहिरका अन्य प्रयोगशालामार्फत १६ हजार सय १८, डडेल्धुरा अस्पतालको प्रयोगशालामार्फत १३ हजार ८ सय ९४ र डोटी जिल्ला अस्पतालको प्रयोगशालामार्फत १ हजार ७ सय ४४ जनाको कोरोना परीक्षण भएको छ ।

निर्देशनालयका अनुसार अहिलेसम्म परीक्षणका लागि ६८ हजार १ सय ३६ जनाको स्वाब संकलन गरिएकोमा ९ सय ९४ जनाको परीक्षण रिपोर्ट आउन बाँकी छ ।

सुदूरपश्चिममा अहिलेसम्म परीक्षण गरिएका झन्डै ९ प्रतिशत अर्थात् ६ हजार २ सय ४४ जनामा कोरोना पुष्टि भएको छ । संक्रमण पुष्टि भएका ५ हजार २ सय बढीले कोरोना जितेको दाबी गरिएको छ भने १४ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्