लद्दाखमा भारत–चीनबीच गोली हानाहान



काठमाडौँ । सोमबार .वास्तविक सीमा रेखा (एलएसीमा) तैनाथ भारतीय सैनिकले फेरि एक पटक गैरकानूनी तरिकाले वास्तविक सीमा रेखा पार गरेको र चीन सीमामा तैनाथ सैनिकमाथि चेतावनीस्वरुप गोली (वार्निङ शट्स) चलाएको चीनले बताएको छ । चीनका अनुसार चिनियाँ सैनिक कुराकानी गर्ने योजनामा रहेको बेलामा उक्त गोली चलाइएको थियो ।

यसबारे भारतको तर्फबाट कुनै प्रतिक्रिया आएको छैन । चीनको सरकारी मिडिया ग्लोबल टाइम्सले चिनियाँ सेनाका एक प्रवक्तालाई उद्धृत गर्दै स्थितिलाई स्थिर राख्नका लागि चिनियाँ सैनिकले बाध्य भएर जवाफी कारवाही गर्नुपरेको जानकारी दिएको छ ।

भारतीय समाचार एजेन्सी एएनआईले पनि एलएसीमाथि पूर्वी लद्दाखमा गोलीबारी भएको जानकारी दिएको छ ।

चिनियाँ सेनाका प्रवक्ता वरिष्ठ कर्नल जांग शियूलीले एक बयान जारी गर्दै भारतीय सैनिकले भारत–चीन सीमाको पश्चिमी हिस्सामा एलएसी पार गरे र पंन्गोंग त्यो लेकको दक्षिणी किनारा नजिकै शेनपाओ पहाठको इलाकामा प्रवेश गरेको बताएको छ । उनले दुबै पक्षबीचको सहमतिको भारतीय सेनाले गम्भीर उल्लंघन गरेको र उक्त कदमले त्यसले इलाकामा तनाव बढाइदिएको उल्लेख गरेका छन् ।

चिनियाँ सेनाका प्रवक्ताका अनुसार यस्तो गतिविधिले दुबै पक्षमा गलत धारणा विकसित हो र यो गम्भीर सैनिक भडकाउ र घिनलाग्दो कारवाही हो ।

प्रवक्ता जांगले भने, ‘यस्तो प्रकारको खतरनाक क्रियाकलाप गर्न तत्काल बन्द गर्न हामी भारतीय पक्षसँग माग गर्छौं । जुन सैनिकले एलएसी पार गरेका छन् उनीहरुलाई तुरुन्त फिर्ता बोलाइयोस्, सीमामा तैनाथ सैनिकलाई नियन्त्रणमा राखियोस्, यो विषयलाई गम्भीरताका साथ अनुसन्धान गरियोस् र जसले वार्निङ शट्स फायर गरेका छन् उनीहरुलाई सजाय दिइयोस् र अब उप्रान्त यस्ता घटना नदोहोरिने सुनिश्चित पनि गरियोस् ।’

चिनियाँ सेनाका प्रवक्ताले चिनियाँ सैनिकले आफ्नो क्षेत्रीय सम्प्रभुताको रक्षा गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्