असोज २ देखि स्टारसँग डान्स



विश्वको नम्बर एक डान्सिङ रियालिटी सो डान्सिङ विथ द स्टार्सको नेपाली संस्करण डान्सिङ विथ द स्टार्स नेपाल आगामी असोज २ गतेदेखि हिमालय टेलिभिजनमा आरम्भ हुने भएको छ।

कोरोना सक्रमणका कारण महिनौंदेखि घरमै थुनिएर बसेका दर्शकले अब लोकप्रिय स्टारहरूको मनोरञ्जनात्मक रियालिटी सो हरेक शुक्रबार र शनिबार साँझ ८ बजेदेखि हेर्न पाउने हिमालय टेलिभिजनका कार्यक्रम प्रस्तोता राज श्रेष्ठले जानकारी गराएका छन्।

डान्सिङ विथ द स्टार्सको पहिलो सिजनमा लोकगायिका ज्योति मगर, पहिलो नेपाल आइडल विजेता बुद्ध लामा, फुलन्देकी आमाका रूपमा चर्चित हास्य कलाकार उमेश राई, फेसन कोरियोग्राफर प्रशान्त ताम्राकार, पूर्वफुटबल कप्तान हरि खड्का, अभिनेत्री एवं मोडल रक्षा श्रेष्ठ, नायिका सुमी मोक्तान, ब्लाइन्ड रक्स गायिका सृष्टि केसी, मधेसकी चर्चित नायिका पूजा ठाकुर, टिकटक ट्विन स्टार दीपा–दमयन्ता र लोकप्रिय बाल नृत्य कलाकार देवयान्सी बैदवार स्टार प्रतिस्पर्धीका रूपमा सहभागी छन्।

कार्यक्रमको नियमअनुसार दर्शकको भोट र निर्णायकको मूल्यांकनका आधारमा हरेक हप्ता १ जना कार्यक्रमबाट इलिमिनेट हुँदै जाने छन्। विजेताले कुल २० लाख (करसहित) नगद र अन्य पुरस्कार प्राप्त गर्ने छन्। ट्यालेन्ट, इमोसन, ह्युमर र कम्पिटिसनको फ्युजन रहने डान्सिङ विथ द स्टार्स बहुचर्चित फ्यामिली रियालिटी शोका रूपमा परिचित छ।

लकडाउन अगाडि घोषणा भई कोरोना संक्रमणको जोखिमका कारण सुटिङ हुन नपाएको डान्सिङ विथ द स्टार्स नेपाल कोरोना कहरकै बीचमा मनोरञ्जन प्रदान गर्ने हेतुले प्रसारण शुरू हुन लागेको हो। ‘सरकारले तय गरेको सुरक्षा मापदण्ड पालना गर्दै प्रसारणको तयारीमा जुटेका छौं।’ –कार्यक्रमका निर्देशक लक्ष्मण पौडेलले भने। २६ भागको यो कार्यक्रममा १२ नेपाली स्टार कलाकारले एक–एक जना व्यावसायिक नृत्य कलाकारसँग जोडी बाँधेर नृत्य प्रतिस्पर्धामा भाग लिन्छन्। हरेक साता हुने भोटिङबाट एलिमिनेसन हुने छ।

लकडाउनका समयमा पनि सुटिङ गर्न सकिने गरी बीबीसीले बनाएको नयाँ गाइडलाइनअनुसार दर्शकबिनै सुटिङ गरिएको तथा लकडाउनकै बीचमा २७ मुलुकमा डान्सिङ विथ द स्टार्स सुटिङ र प्रसारण भइसकेकाले त्यसैलाई पछ्याउँदै कार्यक्रम प्रसारण गरिन लागेको हिमालय टेलिभिजनले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्