रात–दिन चलाउने ७ ट्रिपर स्थानीयको नियन्त्रणमा



मिला दरै, तनहुँ

व्यास नगरपालिका–१, १३ र १४ नम्बरका स्थानीयबासीले लामो समयदेखि ट्रिपर आतंक खेपिरहेका छन् । दिनमा ट्रिपर चलाएपछि रातको समयमा नचलाउन विभिन्न सरोकारवाला पक्षसमक्ष पुगेर स्थानीयले गुहार मागेका मागेका थिए ।

स्थानीयले व्यास नगरपालिका, व्यास १ को वडा कार्यालयलगायतका सरोकारवाला निकायसँग सर्वपक्षीय बैकठ बसेर सीमित समयमा मात्रै ट्रिपर चलाउन पाउने निर्णय ग¥यो । तर सर्वपक्षीय निर्णय कार्यान्वयन नभएपछि व्यास–१ का विभिन्न टोलका स्थानीयले सोमबार बिहान ७ वटा ट्रिपर नियन्त्रणमा लिए ।

व्यास नगरपालिका–१ हाईस्कुलटारमा ७ वटा ट्रिपर रोकी बिल बुकलगायत लिएर ट्राफिक प्रहरीलाई बुझाइएको विज्ञानचौर टोल विकास संस्थाका अध्यक्ष भरत पन्थले जानकारी दिनुभयो । पन्थका अनुसार नमुना ग्रिड एन्ड क्रसरको निर्माण सामग्री (ढुंगा, गिट्टी, बालुवा) ओसारपसारका लागि चलिरहेको ट्रिपर स्थानीयले नियन्त्रणमा लिएका हुन् । ८÷९ वटा ट्रिपर एकैपटक तीव्र गतिमा गुड्ने र सडक भत्किन थालेपछि स्थानीयले ट्रिपर नियन्त्रणमा लिएको उहाँले बताउनुभयो ।

गत असार २९ गते बुद्धसिंह मार्गदेखि आदिकवि भानुभक्त क्याम्पस, हाईस्कुलटार, विज्ञानचौर, भादगाउँ, गल्बुबेशी हुँदै पृथ्वी राजमार्ग निस्कने गर्दछन् । यो रुटलगायत सम्बन्धित विषयमा व्यास–१ का वडाध्यक्ष खरसिंह दरैको अध्यक्षतामा विभिन्न टोल विकास संस्था, नमुना ग्रिड एन्ड क्रसरको प्रतिनिधि र सरोकारवालाको उपस्थितिमा ६ बुँदे निर्णय गरिएको थियो । उक्त निर्णय क्रसर उद्योगले कार्यान्वयन गर्ने दुवै पक्षको सहमति भएको थियो तर उक्त सहमतिअनुसार निर्णय कार्यान्वयन नभएपछि सोमबार बिहान स्थानीयले हाईस्कुलटारमा ७ वटा ट्रिपर नियन्त्रणमा लिएका हुन् ।

गत असर २९ गते साना सवारी मात्रै चलाउने, वैकल्पिक मार्ग बनाउनुपर्ने र साँझ ६ बजेदेखि राति ९ बजेसम्म मात्रै ट्रिपर चलाउनुपर्नेलगायतका विषयमा सहमति भएको थियो । वडा कार्यालयमा भएको निर्णय कार्यान्वयन नभएको र उक्त निर्णय तुरुन्तै कार्यान्वयन गराउन भन्दै ट्रिपर नियन्त्रणमा लिएको मिलन टोल विकास संस्थाका अध्यक्ष सोमराज सिग्देलले बताउनुभयो ।

‘सानो बाटोमा क्षमताभन्दा ठूला (हेभी) सवारी चल्दा रोड भत्किन थालेको छ’, अध्यक्ष सिग्देलले भन्नुहुन्छ– ‘असारको निर्णयअनुसार बिग्रिएका, भत्किएका बाटाहरु मर्मत हुनुपर्ने मुख्य माग हाम्रो हो, हुन सकेको छैन, यस्तोमा दिनरात नै ठूला सवारी गुड्दा सडक पूर्णरुपमा छियाछिया हुने अवस्थामा पुगेको छ, त्यसतर्फ भने कसैको चासो नपुगेपछि यस्तो निर्णय गरेका हौं ।’

दैनिकरुपमा ६÷७ वटा ट्रिपर लगातार तीव्र गतिमा गुड्दा त्यो रुपमा स्थानीयमा दुर्घटना हुनसक्ने डर भएको छाब्दी प्रवेश टोल विकास संस्थाकी अध्यक्ष गंगादेवी गुरुङले बताउनुभयो । उक्त विषयमा वडा र नगरपालिकामा सम्झौता गरे पनि निर्णय कार्यान्वयन नभएको अध्यक्ष गुरुङले बताउनुभयो । ‘सम्झौतानुसार काम भए चल्न दिने तर अब पनि कार्यान्वयन नभए अब प्रवेशद्वारमै ट्रिपर रोकिदिन्छौं।’ –उहाँले भन्नुभयो ।

व्यास–१ का वडाध्यक्ष खरसिं दरैले गत असारको निर्णय कार्यान्वयन नभएको स्विकार्नु हुन्छ । ‘त्यो बेला बाढीपहिरोसँगै कोरोनाको जोखिम रहेकाले सम्झौताअनुसार अर्को पक्ष –नमुना ग्रिड एन्ड क्रसर)ले कार्यान्वयन नभएको हुनसक्छ।’ –उहाँले भन्नुभयो ।

नमुना ग्रिड एन्ड क्रसरका प्रतिनिधि सम्पर्कमै रहेको र चाँडै नै सडक मर्मतको काम गर्नेसमेत वडाध्यक्ष दरैले जानकारी दिनुभयो । ‘टोल समितिहरुले अर्को पक्षले व्यास नगरपालिकाले तोकेको समयावधिमा मात्रै ट्रिपर चलाउनुपर्नेमा मनलाग्दी गरेको जानकारी पाएको छु’, उहाँ भन्नुहुन्छ– ’अब फेरि दुई पक्षलाई राखेर छलफल गर्छौं ।’

कागजात राखेर स्थानीयले रोकेका ट्रिपरलाई छोडिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख रेशम रानाभाटले बताउनुभयो । ‘पहिले निर्णय हुँदा पनि ट्राफिक प्रहरीलाई जानकारी थिएन, सडक हो सवारी गुड्नचाहिँ पाउनुपर्छ, तर समयको व्यवस्थापन भने गर्नुपर्ने देखिन्छ, सम्बन्धित व्यक्ति आएपछि कागजपत्र पनि दिनेछौं।’ –रानाभाटले भन्नुभयो ।

ट्रिपरले लामो समयदेखि बन्दीपुर गाउँपालिकास्थित बुद्धसिं मार्गबाट गिट्टी, बालुवा, ढुंगा ल्याउने गरेका छन् । दमौली बजार क्षेत्रबाट सामग्री ढुवानीमा कडाई गरिएपछि व्यास नगरपालिका–१ का सडकबाट पृथ्वी राजमार्गनजिकै रहेको भण्डारणमा ल्याउने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्