आरोप पुष्टि गर्न डा. सुवेदीको चुनौती



न्युज अफ नेपाल, वार्सा (पोल्याण्ड) ।

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् पोल्याण्डका पूर्वअध्यक्ष डा. बोधराज सुवेदीले आफूलाई मानव तस्करमा संलग्न भएको आरोपको खण्डन गर्दै आरोप पुष्टि गर्न चुनौती दिनुभएको छ ।

उहाँले सोमबार एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै भन्नुभएको छ, ‘पोल्याण्डमा विगत ३० वर्षदेखि स्वास्थ्य क्षेत्रमा सक्रिय रहँदा मैले कुनै पनि व्यक्तिलाई यहाँ वा अन्यत्र कुनै पनि मुलुकमा कुनै पनि व्यक्तिलाई ल्याउने–लैजाने गरेको छैन, आरोप लगाउनेलाई पुष्टि गर्न म चुनौती दिन्छु ।’

डा. सुवेदीले आफूविरुद्ध प्रकाशित समाचारको खण्डन गर्दै सो विज्ञप्ति निकाल्नु भएको हो । उहाँले स्पेनमा रहेका पत्रकार दीपेन्द्र गजुरेलको नाममा न्युज अफ नेपालमा छापिएको समाचारको सम्बन्धमा भन्नुभएको छ, समाचार कुनै तथ्य र सत्यतामा आधारित नभई राजनीतिक पूर्वाग्रहले ग्रसित छ । ‘पत्रकारितामा  एबिसि चाहिन्छ भन्ने उहाँलाई थाहा छैन ? बि भनेको ब्लालेन्स होइन?आरोप नै लगाउने हो भने मलाई आफ्नो भनाइ राख्ने मौका दिनुपर्दैन ?’ उहाँको प्रश्न छ, काल्पनिक आरोपजन्य भाषा छनोटले चरित्र हत्या गर्ने नियत प्रमाणित गर्दैन र ?

कुनै पनि अभियोग लागेमा व्यक्तिले गरेको गैरकानुनी कामको पुष्टि, प्रमाणित र दण्डित गर्ने अन्तिम अधिकार न्यायालयमा हुँदाहुँदै यस्ता गतिविधिलाई प्राथमिकता दिँदा आफू आश्चर्यचकित भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सुवेदीले नेपाली राजदूतको गरिमा समेतलाई ख्याल नराखी छापिएको सो समाचारमा प्रस्तुत स्रोतहरु शतप्रतिशत कपोलकल्पित र भ्रामक हुन् भन्नुभएको छ ।

नेपाली राजदूतावास जर्मनीका राजदूतलाई आर्थिक प्रलोभनमा पारेको, गैरआवासीय नेपाली संघ पोल्यान्डको अध्यक्ष हुँदा पदको दुरुपयोग गर्दै पोल्याण्डमा कार्यक्रमका लागि भन्दै नेपालबाट केही व्यक्ति पोल्यान्ड ल्याएर भगाएको, पोल्यान्डका लागि नेपाली कन्सुलर बन्ने दौडमा लागेको, एनआरएनए अध्यक्ष हुँदा मनलाग्दी गरेको र पदको चरम दुरुपयोग गरेर दूतावासमा निमन्त्रणा पत्र लेखेर गोप्य रुपमा बोलाउने गरेको, विभिन्न समयमा  अन्य धेरै मान्छेहरूलाई युरोप भित्र्याउने कामगर्दै आएको, मानव ओसारपसार गर्नलाई नै हजारौं युरो खर्च गरेर कन्सुलर बन्न लागि परेको, एनआरएनलाई प्राइभेट कम्पनी जस्तो बनाएको लगायतका आरोपहरु समाचारमा लगाइएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्