कोरानो बारे अफवाह फैलाउने लिम्बु प्रहरी खोरमा



न्युज अफ नेपाल, काठमाडौं ।
नेपालमा कोरोना संक्रमितको संख्या बढिरहेको बेला विभिन्न युट्युब च्यानलका अन्तरवार्तामा कोरोना संक्रमणबाट मृत्युको व्यक्तिको अंग निकालिने गरेको अभिव्यक्ति दिने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । आफूलाई प्राकृतिक चिकित्सक बताउने सुवास सुब्बा लिम्बुलाई प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दिपक थापाले अफवाह फैलाएको अभियोगमा लिम्बुलाई सोमबार ललितपुरको ढोलाहिटीमा रहेको आयुर्वेद क्लिनिकबाट पक्राउ गरिएको बताउनुभयो । उहाँका अनुसार पक्राउ परेका लिम्बुविरुद्ध अफवाह फैलाएको कसूरमा म्याद थप गरेर अनुसन्धान अघि बढाइनेछ ।

पछिल्लो समय विभिन्न माध्यममा अन्तरवार्ता दिँदै उनले कोरोनाबाट मृत्यु हुनेको शव नदेखाइनु र पोष्टमार्टम नहुनु पछाडिको कारण गोप्य रुपमा अंग झिक्न हो भनेर दाबी गर्दै आएका थिए । तर, दाबीलाई पुष्टि हुने कुनै प्रमाण नभएको पाइएपछि उनलाई कानुनी दायरामा ल्याइएकोथापाले बताउनुभयो ।

अन्तिम विकल्प प्रालिका संचालक ललितपुर महानगरपालिका–१४ नक्खिपोट बस्ने तेह्रथुम घर भएका ५१ वर्षीय सुबास सुब्बा लिम्बुले युट्युब च्यानलमा अन्तर्वार्ताको क्रममा कोरोना नै छैन सरकारले हावा पिटेको भन्दै कोरोना संक्रमितको मृत्यु पश्चात आफन्तलाई भेटन नदिई शरिरका विभिन्न अंगहरु (किडनी, आँखा, लिभर) झिकेर बेचबिखन गरी भष्ट्राचार गरिरहेकोले सडकमा आन्दोलन गर्न सबै आउनु पर्ने अभिव्यक्ति दिएका थिए ।

समाजमा उत्तेजना फैलाउने, आम सर्वसाधारणलाई दिगभ्रमित गराउने, विभिन्न व्यक्तिहरुलाई आक्षेप लगाउने अभिव्यक्तिहरु दिई सार्वजनिक शान्ति भंग गर्ने कार्यमा संलग्न भएकाले पक्राउ गरिएको थापाले जानकारी दिनुभयो । पक्राउ परेका लिम्बुलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्