वर्षातका कारण अवरुद्ध ग्रामीण सडक दशैं अघि सुचारु हुने



राम धामी, डडेल्धुरा ।

बर्षायाममा बाढी र पहिरोका कारण क्षतिग्रस्त हुन पुगेका ग्रामीण सडकहरु मर्मत सम्भार कार्य सुरु भएको छ । दशैं अघिनै ग्रामीण सडक सुचारु गर्न मर्मत सम्भार गरिन थालिएको हो ।

वर्षासँंगै आएको बाढी र पहिरोका कारण सडक अवरुद्ध हुँदा आवतजावत गर्न समस्या भएपछि सुदू्रपश्चिम प्रदेश सरकारले मर्मत सम्भारका साथै पहिरो पन्छ्याएर अवरुद्ध सडक खण्ड सुचारु गर्न थालेको हो । सुदूरपश्चिम प्रदेश सरकारको भौतिक पुर्वाधार विकास मन्त्रालयको निर्देशनपछि पुर्वाधार विकास कार्यालय डडेल्धुराले प्रदेश सरकारअन्तर्गत रहेका ग्रामीण सडकमा भएको क्षतिको विवरण संकलन गर्न थालेको छ ।

अविरल वर्षाकाका कारण बाढी र पहिरोले अवरुद्ध हुनुका साथै कोरोना भाइरस महामारीको जोखिमका कारण पनि मर्मत सम्भार कार्य हुन नसकेका सडकमा भएको क्षतिको सम्पूर्ण विवरण एक साताभित्रै आइसक्ने पूर्वाधार विकास कार्यालय डडेल्धुराका डिभिजन प्रमुख रामचन्द्र खत्रीले बताए । सुदूरपश्चिम प्रदेश सरकार अन्तर्गत रहेको बुडर–नाइल सडक, लिप्ना–जोगबुडा सडक, सलौन–चिरकिट्टे सडकमा बढी क्षति पुगेको पुर्वाधार विकास कार्यालय डडेल्धुराले जनाएको छ ।

यसैगरी डडेल्धुरा जिल्लाका अन्य ग्रामीण सडकहरुमा पनि पहिरो र बाढीले क्षति पुगाएको छ । बाढी पहिरोका कारण क्षति पुगेका सडकको मर्मतका साथै सडकमा आएको पहिरो हटाउन प्रदेश सरकारले ५० लाख रुपैयाँ उपलब्ध गराएको पूर्वाधार विकास कार्यालय डडेल्धुराका लेखा अधिकृत बिरबहादुर ऐरले जानकारी दिए । डडेल्धुरामा विशेषगरी वर्षातका कारण बाढीले सडकमा ठूलाठूला खाल्डाखुल्डी पर्नुका साथै पहिरोका कारण ग्रामीण सडकहरु अवरुद्ध बनेका छन ।

बाढी र पहिरोको प्रकोपका कारण जोखिमपूर्ण बनेका ग्रामीण सडकहरु दशैं अगाडी सुचारु गरिने सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पुर्वाधार विकास मन्त्री पठानसिँह बोहराले बताए । प्रदेश सरकारअन्तर्गत रहेका डडेल्धुरा जिल्लाका प्रमुख तीन सडकलाई कालोपत्रे गर्ने काम पनि चालु आर्थिक बर्षदेखि सुरु भएको छ । जिल्लाका महत्वपुर्ण मानिने बागबजार–बगरकोट सडक, उग्रतारा मेलौली सडक र पोखरा बेलापुर सडकको कालोपत्रे गर्ने काम सुरु भएको मन्त्रालयले जनाएको छ । सुदूरपश्चिम प्रदेश सरकारअन्तर्गत डडेल्धुरामा प्रदेश गौरवको योजनासहित साना ठूलागरी २० ओटा सडक छन् ।

प्रतिक्रिया दिनुहोस्