चिनियाँ अवतारमा निरिशा



रश्मी थापा ।

मुम्बईमा बसेर संघर्ष गरिरहेकी नायिका निरिशा बस्नेतले अभिनय गरेको नयाँ सिरियल तेनाली रामाको प्रोमो सार्वजनिक भएको छ। सब टिभीबाट प्रसारण हुने हिस्टोरिकल फिक्सनमा आधारित सिरियलको प्रोमोमा निरिशा चिनियाँ अवतारमा रहेकी छिन्। उनी यसमा केमियो भँमिकामा छिन्। निरिशाले सिरियलमा आफ्नो प्रवेश भएपछि कहानीमा ट्विस्ट आउने नेपाल समाचारपत्रलाई बताइन्।

गतवर्ष रिलिजमा आएको फिल्म जानी नजानीबाट नेपाली रजतपटमा डेब्यु गरेकी निरिशाले तीन वर्षपछि भारतीय सिरियलमा कमब्याक गर्ने क्रममा यो सिरियलमा अभिनय गरेकी हुन्। यसको प्रामो गत बिहीबार सार्वजनिक गरएको हो। प्रोमोमा उनलाई विशेष रूपमा प्रस्तुत गरिएको छ भने विभिन्न गेट अपमा देखाइएको छ। निरिशाका अनुसार सिरियलमा उनले चिनियाँ अधिकारीको भँमिका निर्वाह गरेकी छन्। ‘मेरो क्यारेक्टर चीनको हिङडोङ राज्यको महाराजाको प्रवक्ताको हो। सिरियलमा मेरो प्रवेश भएपछि नयाँ ट्विस्ट आउँछ।’

सार्वजनिक प्रोममा चिनियाँ मौलिक पहिरनमा हिन्दी भाषामा संवाद बोल्ने र हाउभाउको उनको शैली रोचक देखिन्छ। अभिनेता, निर्माता र निर्देशक पिता विश्व बस्नेतकी यी नायिका पुत्रीले यस अघि हिन्दी सिरियल चन्द्र नन्दिनीमा पनि काम गरेकी थिइन्। त्यस सिरियलमा भने उनी मुख्य भँमिकामा थिइन्। सिरियल खेल्दाखेल्दै नेपाली फिल्ममा खेल्ने अफर आएपछि उनले नेपाल आएर जानी नजानीमा अभिनय गरेकी थिइन्। जानीनजानी रिलिजमा आउनु अघि नै उनी पुनःमुम्बई फर्केकी थिइन्।

सिरियल अभिमन्यु सिंहको प्रोडक्सन हाउसले निर्माण गरेको हो। मुम्बईमा काम गरिसकेकी निरिशाको अभिनयको तारिफ नेपालमा पनि भएको थियो। जानीनजानीमा गरेको अभिनयका कारण उनी कामना फिल्म अवाड्र्स–२०७६को सर्वोत्कृष्ट नवनायिकाको मनोनयनमा समेत परेकी थिइन्। आफँले फिल्ममा निकै मेहनत गरे पनि व्यापारिक रूपमा सफल हुन नसकेकोमा दुःखलागेको निरिशा बताउँछिन्। ‘फिल्मका लागि केवल तीन महिना भनिएको थियो तर सुटिङ र प्रमोसन गरी एक वर्ष नै लाग्यो। फिल्म राम्रोसँग नचल्दा मलाई कतिदुःख महसुस भयो होला। तर, फिल्म नचले पनि अभिनय चाहिँ राम्रो छ भन्ने समाचारले खुसी पनि लाग्यो। फिल्मको प्रमोसन नै राम्रोसँग नभएकाले पनि फिल्म नचलेको भन्ने लाग्छ’ –उनी भन्छिन्।

प्रतिक्रिया दिनुहोस्