महिलालाई कानुनी ज्ञान अपरिहार्य



लालतारा अधिकारी ।

कुनै पनि राज्यले आफ्नो देशको मूल कानुन अर्थात् ‘संविधानको मूल मर्मलाई सर्वोच्च राख्दै’ कुनै काम गर्न वा नगर्न निर्दिष्ट गर्ने नियमहरुको सङ्गालोसहितको पद्धति नै कानुन हो । सामान्य अर्थमा बुझ्ने हो भने कानुन कुनै राज्यले शान्ति सुरक्षा कायम राख्न निश्चित गरिएका नियमहरु हुन् । कानुनका बारेमा सबै मानिस जानिफकार हुँदैनन् र हाम्रो जस्तो कम विकसित मुलुकमा त धेरैले आफूलाई कानुनी कुरा के थाहा ? पनि भन्छन् । यसरी हाम्रो समाजमा कानुनी ज्ञानको अभावका कारण नियतविना नै पनि मानिस आपराधिक गतिविधिमा सम्लग्न हुन पुगेको पाइन्छ तर कानुनी हिसाबमा अपराध अपराध नै हुन्छ, चाहे त्यो जानेर गरिएको होस् वा नजानेर । किनकि ‘कानुनको अनभिज्ञता क्षम्य हुँदैन’ । यसरी कानुनी तवरबाट अमान्य हुने खालका कार्यहरु अन्जानमा वा वदनियतविना नै भएको भए पनि त्यो क्षम्य हुँदैन । यस्ता व्यक्तिलाई कानुनले आफ्नो दायरामा ल्याएर कानुनका दफा–उपदफाबमोजिमका सजाय, दण्ड र जरिबाना गराएरै छाड्छ । यसकारण पनि हरेक मानिसले आफ्नो देशको कानुनको विषयमा ज्ञान राख्नु जरुरी छ ।

हाम्रो देश प्राकृतिक सम्पदाहरुले त सुन्दर र धनी छ तर विश्वका अनेकौं विकसित मुलुकका तुलनामा विभिन्न किसिमका मानव विकास सूचकाङ्कमा भने निकै नै पछाडि परिरहेको हुँदा शिक्षा र चेतनस्तर पनि नाजुक नै छ । पितृसत्तात्मक सोच बोकेको समाज, यही परिपाटीमा मौलाएको धर्म–संस्कार, संंस्कृितलगायतका कुराहरुले पनि महिलालाई निकै पछि पारेको छ मात्र होइन, कतिपय घटनामा महिलाका शत्रु महिला नै बन्न पुगेको पनि पाइन्छ । यी र यस्तै आधारहीन विश्वासका कारण कैयौं महिला जघन्य अपराधका सिकार भइरहेका छन् ।

अब यहाँनिर गम्भीर भएर आमनेपाली महिलाले सोच्नुपर्ने र अझ शिक्षित मानिएका महिलाले त बुलन्द आवाजसहित प्रश्न गर्नु जरुरी छ, किन महिलाका शत्रु महिला ? किन महिलाहरु नै महिलाका विरुद्धमा उभिन्छन् ? यस विषयमा अब खोज–अनुसन्धान गर्नु जरुरी छ । यदि हामीले सामान्य मात्र विश्लेषण गरेर हेर्ने हो भने पनि केही हदसम्म अनुमान गर्न सक्छौं कि यसको मुख्य कारण पितृसत्तात्मक संंकुचित सोच नै देखिन्छ । आज पनि सासू र बुहारीकै बीचमा गहिरो खाडल छ भने सासू र ज्वाइँको बीचमा मजबुत साँघु छ । त्यस्तै नन्द, आमाजू, भाउजू, बुहारीका बीच असमझदारी र वैमनष्यता छ भने देवर, जेठाजु, ज्वाइँचेला र भाउजू–बुहारीका बीच त्यस्तो कुनै रिसराग पाइँदैन ।

यस किसिमले हेर्दा साना लाग्ने तर सम्बन्धका सवालमा ठूलो दरार ल्याउने र व्यवहारमा जटिलता थपिदिने कारणहरुले गर्दा नै महिलाहरु दोस्रो दर्जाका नागरिकका रुपमा परिचित हुँदै अनेकौं किसिमका हिंसा र अपराधका सिकार बन्न पुगेका हुन्छन् । यसरी वर्तमान समयमा एकातिर यस्ता आपराधिक गतिविधि दिनानुदिन मौलाउँदो छ भने अर्कोतिर कानुनको सामान्यभन्दा सामान्य ज्ञान र चेतना नहुँदा पीडितलाई न्याय माग्ने विधि–प्रक्रियाको सामान्य जानकारीसमेत नभएको अवस्था छ । अपराधका विभिन्न रुपहरु छन् भने अपराधीहरु पनि अनेकौं बहाना र नाता–सम्बन्धको आवरणमा महिलाहरुको शोषण, उत्पीडनमा सामेल भैरहेका पाइन्छन् । हाडनातामा हुने यौन दुव्र्यवहार, सामूहिक बलात्कार, ब्ल्याकमेलिङबाट हुने पटके यौनशोषण, गरिबीको कारण हुने यौनदुराचार, वैदेशिक रोजगारमा गएका घरका चेलीमाथि हुने बाध्यात्मक तर आपसी सहमतिमा हुने यौनशोषण आदि यसका प्रत्यक्ष उदाहरण हुन् ।

अर्कोतर्फ साथीसंंगती र हाल प्रचलनमा आएको सामाजिक सञ्जाल प्रविधिको प्रयोगसम्बन्धी अर्धज्ञान, अपरिपक्व उमेर एवं अस्थिर मानसिकताका कारण अनेकौं अपराधहरु हुने गरेका छन् तर तीमध्ये थारै मात्र सतहमा आउँछन् । कैयौं निर्मलाहरु, ख्यातिहरु र सुस्मिताहरुका अस्मिता मात्र हैन ज्यान नै समेत गुमेको अवस्था छ । यी त सञ्चारमाध्यममा आएका र पछि अनेकौं दबाब र पहुँचका कारण सेलाएका अपराधहरु हुन् । अपराधीहरु चिनिए तापनि कानुनले नडामेकाले उनीहरु समाजमा साँढेझैँ हिँडिरहेका हुन्छन् । उनीहरुका विरुद्ध उजुरी गर्ने र न्याय माग्ने कुरा त परै रह्यो, कथित इज्जत बचाउने नाममा अनेक उपाय लगाएर घटनालाई गुपचुप गर्नतिर नै समाजका भद्रभलाद्मी भनिनेहरुकोे भूमिका देखा पर्दछ । यिनै कारणले गर्दा पीडितहरु समाजमा अपहेलित जीवन जिउन वा जीवनमार्गमा दृष्टि गुमेझैँ अन्धकारमा रुमलिएर आत्महत्याको बाटो रोज्ने अवस्थामा पुगेका पाइन्छन् ।

आजको यो आधुनिक युगमा विज्ञान तथा प्रविधिको रफ्तारपूर्ण विकास एवं विभिन्न विद्युतीय उपकरणले मानिसलाई एक–आपसमा जोडिदिएर सिंगो विश्वलाई नै एउटा सानो गाउँको रुपमा परिभाषित गर्न सक्ने बनाइदिएको छ । हरेक सिक्काका दुई पाटा हुन्छन् भनेझैँ प्रविधियुक्त युगले पनि जनमानसलाई सहज जीवनयापनमा सहायता पु¥याएको त छँदै छ तर यसको विपरीत हाम्रो जस्तो कम विकसित देशका अर्धचेतनशील मानिसका लागि यो कानुन विपरीतका कार्र्यहरु गर्न उक्साउने माध्यम पनि बन्न पुगेको छ । यसको दुरुपयोगको प्रतिफलस्वरुप महिलाहरु जीवनमरणको दोसाँधमा पुग्न बाध्य भएका छन् । सानातिना आय–आर्जनका काम गर्न मन नलाग्ने, थोरैतिनो कमाइले गुजारा चलाउन मुिस्कल पर्नेजस्ता परिस्थितिका कारण राम्रो कमाइका लागि विदेशिन बाध्य महिला–पुरुषहरुको समस्याका फाइदा उठाउने, उनीहरुलाई अनेक प्रकारका शोषणजालमा फसाउने मानिसहरुको पनि समाजमा कमी छैन । यसमा विशेषतः असहाय, अशिक्षित र अभावमा गुज्रिएका महिलाहरु फसाइन्छन् ।

यसरी फसेका मध्ये ८० प्रतिशतले बाध्यात्मक आत्महत्याको बाटो अपनाउँछन्, १० प्रतिशत जतिले एकतर्फी सम्बन्धविच्छेदको फैसला सुनी गल्तीविनाको सजाय भोग्दै विक्षिप्त जीवनयापन गर्दछन् भने लगभग १० प्रतिशतले यस्ता अन्यायको मार सहन नसकी मानसिक सन्तुलन गुमाउन पुग्छन् । यसरी पलपल मर्दै जीवनलाई पार लगाउनुपर्ने बाध्यता हाम्रो समाजका अनेकौं महिलाहरु छन् । यी घटनाक्रममा कुचक्रमा मूलतःं महिलाहरु नै पर्दछन्, जो आफू पनि यो समाजमा कत्ति सुरक्षित छैनन् तर पनि पीडित महिलाका पक्षमा एक शब्द बोल्ने आँट गर्दैनन् । यस्तो हुनुको कारण उनीहरु आफैंमा दोषी हैनन्, दोषी त त्यही पुरुषवादी सोच र धारणा हो, जसले महिलाको मानसिकतामा .समेत पुरुषलाई राख्न सफल भयो ।

यही कारणले गर्दा दोषी महिलालाई नै ठहर्‍याइन्छ । रामायणकालदेखि नै यस्तै हुँदै आएको छ । रावणद्वारा अपहरण गरिएकी सीताको चरित्र जाँचका लागि अग्निपरीक्षा हुन्छ तर सीता साथमा नभएकी बेलाका रामको चरित्रमा भने कुनै प्रश्न उठाइएको पाइँदैन । यसरी चरित्रका सम्बन्धमा समाजमा गरिने अनेक कानेखुसीले शिथिल बनाइएकी पीडित महिला कानुनी ज्ञानको अनभिज्ञताकै कारण न्यायमा पहुँच पुर्‍याउन सक्दिनन् । अर्कोतिर न्यायदूत बनी बसेकाहरु पनि महिलालाई नै दोषी ठहर्‍याउन अभ्यस्त भएको खबर तिनै समाजका अगुवा भनाउँदाहरुले महिलाका कानसम्म महिलाकै माध्यम अपनाई पुर्‍याइसकेका हुन्छन् र विनाकुनै प्रश्न अपराधको अध्याय समाप्त हुन्छ ।

यही पितृसत्तात्मक एवं परम्परागत सोचले गर्दा हाम्रो जस्तो पिछडिएको समाजमा पुरुषको तुलनामा महिलाहरु बढी पीडित हुने गर्दछन् । इतिहास केलाउँदा कुनै महिलावादी वा भनौं महिलाका लागि कानुनी हित गर्ने उद्देश्यका साथ संंगठित गैससहरुले पनि यस्ता अपराधका विरुद्धमा अडानयुक्त कदम उठाउन सकेको पाइँदैन । वैदेशिक रोजगारीमा गएका पुरुष र महिलाको तुलना गर्ने हो भने, महिलालाई अनेकौं तरिकाबाट केरकार गरी नारी अस्मितामाथि प्रश्न खडा गरिन्छ भने पुरुष दशौं वर्ष विदेशमा बसेर फर्किए पनि कुनै किसिमको प्रश्न न समाजले गर्दछ, न त निज पुरुषकी श्रीमतीले नै गर्ने आँट गर्न सक्छिन् । अझ उल्टै अरुका कुरा सुनेर समाजका बुज्रुकहरुको सल्लाहलाई स्वीकार्दै आफ्नै देशमा बालबच्चा र घर सम्हालेर आफ्नो अस्मितालाई जोगाउँदै बसेकी श्रीमतीमाथि नै प्रश्न गरी नखाएको विष उगल्ने प्रयास गरिन्छ । कतिले त एकतर्फी सम्बन्धविच्छेद मुद्दा दायर गर्ने, बेअंशी बनाउने, उनका मेहनतमा पानी फेर्ने, उनको चरित्र हत्या गर्ने योजनासमेत बनाई अनेक अपराधजन्य खेलहरु खेलिरहेका हुन्छन् ।

यसरी हालको अवस्थामा त विद्युतीय प्रविधिको दुरुपयोग गरी फेसबुक, ट्वीटर, वाट्सपजस्ता सामाजिक सञ्जालबाट सोझासीधा महिलालाई ब्ल्याकमेलिङसमेत गरी पीडित बनाइरहेका छन् । यी सबै अपराधहरुको निराकरण हुन नसक्नुको कारण कानुनी ज्ञान र कानुनी अधिकारबारे अनभिज्ञ हुनु हो । त्यसैले अब यस्ता महिलामाथि हुने दुव्र्यवहार, हत्या, हिंसा, बलात्कार, विभेद तथा दुरुत्साहनका विरुद्धमा समानुपातिक अधिकार आरक्षण कोटा आदिको माग नगरी आजका युगका नारी आफैं अग्रसर भएर कानुनका कुरालाई बुझी न्याय र मुक्तिका लागि लड्न सक्नुपर्दछ । यसका निमित्त नेपालको संविधान २०७२ ले प्रदत्त गरेको स्वतन्त्रताको हक, सम्पत्तिको हक, न्यायसम्बन्धी हक, शोषणविरुद्धको हक, महिलाका हकलगायतका महत्वपूर्ण मौलिक हकहरुका बारेमा ज्ञान हुनुपर्छ । साथै यस्ता हकसम्बन्धमा बुझ्न र ती अधिकार हनन भएका अवस्थामा थप पीडित हुँदै रहनुको सट्टा अपराधी (पीडक) लाई उन्मुक्त हुन नदिई कानुनको दायरामा ल्याउन सक्नुपर्छ । पीडकलाई हदैसम्मको दण्ड–सजाय दिलाएर आफूले पनि संवैधानिक उपचारको हक प्राप्त गरी इज्जत–प्रतिष्ठासहित समाजमा पुनस्र्थापित भई बाँच्ने वातावरण बनाउन पनि आजका युगका महिलाहरुले कानुनी साक्षरता हासिल गर्नु जरुरी छ ।

(लेखक अधिवक्ता हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्