‘भर्चुअल’ दुनिया



(कविता)

कोरोना तिमीले,
हातमा मोबाइल थमाइदियौ कोठाभित्र हुल्यौ
तिमी चाहिँ बितण्डा मच्याई मच्याई डुल्यौ
के नैं बाँकी छ र अब अझै पनि ‘अत्ति’
सबै क्षेत्र अध्यारो भो निभिसक्यो बत्ती
यहि बेलामा मोबाइल,

सबैलाई भा’छ यो दिन काट्ने धारिलो हतियार
होस नपु¥याई चलाउँदा गर्ने हो कि गलामै प्रहार
जीवनशैली पुरानो नैं मीठो, चुस्यो रस भर्चुअलले
इतिहास बनिसक्यो त्यो अमृत पल प्रविधिको छलले
गला घोट्यो बाल्यकालको ‘अर्गानिक’ खेलको
चुरीफुरी कति दिनको ? यस्तो खाले भेलको

हुन त
तिम्रै कारण
गास छिर्छ गलाबाट दिएमात्र तिमीले मलाई मीठो साथ
सुनौलो बिहानीमा बदलिन्छन् क्षणहरु भएपनि मध्यरात
माया मोह अत्याधिक छ तिमीमाथि बसिसक्यो नसा
कहिले बन्छौ तिमी साथी कहिले भने साँढे साती दशा

तर पनि
सुरु अन्त्य जोडिराख्ने जिन्दगीको कसिलो यो पयो
तिम्रै कारण बेस्वादिलो जिन्दगी नि रसिलो पो भयो
ब्रह्माण्डका्े आँखीझ्याल हौ तिमी संसार देख्ने चश्मा
विश्व ज्ञानकोष बगैंचा छ फल्दो फुल्दो सधैं तिम्रो बसमा

पक्कै हो
गुण अवगुण जहाँपनि सिक्काका हुन दुई पाटा
केहि कुरामा फाइदा नि छ केहि कुरामा घाटा

प्रकाश कुमार सिग्देल
वालिङ–७, स्याङ्जा

प्रतिक्रिया दिनुहोस्