कविता : अछुत आतङ्क



तारा भट्टराई ।

बिमारीका लागि अस्पताल, विद्यार्थीका लागि पाठशाला
पसलेका लागि ग्राहक, गाडीधनीका लागि यात्रु
सबै मुख लुकाएर हिंड्छन्, मानौं सबैको मुख–मुखमै विष छ
विष छोप्न लगाएका मास्कधारी मानवहरुको यत्रतत्र भीड छ ।

आमाको काख र सन्तानको साथ पनि अछुत
बाबुको अभिभावकत्व र पति–पत्नीको भावना पनि अछुत
परिवारको न्यानोपन र छिमेकीको धर्म पनि अछुत
आफन्तको अन्तिम सास र मरेपछिको लास पनि अछुत।

हामीले गर्ने दाहसंस्कार र क्रियासंस्कार पनि अछुत
चिहान, घाट, मसानघाट र क्रियापुत्री घर समेत अछुत
बाँच्नेका लागि मर्ने अछुत मर्नेका लागि बाँच्ने अछुत
कसैले भेट्न र छुन नहुने किनकि कोरोना विषाणु लागेको छ ।

नप्लेन उडेका छन् न गाडी गुडेका छन्
धरती आकाश सबै खाली जनजनको चूह्लो पनि निभेको छ
बाटोमा दुई मिटर उर्दी छ नत्र ताता घाममा उभिनुपर्छ
आफ्नै हात र लुगाफाटोमा मृत्यु चिहाइरहेको भान हुन्छ ।

हेर्दाहेर्दै सबै अपरिचत जस्ता सबै अछुत जस्ता
सबै लाचार, विवश, काँतर र निर्जीव पत्थर जस्ता
न विवेक छ न हिम्मत छ सहारा नपाएका प्राणी जस्ता
न जोश छ न होश छ न कुनै साझा भावना छचल्किन्छ ।

सबै ठप्प सबै सुनसान जताततै भय र त्रास मात्र छ
सबैमा मरिने बाँचिनेको द्विविधा छ मानौं युद्ध हारेका कैदी हुन्
यस सुनसान भित्र पनि आशाको दियो कतै टाढा बलेकै हुन्छ
किनभने यो प्राकृतिक विपत्ति हो सबैले सामाना गर्नु नै छ ।

प्रतिक्रिया दिनुहोस्