सामाजिक सञ्जालमा आपत्तिजनक शब्द



सामाजिक सञ्जाल पनि अहिले एक आमसञ्चारमाध्यमका रूपमा विकास भएको जस्तो देखिएको छ । तर फेसबुक, ट्वीटर आदिमा प्रयोग गरिने शब्दले समाजमा निकै नकारात्मक असर पारिरहेको छ । अहिले छ्यापछ्याप्ती खुलेका अनलाइन सञ्चारमाध्यमसमेत सन्तुलित नभएको, कसैप्रति पूर्वाग्रही भएको, कसैप्रति बढ्ता भक्ति गरेको देखिएको छ । यस्ता सञ्चारमाध्यप्रति सचेत पाठकहरूले निरन्तर खबरदारी गरिरहनुपर्छ। र, नियमनकारी निकायले गलत काम गर्ने र समाजमा नकारात्मक सन्देश दिनेलाई अंकुश लगाउन सक्नुपर्छ ।
सामाजिक सञ्जालमा पोस्ट गरिएका समाचारमा गरिने कमेन्टहरूको अध्ययन गर्दा सकारात्मक शिक्षा, सुझाव एवं सिर्जनात्मक आलोचनाहरू मात्रै भेटिँदैन, यसमा हाम्रो समाजको सांस्कृतिक स्तर पनि यदाकदा प्रकट हुने गरेको पाइन्छ । नकारात्मक कुराहरू पनि छरपस्ट भएका हुन्छन् । कतिपय पाठकले राम्रो कमेन्ट गर्दागर्दै पनि केही त्यस्ता शब्दहरू घुसाउनुभएको हुन्छ, जसका कारण कमेन्ट ‘शो’ हुन गाह्रो पर्छ । त्यसपछि आफ्नो कमेन्ट ‘शो’ नभएको झोकमा अश्लील गालीहरूको पनि बर्सात हुने गर्छ ।
अहिले सामाजिक सञ्जालमा विभिन्न किसिमले गाली र आक्रोश पोखेको पाइन्छ । धोती, खाते र भालुजस्ता शब्दहरू बढी प्रयोग भएका छन् । कतिपय पाठकले कसैलाई गाली गर्नुपरेमा यी शब्दहरू अक्सर प्रयोग गर्ने गरेको समाजिक सञ्जालमा प्रस्ट देखिन्छ । विशेष गरी मधेसी मूलको व्यक्तिलाई धोती, नेता वा कुनै व्यक्ति विशेषलाई खाते र महिलालाई भालु भन्ने गरिएका कमेन्टहरू जताततै आउने गरेका छन् ।
धोती आफैंमा नराम्रो शब्द होइन तर यसलाई नकारात्मकरूपले प्रस्तुत गर्दागर्दै यो शब्द फरक ढंगले प्रस्तुत हुन्छ । पहाडे बाहुनले खाना खाँदा मात्रै होइन, अनेक शुभकर्ममा धोती नलगाई सुखै छैन । अझ आशौच बार्दा राष्ट्रिय पोशाकरूपी सुरुवाल लगाउन पाइन्न, १३ दिनसम्म धोतीकै भरमा इज्जत धान्नुपर्छ । तर, पहाडे मूलको मानिसले मधेसी समुदायको मानिसलाई हेपेर भन्ने शब्दका रूपमा ‘धोती’लाई प्रयोग गर्न शुरु गरेपछि यो शब्दको फरक व्याख्या हुँदै छ । त्यसैले यो पदावलीको प्रयोग गरेर कसैलाई धोती भन्नु भनेको विभेदकारी व्यवहार हो ।
सामाजिक सञ्जालमा पहुँच जमाउन सक्ने तपाईं–हामीजस्ता आधुनिक मान्छेले सामन्ती समाजबाट पैंचो ल्याइएको ‘धोती’ भन्ने शब्दको प्रयोग गरेर मधेसी समुदायका हामीजस्तै नेपालीहरूमाथि अपमान गर्नेलाई सरकारले पनि केही गर्न सकेको छैन । यसले साम्प्रदायिकतामा पनि असर पर्ने समस्या आउन सक्छ । त्यति मात्रै हैन, कसैलाई गाली गर्दा हामी ‘खाते’ भन्छौं भने यो सामन्तवादको अर्को उदाहरण बन्ने गर्छ ।
हामी कति अमानवीय र दानवजस्ता छौं भन्ने ‘खाते’ शब्दको प्रयोगबाट थाहा हुन्छ । ‘खाते’ भन्ने शब्दको बाहिरी अर्थ सडक बालबालिका भन्ने बुझिन्छ । ती सडक बालबालिका निर्दोष र अबोध छन् । उनीहरू आफ्नो गल्तीले सडकमा पुगेका हैनन्, उनीहरू त्यस्तो हुनुमा प्रौढ मानिसको दोष छ । समाजलाई मानवीय बनाउने हो भने हामीले त खातेलाई माया गर्न सिक्नुपर्छ तर हामी उल्टो व्यवहार गरेर त्यो शब्दलाई अपमान गरिरहेका छौं ।
अहिलेको आधुनिक र सभ्य मानिसले ‘खाते’लाई माया गर्छ । सडकमा भेट्टायो भने केही खानेकुरा दिन्छ । कतिपयले उनीहरूलाई उद्धार गर्ने संस्था नै खोलेका छन् । गरिबलाई र मैलाधैला मान्छेलाई, पैसा नभएका मान्छेलाई खाते भनेर गाली गर्ने चलन चलचित्र कलाकार, नेता र सभ्य भनिएका मानिसहरूले नै बढी प्रयोग गरेको पाइन्छ ।
त्यति मात्रै होइन, महिलालाई गाली गर्दा प्रयोग हुने अर्को शब्द व्यापक चलेको छ । महिलालाई कुनै कमेन्ट गर्नुप¥यो भने केही पाठकले यो ‘आइमाई भालु हो’ भन्ने शब्द प्रयोग गर्ने गरेको बढी पाइन्छ । यो पदावलीमार्फत कुनै महिलालाई ‘वेश्या’ भन्न खोजिएको हो । त्यो मर्द भनाउँदो पुरुषले के विचार गर्नुपर्छ भने, एकजना महिला ‘वेश्या’ हुनका लागि दुई वा दुईभन्दा बढी पुरुषहरू ‘वेश्या’ हुनै पर्छ । पुरुषविना महिला मात्रै एक्लै ‘वेश्या’ हुन सक्दिनन् । त्यसैले महिलालाई आलोचना गर्दा प्रयोग गरिने यस्तो शब्दले ती महिलालाई हैन, कमेन्ट गर्ने पुरुषको सांस्कृतिक स्तर कति दरिद्र छ भन्ने प्रस्ट हुन्छ । यो शब्द लिंगीय विभेदजन्य हो । यस्ता शब्द प्रयोग गर्नेलाई रोक्न सरकारले पनि दण्डको व्यवस्था गर्नु जरुरी छ ।
सामन्तवादी संस्कृतिले गरिब, दुब्लो, कालो र पिछडिएको मानिसलाई हेप्छ । यो पहिलेदेखि चल्दै आएको हो । यसलाई रोक्न हामी सचेत नागरिक लाग्नुपर्छ । सामन्तवादले उनीहरूलाई गाली र उपमाको विषय बनाउँछ । गरिबहरूलाई खाते भन्ने र ‘राजाको काम छाडी कामीको देवाली’ भन्नेजस्ता दलितलाई हेप्ने नियतले उखान टुक्काहरू सिर्जना गर्ने काम सामन्तवादी साहित्यले पनि गरिरहेको छ ।
अब हामी सामन्तवादबाट पुँजीवादी सभ्यतातिर उक्लन लागेका बेला यस्ता जातीय, क्षेत्रीय, लिंगीय एवं वर्गीय विभेदजन्य शब्दहरूको प्रयोगबाट पनि बाहिर निस्कनु जरुरी छ । सामाजिक सञ्जालमा आउने कमेन्टहरू हेर्दा कतिपय पाठकले नेतालाई पनि निकै अपशब्द प्रयोग गरेर गाली गरेको देखिन्छ । यो पनि एउटा घिनौनी दृष्टान्त नै हो । कमेन्ट गर्दा खाते, धोतीजस्ता शब्दहरू प्रयोग गर्ने प्रवृत्तिले नेपाली समाजलाई सही बाटोमा लग्दैन ।
– मोहन तिवारी, पर्सा ।

लसुन खानु स्वास्थ्यका लागि फाइदै फाइदा
लसुन मसला मात्रै नभएर यो भान्साको औषधि पनि हो । यसले शरीरका अनेक विकारलाई शुद्धीकरण गरेर अनेक खाले इन्फेक्सन कम गर्नसमेत सहयोग गरिरहेको हुन्छ । लसुनमा प्रोटिन हुन्छ, जसले विभिन्न स्वास्थ्य समस्यासँग जुध्ने एन्टिबडी बनाउन सहयोग गर्दछ । यसे रुघाखोकी र यहाँसम्म कि अत्यधिक गम्भीर रोग लाग्ने जोखिम पनि कम गर्ने गर्दछ । यसका साथै जो व्यक्तिको रगत गाढा हुन्छ, उनीहरुका लागि पनि लसुन निकै फाइदाजनक हुन्छ । यसले शरीरमा रक्तप्रवाहलाई सहज बनाउने काम गर्छ । यसले रगतलाई पातलो बनाउँछ, जसले तपाईंलाई सम्भावित रोगबाट बचाउने गर्दछ ।
गर्भावस्थामा लसुनको नियमित सेवनले आमा र शिशुको स्वास्थ्यमा निकै फाइदा पु¥याउँछ । यसले गर्भभित्र शिशुको तौल बढाउन पनि सहयोग गर्दछ । गर्भवती महिलालाई यदि उच्च रक्तचाप छ भने उनले ९ महिनासम्मै लसुनलाई कुनै न कुनै रुपमा सेवन गर्नै पर्छ । यसले रक्तचापलाई नियन्त्रण गरेर शिशुलाई हानि हुनबाट जोगाउँछ । यसले गर्भको शिशुको तौल बढाएर समयपूर्वको प्रसवको खतरालाई कम गर्छ ।
लसुनमा शक्तिशाली एन्टिफंगल गुण हुन्छ, जसले दाद, चिलाउने लगायतका सँग लड्ने क्षमता राख्छ । यो केन्डिया नामक इन्फेक्सनसँग पनि लड्छ । जहाँ इन्फेक्सन भएको हुन्छ, त्यहाँ लसुनको तेल लगाउनुपर्छ । काँचो लसुन नियमितरुपमा सेवन गर्नुपर्छ ।
लसुनले तपाईंको शरीरमा ब्याड कोलेस्ट्रोलको स्तर कम गर्दछ । यसकारण तपाईंको मुटु सधैँ स्वस्थ रहन्छ । यसले शरीरमा गुड कोलेस्ट्रोल बढाउन सहयोग गर्दछ । उच्च रक्तचापलाई कम गर्न पनि लसुन निकै फाइदाजनक हुन्छ । यसमा पाइने एलिसिन नामक तत्वले उच्च रक्तचापलाई सामान्य गर्न सहयोग गर्छ ।
– मिलन शाही, हेटौंडा ।

जीवन सङ्घर्ष हो
मानवजीवनमा समय, सङ्घर्ष र सम्झौता तीनवटा पाटा रहेका हुन्छन् । सङ्घर्ष भन्नाले मानिस जन्मेदेखि मृत्युपर्यन्तसम्म प्रकृतिमा गर्ने सम्पूर्ण कार्य भन्ने बुझिन्छ । यो विशाल संसारमा जसले सङ्घर्ष गर्न सक्यो उसकै कल्याण हुन सक्छ । प्राचीनकालमा डाइनोसर नामक जनावर यस पृथ्वीमा जीवित थियो तर समयअनुसार सङ्घर्ष गर्न नसकेर यो धर्तीबाटै लोप हुन पुग्यो । तर मानिस समयअनुसार सङ्र्ष गर्दै अघि–अघि बढ्दै जाँदा यो २१ औं शताब्दीकै सुन्दर प्राणीको रुपमा परिचित छ ।
मानवजीवनमा सङ्घर्ष मात्रै गरेर पुग्दैन । सम्झौता पनि उत्तिकै खाँचो रहेको पाइन्छ । सम्झौता भनेको दुई पक्षबीच भएको मध्यविन्दु सहमति भन्ने बुझिन्छ । यद्यपि समयको बहावसँगै सङ्घर्ष र सम्झौता पनि उत्तिकै महत्वपूर्ण पक्ष मानिन्छ । नेपाली समाजको परिप्रेक्ष्यमा भोलिवादले खुट्टो घुमाउँदै आएको पाइन्छ । नेपाली नागरिकले अत्यावश्यक काम पनि भोलि नै गरौंला भन्छन् तर खाना आजै भन्छन् रे !
आजको समकालीन परिवेशलाई ख्याल नगरेकै कारण नेपालीहरु पछि पर्ने गरेका छन् । पश्चिमेली देशहरुले समयानुकूल मानव संसाधनको समुचित प्रयोग गरेर आफूलाई सर्वविकसित देशको रुपमा चिनाउन सक्षम भएका छन् । त्यसैले संसारको सबैभन्दा अमूल्य चिज समयलाई सहीरुपमा सदुपयोग गरेमा त्यसको परिणाममा राम्रो फल मिल्नेछ ।
– प्रेरणा बम, नेपालगन्ज ।

प्रतिक्रिया दिनुहोस्