कोरोनाको कुण्ठा



रातो मच्छिन्द्रनाथको रथ तान्नलागेका युवा र सुरक्षाकर्मीबीच बिहीबार ललितपुरको पुल्चोकमा भएको भिडन्तले एकसाथ चार सन्देश दिएको छ– एक, कोभिड नियन्त्रणका नाममा सरकारको व्यवस्थाप्रति नागरिक सन्तुष्ट छैनन्, दुई, कोभिडका कारण निषेधाज्ञा र बन्दाबन्दीले नागरिकलाई घरमा थुनिएर बस्नुपरेकाले कुण्ठित बनाएको छ, त्यसको आक्रोश कुनै पनि बहानामा बाहिर निस्कनसक्छ, तीन, कोभिड महामारी हो भनेर विज्ञानले प्रमाणित गरेको सत्यप्रति जनचेतना पर्याप्त छैन, र चौथो, कोरोना भाइरसले नेपालमा व्यापक क्षति पु¥याउने वातावरणका लागि हामी नेपालीको व्यवहार कारक हुने गम्भीर त्रास बढेको छ ।

सामाजिक सञ्जालको माध्यमद्वारा भेला भएका युवाहरु भिड नियन्त्रणका लागि आएको दमकल देखेपछि चुतौती अनुभूत गर्दै आक्रोशित बनेको स्थलगत रिपोर्ट अध्ययन गर्दा देखिन्छ पढे–लेखेका युवा पनि सामाजिक सञ्जालबाट तत्काल प्रभावित हुने पनि यस घटनाले पुष्टि गरेको छ । त्यसपछि, दमकल र सुरक्षाकर्मीमाथि ढुंगामुढामा उत्रिएको भीडले कोरोना संक्रमणको कुनै वास्ता गरेन ।

युवाहरुले घरमा रहेका बाबुआमा र अभिभावकहरु उनीहरुप्रति चिन्तित भएका हुनसक्छन्, संक्रमित भएर घर फर्किदा परिवारलाई नै प्राणघातक असर पर्नसक्छ भन्ने कुनै कुरामा ख्याल नगरी भिडभाडमा सरिक भएर बन्दाबन्दीको कुण्ठाले पारेको असर कति जबरजस्त हुँदोरहेछ भन्ने प्रमाणित गरे । प्रहरीले पानीको फोहोरा छोड्दा वृद्ध नागरिकमाथि पनि परेका कारण युवा बढी आक्रोशित भउ । भीड जतिखेर विनाकारण ट्राफिक प्रहरीमाथि खनियो, त्यसले पैतालीस–छयालीस सालको जनआन्दोलनको स्मरण गरायो ।

त्यतिखेर सुरक्षाकर्मीमाथि आन्दोलनकारी आक्रामक बनेर हतियारविहीन प्रहरीलाई कुटीकुटी मारेका थिए । तर, त्यतिखेर सुरक्षाकर्मीलाई सामन्ती राजतन्त्रका संरक्षक र अधिनायकवादी पञ्चायती व्यवस्थाका पृष्ठपोषक मानेर त्यस प्रकारको अमानवीय र अराजक व्यवहारलाई पनि केही हदसम्म स्वाभाविकै ठानियो, तर पुल्चोकमा त्यस्तो कुनै अवस्था थिएन । अहिले नेकपाको तर्फबाट बनेको सरकारले जनविश्वास जित्न सकेन भने अढाई वर्षपछि अर्को पार्टीलाई सरकारमा ल्याउन सकिन्छ ।

जनता सरकारले कोरोनालाई मात्र ध्यान देओस् भनिरहेका बेला नेकपा जनताबाट पराजित नेता वामदेव गौतमलाई राष्ट्रियसभामा लाने निर्णय गर्दछ । तरपनि सरकार अधिनायकवादी हुनसक्ने अवस्था छैन । नेपालको संविधान, २०७२ ले कसैलाई अधिनायकवादी बन्ने छुट दिएको छैन । पछिल्लो समय प्रहरीहरु ‘नमस्कार सहितको सेवा’ को उचाइसम्म पुगिसकेका छन् । उनीहरुको व्यवहार नागरिक–मैत्री भएको छ, तरपनि यो आक्रमण किन ?

श्रद्धेय संस्कृतिविद् सत्यमोहन जोशीले भन्नुभएको छ, दशैं–तिहारलगायत यस्ता चाडबाड यस पटक नमनाएर केही हुन्न, अर्को वर्ष मनाउन सकिन्छ, तर जीवन नै नरहे, जनशक्ति नै नभए यो व्यवस्था, यो लोकतन्त्र, यो विकास केका लागि ? बाँचे संस्कृति र परम्परा अघि बढाउन सकिन्छ, कोरोना लागेर मरे सबै सकिन्छ ।

काठमाडौंले सुझाव मान्दै इन्दजात्रा गरेन । तर ललितपुरका केही युवाले यो सुझाव मानेनन् । रथ तान्ने समितिलाई नै जानकारी नदिईकन एकाएक युवाको भीड रथ तान्न आयो । ज्यापु समाज, गुठी समाज, ललितपुर महानगरपालिका र अन्य केही संस्थानको एउटा कमिटी छ । कसैलाई जानकारी नै नदिई रथ तान्नु सबैको अपमान थियो । पूजापाठविना रथ तान्ने गरिन्न ।

डीएसपी सन्तोष तामाङलाई दुई मिटर मात्र रथ तान्ने अनुरोध गरेका युवाले एक सय ५० मिटर तानिदिए । अब पुग्यो भनेर प्रहरीले रोक्दा युवा प्रतिरोध उत्रिए, जब परम्पराविरुद्ध काम भयो, प्रहरीले बल प्रयोग ग¥यो, सोसल मिडियामा लाइभ प्रसारण गरेर युवाले साथीहरुको भीड बढाए । झडप भयो, धन्न ठूलो क्षति भएन । विश्वास गरौं, आगामी दिनमा यस्तो आक्रोश व्यक्त गर्नु नपर्ने वातावरण बनाउन सरकार गम्भीर हुनेछ ।

प्रतिक्रिया दिनुहोस्