बागमती प्रदेशका ५ अस्पताल प्रदेशस्तर अस्पतालमा स्तरोन्नति हुँदै



न्युज अफ नेपाल, हेटौंडा।

बागमती प्रदेशले प्रदेशका अस्पताललाई प्रदेशस्तरको अस्पतालका रुपमा स्तरोन्नति गर्ने भएको छ ।

प्रदेश सरकारको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सम्बन्धित स्थानीय तहबाट सिफारिस भएका ५ अस्पतालको स्तरोन्नति गर्ने निर्णय गरेको हो । प्रदेशमातहतका अस्पताललाई भने स्वास्थ्य सामग्री, उपकरण तथा भवन निर्माणका लागि १७ करोड निकासा गर्ने निर्णय गरिएको छ ।

प्रदेशले दोलखाको चरिकोट अस्पताल, काभ्रेपलाञ्चोकको मेथिनकोट अस्पताल, ललितपुरको बज्रबाराही चापागाउँ अस्पताल, चितवनको बकुलर रत्ननगर अस्पताल र काठमाडांै टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रदेशमातहत अस्पतालका रुपमा स्तरोन्नति गर्ने निर्णय गरेको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले जानकारी दिनुभयो ।

हाल बागमती प्रदेशका १३ जिल्लामध्ये ८ जिल्लामा मात्र प्रदेशमातहत रहेका अस्पताल सञ्चालनमा छन् । प्रदेशभित्रका सबै जिल्लामा प्रदेश अस्पताल स्थापना गरी कोभिड–१९ लगायत संक्रामक रोग तथा अन्य रोगको सहजतापूर्वक उपचार गर्न आबश्यक देखिएको उहाँले बताउनुभयो ।

प्रादेशिक अस्पताल नभएका जिल्लामा स्थानीय तहको सहमतिमा स्थानीय स्वास्थ्य संस्थालाई स्तरोन्नति गरी प्रदेश अस्पतालका रुपमा विकास गरिने सरकारले बजेटमा उल्लेख गरेको थियो ।

कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि प्रत्यक्ष निर्वाचित सांसदको नेतृत्वमा समानुपातिक सांसद र स्थानीय तहका प्रमुख/उपप्रमुख रहने गरी अनुगमन, सहजीकरण र समन्वय गर्ने जिम्मेवारी दिने निर्णय गरिएको मन्त्री ढुंगेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्