कोरोनाको कहाली लाग्दो तनाव



टंक पन्त

विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ कोरोना महामारीले नेपाललाई पनि अस्तव्यस्त बनाएको छ । आर्थिक परिसूचकहरु कहाली लाग्दो भैरहेको छ । केही सीमितबाहेक आमनागरिकका दैनिकीहरुमा समेत गम्भीर प्रभाव पारेको छ । सरकारले शायद दुई महिनाभन्दा बढी यस्तो संकट सामना गर्नुपर्ला भन्ने सोचेको थिएन तर आज नेपालमा ६ महिना कटिसकेको छ । विश्वमा हेर्दा ८ महिना कटिसकेको छ । जति बेला समाचार बनाउन बस्यो वा समाचार सुन्यो वा समाचारको बारेमा अपडेप लिन खोज्यो त्यति बेला सक्रमितको संख्या बढेको बढ्यै छ । मृत्यु हुनेको संख्या पनि बढिरहेको छ ।

विश्वव्यापी भयावह भएको र नेपालका लागि एउटा राष्ट्रिय समस्या बनेको कोरोना महामारीले पछिल्लो समय बढी त्रसित बनाएको छ । प्रत्येक दिन कोरोना महामारीको समाचार बनाउँदा वाक्कदिक्क लाग्ने अवस्था भएको छ तर पनि बाध्यता नै बनेको छ । सञ्चारकर्मीका लागि जस्तोसुकै संकट आइपरे पनि झन् खट्नुपर्ने स्थिति छ ।

चिकित्सकहरुका अनुसार जबसम्म यसको भ्याक्सिन आउँदैन तबसम्म नेपालमा पनि यसको रोकथाम असम्भव छ । नेपालमा भ्याक्सिन आइपुग्न अझै ६ महिना लाग्न सक्छ । यसर्थ हाम्रा बानी–व्यहोरामा आमूल सुधार गरी आफू र अरुलाई पनि जोगाउने काम गर्नुपर्छ । सबैको समस्या बनेर आएकोले सबै मिलेरै कोरोना लाग्न नदिने वातावरण बनाउनुपर्छ ।

तर के गर्ने, कसलाई के भयो, कति संक्रमित भए र उनीहरुको अवस्था कस्तो छ भन्ने समाचार बनाउँदै गर्दा कैयौं सञ्चारकर्मीलाई आफ्नै समाचार बनाउनुपर्ने अवस्था पनि आएको छ । त्यसले त्यो परिवारमा हुने गरेको पीडा कहाली लाग्दो भएको देखिएको छ ।

गतहप्ताको कुरा हो । काठमाडौं उपत्यकालगायत धेरै जिल्लामा निषेधाज्ञा जारी भएकै अवस्था थियो । मेरी छोरी पछिल्लो समय अर्थात् डेढ महिनाअगाडि केही दिनका लागि भनेर मेरो मावली भतिज बाबु कृष्ण कँडेलसँग गएकी थिइन् । तर काठमाडौं आउन मेसो मिलेको थिएन । उच्च अधिकारी, पहुँच हुनेहरु, उनीहरुका परिवार र आफन्त आउनका लागि कुनै गाह्रो थिएन तर विधि प्रक्रियाअनुसार चल्नुपर्छ भन्नेहरुका लागि सम्भव थिएन । अहिले पनि सम्भव छैन ।

‘एक्कासि आफ्नो मामुको ठूलो मामुलाई उपचार गराउन काठमाडौंमा ल्याउने खबर पाएपछि त्यही एम्बुलेन्समा आउने भए आऊ, तर त्यहाँ पापा, मामु, पिकु मामुसँग सल्लाह गरेर आफैं डिसिजन गर है’ –मैले भनें । सल्लाह भएर ठूलो मामुलाई ल्याउने एम्बुलेन्समा छोरी पनि काठमाडौं आइन् तर काठमाडौं आएको भोलिपल्ट बिरामी ठूलो मामुलाई कोरोना संक्रमण भएको रिपोर्ट आयो ।

त्यसपछि मेरो त होसहवास नै उड्यो । काठमाडौं ल्याउनासाथ उहाँलाई ह्याम्स अस्पतालमा लगिएको थियो । मेरी श्रीमती मीना शर्मा र म भेट्न गएका थियौं । त्यहँबाट थाहा भयो कि बुटवलमा स्वाब टेस्ट गर्न दिएको रिपोर्ट पोजेटिभ आएछ । रिपोर्ट पोजेटिभ आएपछि ह्याम्सबाट शिक्षण अस्पताल लगेको कुरा पनि त्यहाँ पुगेपछि नै थाहा भयो ।

त्यो खबर थाहा भएपछि अन्य रोगसँग संघर्ष गरिरहनुभएकी उहाँलाई झलझली सम्झिएँ । उहाँको कसरी आत्मबल बढाउने होला ? कसरी उहाँलाई भन्ने होला ? संक्रमित बिरामीलाई अस्पतालमा राखेपछि परिवारले भेट्न गाह्रो हुने भएकोले उहाँले कोही पनि भेट्न नजाँदा के भन्नुहुने होला भन्ने सम्झिएँ ।

७५ वर्ष कटेकी बिरामीका बारेमा अनेक सोच्दै थिएँ अनि पो म झस्याङ्ग भएँ । साँच्चै मेरो छोरी पनि त उहाँलाई उपचारका लागि बुटवलबाट काठमाडौं ल्याएकै एम्बुलेन्समा आएकी थिइन् नि । छोरीलाई पनि सरेको होला कि के होला ? अनेक प्रश्न उब्जिए । भर्खर ब्याचलर पढ्दै गरेकी छोरीलाई सरेको भए पनि उनले त्यसलाई सहजै जित्न सक्छिन् भन्ने लाग्यो । तुरुन्तै आफ्नो साधनमा श्रीमतीका साथ शिक्षण अस्पतालतर्फ लागें । म निकै अत्तालिएँछु । ह्याम्स अस्पतालबाट शिक्षण अस्पताल जान हिँडेको त कता–कता हुँदै बुढानीलकण्ठतिर पो लागेंछु । एकैचोटि गोल्फुटारभन्दा माथि पुगेपछि थाहा भयो कि उल्टोतर्फ पो गइएछ । हैट् ! आफैंले आफैंलाई अप्ठ्यारो महसुस गरें ।

यता बिरामीलाई शिक्षण अस्पतालको गणेशमान भवनअगाडि बेन्चमा राखिएको थियो । त्यहाँ बेड छैन भनियो । झन्डै ४ घण्टासम्म अन्यत्र बेड खोज्न समय लाग्यो । त्यो पनि विनाभनसुन अर्को अस्पताल लैजान सकिएन । पाटन अस्पतालमा भर्नाका लागि निकै मेहनत गरेपछि सोही अस्पतालको एम्बुलेन्स आएर लग्यो । कस्तो विडम्बना ! बस्न पनि नसक्ने अवस्थामा रहेकी ७५ वर्ष कटेकी बिरामीलाई अन्य रोगको उपचारका लागि गुल्मी बाख्रेबाट बुटवल हुँदै काठमाडौं ल्याइएको थियो ।

जसलाई बुटवल अस्पतालले दुई हप्ता उपचार गरेर काठमाडौं रिफर गरेको थियो । त्यस्तो अवस्थाको बिरामी, त्यो पनि कोरोना संक्रमण देखिएको अवस्था भए पनि अस्पतालमा भर्ना गर्न सोर्सफोर्स लगाउनुपर्ने, कस्तो हाम्रो मुलुकको विडम्बना ! यदि भर्ना गर्न नसकेको भए न कसैको घरमा लैजान सकिन्थ्यो, न उपचार नै ? के हुने थियो होला हालत ? अनुमान पनि गर्न सकिन्न । कोरोना संक्रमितलाई सरकारी अस्पतालमा भर्ना गर्न यति गाह्रो छ भनेपछि अन्य बिरामीको हालत के होला ? भनसुन नहुनेका लागि शिक्षण अस्पतालजस्ता ठाउँमा बेड पाउन गाह्रो छ ।

कोरोना संक्रमितहरुको लागि उपचारमा ठूलो धनराशी खर्च भैरहेको छ । चिकित्सकले पनि दह्रै सुविधा पाएका छन् तर शिक्षण अस्पताललगायतका बिरामीले त्यहाँ दिएको खाना खानै नसक्ने हुन्छ भन्छन् । एकजना बिरामी भन्दै थिए, ‘एकजनाका लागि राज्यले ५ देखि ७ लाखसम्म खर्च देखाउने गरेको छ । सरकारको खर्च पनि भएको छ तर बीचका दलालीहरुले कोरोनालाई कमाउने धन्दा बनाएका छन् ।’ कोरोनाका नाममा बेथिति र अराजकता निकै बढेको यसबाट पनि प्रस्ट हुन्छ । ६० प्रतिशत कर्मचारीले काम नगरे पनि जागिर खाएकै छन्, निजी क्षेत्रका लाखौं व्यक्ति बेरोजगार भएका छन् ।

खान नपाएर मागेर खानुपर्ने अवस्था सिर्जना भएको छ । अन्य निजी क्षेत्र जो मध्यम वर्गका छन्, उनीहरुको हालत पनि बिजोग छ । तर ठूला व्यापारीका लागि कोरोना कमाउ धन्दा भएको छ । औषधि होस् वा मास्कका नाममा होस्, उनीहरुले गरेको मनपरिले सीमा नाघेको छ । तर पनि राज्य नाजबाफजस्तो देखिन्छ । मानौं कि राज्यका संयन्त्रले थाहा नपाएजस्तो गरेका छन् । उदाहरणका लागि शिक्षण अस्पतालमा दिइने खानाका लागि जति खर्च भएको छ, त्यसअनुसार भएन भनेर बाहिर आइरहेको छ । तर त्यहाँका दलालहरुले त्यो सुनेका छैनन् भने जिम्मेवार पदाधिकारीले पनि थाहै नपाएजस्तो गरी चुप लागिरहेका छन् ।

निकै अप्ठ्यारो भएर उपचारार्थ गुल्मी, बुटवल हुँदै बिरामीलाई काठमाडौं ल्याइएपछि कोरोना संक्रमण देखियो तर अस्पताल भर्ना गराउन यति धेरै पापड पेल्नुप¥यो कि त्यसको कुनै सीमा छैन । शिक्षण अस्पतालमा ठाउँ छैन भनेपछि पाटन अस्पताल पु¥याउनका लागि चार घण्टा बढी समय लाग्यो । त्यस्तो बेला बिरामीका लागि चार वर्षभन्दा बढी हो । कहीँ भन्ने ठाउँ र पहुँच नभएका व्यक्तिले के गर्ने ?

नेपालमा बहुदल आयो, लोकतन्त्र आयो, गणतन्त्र आयो तर काम गर्ने शैली र व्यवहारमा एकरत्ति पनि परिवर्तन नभएको यस्तै घटनाले पुष्टि गर्दछ । भनसुन नगरी काम काम हुने अवस्था जबसम्म नेपालमा आउँदैन तबसम्म देखावटी परिवर्तन केही व्यक्तिहरुका लागि मात्र हुनेछ ।

०७६ चैत्र ११ देखि देशव्यापीरुपमा लकडाउनको घोषणा गरियो । शुरु–शुरुमा सम्पूर्ण पसल, कलकारखाना, व्यापार व्यवसाय मात्र होइन, प्रशासनिक काम पनि ठप्प नै रह्यो । आन्तरिक र अन्तर्राष्ट्रिय उडानहरु पनि बन्द भए । तर २०७७ को जेठदेखि केही कलकारखाना सुरक्षित ढंगले चलाउन दिइयो, केही रुपमा बजार पनि खुला गर्न आदेश दिइयो । सरकारी कार्यालयहरु पनि सुचारु हुन थाले । साउन ६ गतेसम्म लामो दूरीका सवारीसाधन र हवाई उडानलाई भने अनुमति दिइएको थिएन ।

उपत्यका प्रवेश गर्नेहरु र उपत्यकाबाट बाहिर जानेहरु प्रशासनको अनुमति लिएर आउने–जाने गर्थे । तर ६ गतेपछि लकडाउन खुकुलो बनाई लामो दूरीका सवारीसाधन, हवाई उडान, स्कुल, कलेज, मठमन्दिर, पार्टी प्यालेसलगायत अन्य भीडभाड हुने ठाउँबाहेक सामाजिक दूरी कायम गरेर अन्य छोटो दूरीका सवारी सवारीसाधन, कलकारखाना, बजार खोल्न अनुमति दिइएको थियो । त्यसले पनि देशलाई सजिलो बनाएन, अप्ठ्यारो बनायो ।

धेरै ठाउँमा त्यसको उल्लंघन गरेका कारण एक महिना नहुँदै कोरोना महामारीबाट संक्रमित हुनेहरुको संख्या ह्वात्तै बढ्न थाल्यो । नागरिक समाजका अगुवा एवं वरिष्ठ चिकित्सक डा. सुन्दरमणि दीक्षितलगायतका चिकित्कहरुले तत्काल लकडाउन नगरे देशमा भयावह स्थिति आउने र त्यो थेग्नै नसकिने खालको हुने चेतावनी दिन थाले । तर सरकारले आर्थिकरुपमा देश टाट पल्टने स्थितिबाट जोगाउन सकेसम्म लकडाउन नगरी सुरक्षाका विधिहरु अपनाएर अगाडि बढ्ने सोचाइ बनायो । त्यो सम्भव नभएपछि भदौ ३ गते रातिबाट पुनः लकडाउन प्रारम्भ भएको घोषणा गरियो । यसलाई सरकारले लकडाउन नभनेर निषेधाज्ञा भनेको छ ।

मुलुकको स्थिति झन् भयावह भैरहेको छ । पछिल्लो समय आमनागरिक निकै त्रसित भएका छन् तर सरकार अझै जिम्मेवार भएको देखिएको छैन । सिंगो मुलुक कोरोनासँग एक भएर लड्नुपर्ने अवस्था छ, त्यो पनि भएको देखिँदैन । गर्नेले निकै मेहनत गरेको छ भने जिम्मेवारी निर्वाह नगर्नेहरुलाई नगर्दा पनि चलेकै छ । तिनीहरुले राज्यको सुविधा लिइरहे पनि कुनै कारबाही गर्ने गरिएको छैन । यसले गर्दा मरिमेटेर काम गर्नेहरु हतोत्साहित भएका छन् । नेपालमा संक्रमितहरुको संख्या ४० हजार नाघेको छ भने करिब २ सय ५० जनाले ज्यान गुमाइसकेका छन् । संक्रमतिमध्ये २१ हजार बढी निको भएर घर फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्